coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

३ सय बढी विद्यार्थीको भविष्य अन्यौल

काठमाडाैँ - पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको नियम मिच्दै आफूखुसी भर्ना गरेको तीन सय ९१ पिडित विद्यार्थीको समस्या विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सम्बोधन हुने आसा तुहिएको छ।

गत साता पोखरामा सम्पन्न विश्वविद्यायको १६ औं दीक्षान्त समारोहमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित विद्यार्थीको समस्या सम्बोधन गर्ने आसा थियो तर कार्यक्रममै कुलपति अनुपस्थित भएपछि पीडित विद्यार्थीको आसा निरासामा बद्लिएको छ। विश्वविद्यालयको प्राज्ञिक परिषद्ले व्यवस्थापन संकायको सबै कार्यक्रममा स्नातक तहको भर्नामा कक्षा ११ र १२ मा छुट्टाछुट्टै न्यूनतम ‘सि ग्रेड’ ल्याउने विद्यार्थीलाई मात्र भर्ना लिनु भन्ने निर्देशन दिए पनि सम्बन्धनप्राप्त ४२ निजी कलेजले ‘डि प्लस’ ग्रेडका ३९१ विद्यार्थीलाई भर्ना गरी पठनपाठन गराएका थिए। तर सो भर्नालाई विश्वविद्यालयले नियम विपरीत भन्दै विद्यार्थीको रजिस्ट्रेसन फारम अस्वीकृत गरिदियो। ती विद्यार्थीहरु विश्वविद्यालयले सञ्चालन गर्ने पहिलो सेमेस्टरको परीक्षाबाट वञ्चित बनेका छन्।

विश्वविद्यालयको नियमअनुसार प्राज्ञिक परिषद्ले तोकेको मापदण्डमै केन्द्रीय र आंगिक कलेजहरुले विद्यार्थीलाई छात्रावृत्ति समेत दिएर भर्ना गरी पठनपाठन सुरु गरिसकेको अवस्थामा निजी कलेजहरुका लागि मात्र नियम सच्याउन मिल्ने अवस्था छैन। यसकारण विश्वविद्यालयका कुलपतिले नै सभा बोलाएर निर्देशन दिए मात्र समस्या समाधान हुन सक्छ। त्यही भएर निजी कलेज सञ्चालक, विश्वविद्यालय पदाधिकारी र विद्यार्थी सबैले कुलपति दीक्षान्त समारोहमा आए समस्या समाधान हुने आसा लिएका थिए। ‘कुलपतिज्यू नै दीक्षान्त समारोहमा आउनु भएन,’ ती पदाधिकारीले नागरिकसँग भने, ‘अब ती ३९१ डि प्लसका विद्यार्थीको समस्या समाधान हुन मुस्किल देखिएको छ।’ गत बुधबार सम्पन्न भएको दीक्षान्त समारोहरमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली अनुपस्थित भए पनि सभामा सहभागिता जनाउन विश्वविद्यालयका सह–कुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल पुगेका थिए। मन्त्री पोखरेल पोखरा पुग्दा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले कालो झण्डा देखाएर विरोध पनि जनाए।

उनीहरुले विश्वविद्यालयको नियम खुलेआम मिचेर महंगो शुल्कमा नियमविपरीत विद्यार्थी भर्ना गरेर चार सय विद्यार्थीको भविष्य चौपट पारेकोमा निजी कलेजलाई कारबाहीको माग गर्दै सह–कुलपतिलाई कालो झण्डा देखाएको नेवि संघका पोखरा विश्वविद्यालय समन्वय समिति केन्द्रीय सचिव विकास रानाभाटले बताए। विद्यार्थीहरु विरोधमा उत्रेपछि केहीबेर दीक्षान्त समारोह सञ्चालनमै पनि अवरोध भएको थियो। ‘शिक्षामन्त्री विश्वविद्यालयका सह–कुलपति हुनुहुन्छ। निजी कलेजहरुले खलेआम विश्वविद्यालयको नियम मिचेर विद्यार्थी भर्ना गरी पीडित बनाएका छन्,’ सचिव रानाभाटले पोखरा लेखनाथ नगरपालिका इकाला प्रहरी चौकीबाटै भने, ‘शिक्षा मन्त्रालयले यस्ता कलेज सञ्चालकलाई किन संरक्षण गरिरहेका छ ? कराबाही किन भएन ?’ उनले थपे, ‘हाम्रो बोर्ड परीक्षा विभिन्न काण्डले तीन पटक सरिसक्यो। समेस्टर प्रणाली पनि वार्षिकजस्तै हुने भयो।’ उनले पहिलो पटक मिति तोकिएको परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट नै ह्याक भएर, दोस्रो मितीको परीक्षा स्ववीयू चुनावमा विवादका कारण र हाल तेस्रो पटकको परीक्षा डी प्लसका विद्यार्थी निजी कलेजको भर्ना काण्डले स्थगित भएको रानाभाटले बताए।

‘विश्वविद्यालयका पदाधिकारीहरु र निजी कलेज सञ्चालकहरुले प्रधानमन्त्रीज्यूले पीडित ३९१ विद्यार्थीको समस्या समाधान गर्ने तयारी गर्दै हुनुहुन्छ। ‘तपाईंहरु चिन्ता नगर्नूस् भन्नुभएको थियो,’ नेवि संघ पोखरा विश्वविद्यालय संयोजक नवराज त्रिपाठीले नागरिकसँग भने, ‘तर बुधबार प्रधानमन्त्रीज्यू नै समारोहमा आउनु भएन।’ उनले थपे, ‘अब हामी विश्वविद्यालयका पदाधिकारी र निजी कलेजलाई कारबाहीको माग गर्दै कडा आन्दोलनमा उत्रने छौं।’ उनले विश्वविद्यालयका पदाधिकारी, शिक्षा मन्त्रालयसमेतले निजी कलेज सञ्चालकलाई खुलेआम नियमविपरीत काम गर्दा किन कारबाही नगरेको भन्दै आक्रोष व्यक्त गरे।

विश्वविद्यालयका रजिस्ट्रार गोविन्द शर्माले दीक्षान्त समारोहमा विश्वविद्यालय सभाले पास गरेको ग्रेसलिस्टको आधारमा विद्यार्थीलाई मात्र दीक्षित गरेको बताए। उनले निजी कलेजले मनोमानी तरिकाले भर्ना गरेका डि प्लस ग्रेडका विद्यार्थीको समस्या विश्वविद्यालयले समाधान गर्न नसक्ने बताउँदै कुलपतिले नै समाधानको बाटो खोल्ने एक मात्र विकल्प रहेको जनाए।            

प्रकाशित: २४ चैत्र २०७५ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App