८ वैशाख २०८१ शनिबार
खेल

फेरि लिभरपुलभन्दा सिटी पछाडि

लन्डन– लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफूले स्ट्राइकर मोहम्मद सलाहको क्षमतामा कहिले पनि शंका नगरेको प्रतिक्रिया दिएका छन्।
इजिप्सियन स्ट्राइकर सालाहले आठ खेलको गोल खडेरी तोडेको दिन शुक्रबार लिभरपुल सायथह्याम्पटनलाई ३–१ ले निराश पार्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको थियो।

यस जितपछि ३३ खेलमा ८२ अंकका साथ लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको हो। ७९ अंकका साथ दोस्रो स्थानमा बसेको साबिकको विजेता म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ। टोटेनह्याम ६४ अंकका साथ तेस्रो, समान ६३ अंक जोडेका आर्सनल र चेल्सी क्रमश चौथो र पाँचौं स्थानमा छन् भने ६१ अंकका साथ म्यानचेस्टर युनाइटेड पाँचाैं स्थानमा छ।

लिभरपुल २९ वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा छ।

‘सालाह सधैं टोलीका महत्वपूर्ण खेलाडी रहँदै आएका छन् र उनको क्षमतामा मैले कुनै शंका गरेको छैन,’ क्लोपले भने, ‘सबै खेलाडीले सबै खेलमा गोल गर्छ भन्ने छैन। उनले सधैं एकै प्रकारको प्रदर्शन गर्दै आएका छन्।’

खेलको नवौं मिनेटमा सेन लङले गरेको गोलमा साउथह्याम्पटनले अग्रता लिएको थियो। ३६औं मिनेटमा नाबी केइटाले बललाई जाली चुमाउँदै लिभरपुललाई खेलमा फर्काए। खेलको अन्तिम १० मिनेटमा २ गोल थपेसँगै लिभरपुलले सहज जितका साथ महत्वपूर्ण ३ अंक पक्का गरेको थियो।

८०औं मिनेटमा सालाहले लिभरपुललाई खेलमा अघि बढाएका थिए। यो सालाहले प्रिमियर लिगमा गरेको ५०औं गोल हो। त्यसको ६ मिनेटपछि जोर्डन हेन्डरसनले बललाई जाली चुमाउँदा लिभरपुलले सुखद नतिजा पक्का गरेको हो।

‘म टोलीले स्वाभाविक लयको प्रदर्शन गर्न नसकेको स्वीकार गर्छु,’ क्लोपले भने, ‘हाम्रा समर्थक हामीले पनि म्यानचेस्टर सिटीजस्तो स्वाभाविक प्रदर्शन गरेको हेर्न चाहन्छन्। जसमा हामी सफल हुन सकिरहेका छैनाैं।’

‘हामीले ३३ खेलमा अहिले ८२ अंक जोडेका छाैं । यो ठूलो उपलब्धि हो र टोलीले यसमा गर्व गर्नुपर्छ,’ क्लोपले थपे, ‘यो सिजन सबै क्लबका लागि कठिन बनेको छ। किनभने कुनै पनि टोलीलाई शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा स्थान बनाउन कम्तीमा ७०–७५ र उपाधि जित्नका लागि ९० भन्दा बढी अंक चाहिने संकेत देखिएको छ।’

‘सालाह सधैं टोलीका महत्वपूर्ण खेलाडी रहँदै आएका छन् र उनको क्षमतामा मैले कुनै शंका गरेको छैन।’

 

प्रकाशित: २४ चैत्र २०७५ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App