coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनप्रतिनिधि–कर्मचारी दूरी बढ्दै

पाँचथर - फिदिम नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच लामो समयदेखि असमझदारी हुँदा नगरपालिकाको काम प्रभावित भएको छ। कमचारीले असहयोग गरेको मेयरलगायतका जनप्रतिनिधिको गुनासो छ।

मेयर ओनाहाङ नेम्बाङले आफूलाई जानकारी नै नदिई अनुपस्थित रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत धनश्याम उपाध्यायको हाजिरीमा गयल गरिदिएका छन्। यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पत्र लेखेरै गयल कट्टा गरेको उनको भनाइ छ। उपाध्यायलाई दिइएको पत्रमा ‘फिदिम नगरपालिकाको कार्यविभाजन नियमावली, २०७४ को अनुसूची ४ को नियम १ खण्ड (झ) तथा स्थानीय सरकार ऐन २०७४ को नियम १६ को उपनियम ४ को खण्ड (क) को उपखण्ड ७ बमोजिम नगरप्रमुखको स्वीकृति नलिई काजमा जानुभएको’ भन्ने उल्लेख छ। संघीय मामिला सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, निजामती किताबखानासहित सात निकायलाई बोधार्थ दिँदै गयल कट्टा गरिएको हो। यसअघि चैत ७ गते पनि बिनाजानकारी कार्यालयमा उपस्थित नभएको भन्दै मेयर नेम्बाङले स्पष्टीकरण सोधेका थिए। उता प्रमुख प्रशासकीय अधिकृत उपाध्ययले भने बिदाका लागि मौखिक रूपमा जानकारी गराए पनि नियोजित रूपमा आरोप लगाइएको प्रतिक्रिया दिएका छन्।

पछिल्लोपटक प्रदेशले पठाएको १ करोड ३५ लाख बजेट कार्यान्वयनका विषयमा पनि विवाद बढेर गएको देखिन्छ।

आफूलाई प्रमुख प्रशासकीय अधिकृतले सहयोग नगरेको मेयर नेम्वाङको गुनासो छ। ‘मलाई लिनु–दिनु केही छैन। जनताको काम गर्न आएको हँु। नगर कार्यपालिकाको निर्णय नमान्ने, सुरुमा काम गर्ने सल्लाह ग¥यो, पछि हँुदैन भन्ने कामहरू भएका छन्। प्रशासकीय अधिकृत मलाई असफल बनाउन खोज्नुहुन्छ,’ मेयर नेम्वाङले नागरिकसँग भने, ‘समन्वय गरेर काम पटक्कै गर्नुभएन। नीति निर्माण तथा विकास योजना नै प्रभावित हुने अवस्था ल्याउन खोजिएको छ। विभिन्न योजनाका लागि आएका अख्तियारी पत्र लुकाउने कामसमेत भएको छ। यसले त फिदिम नगरपालिकाको समृद्धिलाई ठेस पु¥याउँछ।’
पछिल्लोपटक प्रदेशले पठाएको १ करोड ३५ लाख बजेट कार्यान्वयनका विषयमा पनि विवाद बढेर गएको देखिन्छ। गौरवको आयोजनाका रूपमा पौवा भन्ज्याङ–लुङ्रूपमा सडकका लागि आएको सो बजेट सोही सडकमा उपभोक्ता समितिमार्फत गर्न मिल्नेगरी नगर कार्यपालिकाले तीन भागमा बजेट टुक्र्याउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने भनेर प्रशाकीय अधिकृत उपाध्ययले अडान लिएपछि द्वन्द्व बढेको देखिन्छ। दुई ठाउँ ५०–५० लाख रुपैयाँ र एक ठाउँ ३५ लाख हुने टुक्र्याएर योजना छुट्ट्याइएको थियो। ‘आर्थिक वर्ष सकिन लागेकाले अब ठेक्कामा जाँदा काम हुन नसक्ने भएर यसरी काम गर्न खोजिएको थियो। प्रशासकीय अधिकृतले यसको पनि चिठी लुकाएका थिए,’ मेयर नेम्वाङले भने।

प्रशासकीय अधिकृत उपाध्ययले एक करोडभन्दा माथिको बजेट ठेक्का प्रक्रियामा लगाउनुपर्ने भएकाले निर्णय कार्यान्वयन गर्न नसकेको बताएका छन्। ‘नियम मिचेर काम गर्न नसक्ने भनिरहेको छु। सम्झौताको चिठी लेख्दिनँ भनेको छु,’ उपाध्ययले भने, ‘मैले बाटो खुला गरिदिन्छु भन्याछु। मेरो कारणले कतिपयको स्वार्थमा धक्का पुगेको हुनुपर्छ। नियोजित रूपमा यी कुरा भइरहेका छन्।’

फिदिम नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्वले विकास–निर्माणसहितका कामकारबाही प्रभावित हुन थालेका छन्। प्रशासकीय अधिकृत व्यावहारिक हुन नसकेको जनप्रतिनिधिको आरोप छ। निर्णय कार्यान्वयनमा अटेर गरिएको समेत आरोप लगाइएको पाइन्छ। मेयरसहितका जनप्रनिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच द्वन्द्व बढाउन केही ‘स्वार्थ समूह’ पनि सक्रिय भएको टिप्पणी हुन थालेको छ। राजनीतिक रूपमा तथा फाइदा लिने हिसाबबाट केही स्वार्थ समूह सक्रिय भएको हुन सक्ने आशंका भएको छ।

‘घरभित्र झगडा लगाएर फाइदा लिन केही समूह सक्रिय छन्। मेयर र प्रशासकीय अधिकृत दुवैजनाका कुरा आफ्ना ठाउँमा ठीक छन्। समन्वय गरेर काम गर्न सकिने अवस्था थियो,’ नगरपालिकाका एक कर्मचारीले भने, ‘यसले कामकारबाहीमा समेत समस्या सिर्जना हुने अवस्था आएको छ।’ स्थानीय सरकार भए पनि प्रशासकीय अधिकृत व्यावहारिक हुन नसकेको मेयरसहितका जनप्रतिनिधिको भनाइ छ। नियमसंगत मात्र काम गरेको प्रशासकीय अधिकृतको दाबी छ।

प्रकाशित: २४ चैत्र २०७५ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App