coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकपको ढोका उघारेर फर्कने लक्ष्य

मलेसियातर्फ प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली टाेली । तस्बिरः नागरिक

काठमाडौं– दक्षिण अफ्रिकामा सन् २०२० मा आयोजना हुने एकदिवसीय यु–१९ विश्वकप क्रिकेट खेल्ने उद्देश्य राखेर नेपाली युवा टोली शनिबार मलेसिया प्रस्थान गरेको छ।

आगामी चैत २७ देखि आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा भाग लिन १४ सदस्यीय नेपाली युवा टोली मलेसिया प्रस्थान गरेको हो। यु–१९ विश्वकप क्रिकेट खेलेको नेपाली टोलीको नेतृत्व राष्ट्रिय टोलीमा स्थान बनाइसकेका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले गर्दै छन्। १५ दिने भारत भ्रमणमा गरेको १८ सदस्यीय नेपाली टोलीमध्येबाट ४ खेलाडीलाई वैकल्पिकमा राखेर उत्कृष्ट १४ खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिइएको हो। यसअघि आसिफ शेखले नेतृत्व गरेको टोलीलाई रोहितले सम्हाल्न लागेका हुन्।

शनिबार मलेसिया प्रस्थान गर्नुअघि आयोजना गरिएको बिदाइ कार्यक्रममा नेपाली युवा टोलीका कप्तान रोहितकुमार पौडेलले नेपालले यु–१९ विश्वकप खेल्नेमा आफू विश्वस्त भएको प्रतिक्रिया दिए।

‘केही अनुभवी र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूको संयोजन अहिलेको युवा टोलीमा छ,’ नेपाली टोलीका कप्तान रोहितले भने, ‘सबैले उत्कृष्ट खेल प्रदर्शन गर्न सक्छन्। अहिलेको टोलीमा कुनै पनि खेलाडीको भरमा खेल्नुपर्ने छैन। व्यक्तिगत रूपमा सबै खेलाडी उत्तिकै राम्रो खेल्छन्।’

‘१५ दिने भारत भ्रमणमा क्रममा हामीले भारतका क्रिकेट विज्ञबाट राम्रो प्रशिक्षण लिने मौका पाएका छौं,’ कप्तान रोहितले थपे, ‘त्यसैले पनि राम्रो गर्छौं भन्ने विश्वास हामीलाई लागेको छ। टोली सन्तुलित छ, अवश्य पनि विश्वकप खेल्ने ढोका उघारेर स्वदेश फर्किन्छौं।’

खेलजीवनमा उमेरसमूहबाट विश्वकप खेलिसकेका तथा हाल नेपाली युवा टोलीलाई सम्हालिरहेका प्रशिक्षक विनोद दासले सन्तुलित टोलीको संयोजन भएकाले आउँदो संस्करणको विश्वकपमा नेपाली टोली योग्य भएर स्वदेश फर्किने बताए।

‘१५ दिने भारत भ्रमणले हाम्रो प्रशिक्षण फलदायी बनाएको छ। त्यसैले प्रतियोगिताका लागि हामी पूर्ण रूपमा तयार छौं,’ प्रशिक्षक विनोद दासले भने, ‘हामीसँग प्रतिस्पर्धा गर्ने देशहरूका खेलाडी कस्ता छन्, त्यो अहिले भन्न सकिँदैन, अन्य देशभन्दा हामी उत्कृष्ट नै हुनेछौं।’

‘हामीले आन्ध्रमा सबै पक्षमा राम्रो प्रशिक्षण पाएका छौं,’ प्रशिक्षक दासले थपे, ‘फिजिकल फिटनेस, बलिङ कोचदेखि भारतको पहिलो श्रेणीलाई हेरेका कन्सल्टेन्टले हाम्रो टोलीलाई प्रशिक्षण दिए। अभ्यास खेलमा टोलीले राम्रो स्कोर गर्दै उत्कृष्ट भएको संकेत देखाएको छ। त्यसैले प्रशिक्षण फलदायी भयो। हामीमा विश्वास जागेको  ।’

आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुरले छनोट प्रतियोगितामा सहभागिता जनाउँदै छन्। नेपालले मलेसियामा तीनदिने प्रशिक्षण सकेर मात्र सिंगापुरसँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्नेछ। चैत २९ गते हुने पहिलो खेलपछि दोस्रो खेल चैत ३० गते बलियो प्रतिद्वन्द्वी मानिएको संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेल मलेसियासँग वैशाख २ गते खेल्दै छ भने चौथो खेल ओमानसँग वैशाख ३ गते र अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।

६ टोली सम्मिलित छनोट प्रतियोगिताको शीर्ष एक टोली आउँदो वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने महाकुम्भ मेलामा सहभागिता जनाउन पाउनेछ। जहाँ नेपालको लक्ष्य पाँच टोलीलाई पछि पारेर छनोट हुनेछ।

अहिलेसम्म ७ पटक यु–१९ विश्वकपमा सहभागिता जनाएको नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा आयोजना भएको संस्करणमा सहभागिता जनाएको थियो भने गत वर्ष न्युजिल्यान्डमा सम्पन्न विश्वकप संस्करणमा छनोट हुन असफल भएको थियो।

आउँदो वर्ष दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। विश्वकपमा आयरल्यान्डबाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिका महादेशबाट नाइजेरिया छनोट भइसकेको छ भने अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १/१ टोली छनोट हुनेछन्।

प्रतियोगितामा सहभागिता जनाउन मलेसिया प्रस्थान गरेको युवा टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका थिए।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), मोहमद आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रीत गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतीश जिसी र सूर्य तामाङ
वैकल्पिक खेलाडी– लोकेश बम, शेर मल्ल, आकाश चन्द, रविकुमार साह
अफिसियल्स– विनोद दास (प्रशिक्षक), रमन शिवाकोटी (व्यवस्थापक), विक्रम न्यौपाने (फिजियो)
खेलतालिका
नेपालविरुद्ध    मिति
सिंगापुर     चैत २९
युएई          चैत ३०
मलेसिया    वैशाख २
ओमान       वैशाख ३
कुवेत         वैशाख ५

प्रकाशित: २४ चैत्र २०७५ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App