७ वैशाख २०८१ शुक्रबार
अर्थ

२ सय ४९ सिटमा २६ हजारको आवेदन

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धाबाट २ सय ४९ कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेकामा आवेदन दिनेको संख्या २६ हजार पुगेको छ। बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ। 

दरखास्तको चापलाई राष्ट्रिय वाणिज्य बैंकको जागिरप्रतिको मोह मानिएको छ। आकर्षक तलब, भत्ता र अन्य सुविधा पाइने भएकाले यो जागिरमा आकर्षण देखिएको हो। मासिक आधा लाखसम्म कमाइ हुने भएकाले राष्ट्रिय वाणिज्य बैंकको प्रतिस्पर्धामा उत्रेका युवायुवतीले टुप्पी कसेर पढ्ने गरेका छन्।

प्रायः हरेक वर्ष बैंकले उल्लेखनीय रुपमा सहायक स्तरका कर्मचारी भर्ना गर्छ। यसमा शैक्षिक योग्यता पुगेका हजारौंले दरखास्त दिन्छन्। आवेदन दिनेमध्ये थोरैले मात्र जागिर पाउँछन्। इच्छा राख्ने धेरैका लागि राष्ट्रिय वाणिज्य बैंकको जागिर आकाशको फल जस्तै बन्छ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ सय ४९ कर्मचारी नियुक्त गर्न भदौ २८ गते सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो। असोज २८ गतेसम्म आवेदन दिने मिति तोकिएको थियो। सो अवधिमा दरखास्त दिन राष्ट्रिय वाणिज्य बैंकमा भिड लागेको थियो। दरखास्त बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बुझाएका थिए।

जागिरका लागि आइतबारसम्म २५ हजार ९ सय ७१ जनाले आवेदन दिइसकेको राष्ट्रिय वाणिज्य बैंकका मानव संशाधन विभागका प्रमुख गणेश ढकालले सोमबार नागरिकलाई बताए। 'आवेदन दिने मिति सकिए पनि एक सातासम्म डबल (दोब्बर) दस्तुर तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ,' उनले भने, 'डबल दस्तुर तिरेर दैनिक सरदर सयजनाले आवेदन बुझाउँदै छन्।' दोब्बर दस्तुर तिरेर आवेदन दिनेको संख्या जोड्ने हो भने आवेदन दिनेको संख्या अझै बढने देखिन्छ।

बैंकले प्रशासन सहायक प्रबन्धकमा ६९ जना मागेको छ। उक्त पदका लागि २ हजार ९७ जनाले आवेदन दिएका छन्। यसमा आवेदन दिने आवेदकले अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेको हुनुपर्छ।

वरिष्ठ सहायकमा १९ जना माग गरेकोमा २ हजार ६ सय २१ जनाले आवेदन दिएका छन्। वरिष्ठ सहायक (नगद)का लागि ५० जना माग गरेकोमा ५ हजार ८९ जनाले आवेदन दिएका छन्। दुवै पदका लागि आवेदन दिनेले अर्थशास्त्र वा व्यवस्थापन वा वाणिज्य शास्त्रमा स्नातक हुनुपर्ने व्यवस्था छ।

त्यस्तै बैंकले वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) का लागि ६ जना कर्मचारी मागेकोमा ३ सय १७ जनाले आवेदन दिएका छन्। उक्त पदमा आवेदन दिनका लागि कम्प्युटर वा कम्प्यूटर साइन्स वा कम्युनिकेसन वा सूचना प्रविधिमा मान्यता प्राप्त संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।

चौथो तह प्रशासन सहायकमा ५५ जना माग गरेकोमा  १० हजार ६ सयजनाले आवेदन दिएका छन्। यसैगरी, चौथो तह प्रशासन (नगद) मा ५० कर्मचारी मागेकोमा ५ हजार २ सय ४७ जनाले आवेदन दिएका छन्। दुवै पदका लागि १२ कक्षा वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ।

दरखास्त दिने पुरुष उम्मेदवारको उमेर हद ३५ वर्ष र महिलाका लागि ४० वर्ष तोकिएको छ। माग गरिएका कर्मचारीमा महिला, दलित, आदिवासी तथा जनजाति, अपांग र पिछडिएकमा क्षेत्रको आरक्षण कोटा छुट्ट्याइएको छ।

बैंकले परीक्षा दस्तुरबापत दरखास्त साथ ७ सय रुपैयाँसम्म र फारम दस्तुर सय रुपैयाँका दरले बुझाउनुपर्ने व्यवस्था गरेको छ। उसले फारम बिक्री गरेर पनि राम्रै आम्दानी गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकको नियमअनुसार लिखित र मौखिक परीक्षा लिइने छ। लिखित परीक्षा लोक सेवा आयोगले लिनेछ।

अन्य सरकारी संस्थानभन्दा राष्ट्रिय वाणिज्य बैंकको जागिरमा आकर्षण बढी हुने गरेको छ। 'राष्ट्रिय वाणिज्य बैंकमा जागिर खान ठूलो संख्यामा दरखास्त प्राप्त हुनु भनेको बैंकप्रति सबैको चासो र लगाव देखिनु हो,' एक उच्च अधिकारीले भने, 'यसबाट बेरोजगारीको अवस्था पनि छर्लंग हुन्छ।' सबै प्रक्रिया पूरा गरेपछि परीक्षा लिने काम अगाडि बढाउने बैंकको भनाइ छ।

हरेक वर्ष नयाँ विभाग थपिने, काम गरेको ३० वर्ष पूरा भएको वा ५८ वर्ष पुगेकाले अवकाश पाउने भएकाले नयाँ कर्मचारी आवश्यक पर्छ। महिला कर्मचारीका लागि ६ महिना र पुरुष कर्मचारीलाई १ बर्से परीक्षणकाल तोकिएको छ।

हाल बैंक, वित्त कम्पनी र लघुवित्तमा करिब २४ हजार कर्मचारी कार्यरत रहेको बताइन्छ। 'हरेक वर्ष बैंक, वित्त र लघुवित्तमा १ हजार ५ सयदेखि २ हजारसम्म नयाँ कर्मचारी थपिन्छ,' उनले भने, 'नयाँ शाखा थपिने क्रमले पनि जनशक्तिको आवश्यकता बढ्दै गएको हो।'

प्रकाशित: २ कार्तिक २०७३ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App