८ वैशाख २०८१ शनिबार
अर्थ

एक दिन पनि टिकेन अलैंची मूल्य

ताप्लेजुङ– लगातार चार महिना ओरालो लागेको मूल्यमा चैत दोस्रो साताको अन्तिम दिन देखिएको केही सुधार एक दिनभन्दा बढी नटिकेपछि अलैंची किसान तथा व्यवसायीमा पलाएको झिनो आशा फेरि मरेको छ।

पूर्वी पहाडी जिल्लामा बिहीबार २३ हजार प्रतिमन (४० किलोग्राम)को दरले अलैंची कारोबार भयो। मुख्य कारोबारस्थल झापाको बिर्तामोडमा २४ हजार पाँच सयदेखि २५ हजार प्रतिमनसम्ममा कारोबार भएको अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए। चैत दोस्रो साताको अन्तिम दुई दिन मंगलबार र बुधबार झापामा २७ हजार प्रतिमनसम्ममा अलैंची कारोबार भएको थियो। चैत दोस्रो साता सुरु हुँदासम्म मूल्य झरेर २१ हजार प्रतिमनमा आएकोमा सोही साताको अन्तिम दिनसम्ममा प्रतिमन पाँचदेखि ६ हजार रुपैयाँ मूल्य वृद्धिले किसान तथा व्यवसायीमा झिनो आस पलाएको थियो। अलैंची जोन  ताप्लेजुङका अध्यक्ष दिनेश अधिकारी मूल्यवृद्धिले देखाएको आशा एकै दिनभन्दा नटिकेपछि किसान तथा व्यवसायीमा निराशा छाएको बताउँछन्।

लामो समय उकालो लाग्न नसकेको मूल्य केही बढेपछि सकारात्मक परिवर्तन होला भन्ने आसमा रहेका किसान र व्यवसायीमा मूल्यमा आएको गिरावटले तनाव थपेको उनले जानकारी दिए। ‘मूल्य गिरावटको खडेरी तोड्ला भनेको त फेरि निराश बनाइदियो,’ अधिकारीले भने। उनका अनुसार मूल्य बडेपछि ठप्प रहेको किनबेच सुरु भए पनि भोलिपल्टैबाट फेरि कारोबार ठप्प छ। अलैंची व्यवसायी संघका जिल्ला अध्यक्ष बालमणि बरालका अनुसार एक दिन झिनो आस देखाएर मूल्य पहिलेकै अवस्थातिर फर्कियो।

उनले लामो समय निरन्तर ओरालो लागेको मूल्यमा सुधार आउनेबित्तिकै बजारमा देखिन थालेको चहलपहल एक दिनमै टुंगिएको भन्दै यस वर्ष किसान तथा व्यवसायीका लागि अलैंची क्षेत्र सन्तोषजनक नभएको प्रतिक्रिया दिए। अलैंची व्यवसायी खड्गबहादुर मोक्तानले मूल्य बढ्ने आसमा अधिकांश किसान र व्यवसायीले गोदाम गरेर राखेको अलैंची कारोबारले गति लिने अपेक्षामा एकै दिनमा तुषारापात भएको बताए।

किन घटबट हुन्छ अलैंची मूल्य?
जानकारका अनुसार अलैंचीको मूल्य नेपाल आफैंले निर्धारण गर्दैन। यसको प्रमुख बजार तेस्रो मुलुक हो। मूल्य पनि उनीहरुमै निर्भर गर्छ। अलैंची उत्पादनमा नेपाल विश्वकै अब्बल रहे पनि बिक्रीका लागि भारतीय व्यवसायीको भर पर्नुपर्ने अवस्था छ।

अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष भट्टराईका अनुसार भारतीय बजारमा हुने माग र आपूर्तिका आधारमा यसको मूल्य निर्धारण हुने भएकोले घटबढ भइरहन्छ। अस्थिर मूल्यको मुख्य कारण पनि बजार माग रहेको उनको बुझाइ छ। अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरेका अनुसार नेपाली अलैंचीले गुणस्तरीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा मात्र व्यवसायीले इच्छा अनुसारको मूल्य लगाउन सक्छन्।

अहिले भारतका धेरै स्थानमा अलैंचीको व्यावसायिक उत्पादन सुरु भएकोले नेपाली अलैंचीले आसलाग्दो मूल्य पाउन गुणस्तरमा जोड दिनुपर्ने घिमिरेले बताए। उनले नेपाल सरकारले सर्मथन मूल्य निर्धारण गर्ने र तेस्रो बजारमा उचित मूल्य पाउने वातावरण बनाउन सक्नुपर्ने बताए। भारतीय बजारमा रहेको निर्वाचनउन्मुख राजनीतिले समेत पछिल्लो समय मूल्य उतारचढावमा भूमिका खेलेको आशंका गर्नेहरु पनि छन्।
 
 

प्रकाशित: २४ चैत्र २०७५ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App