८ वैशाख २०८१ शनिबार
समाज

पिपरा मठको जग्गा हिनामिना गर्ने तीन पक्राउ

फर्जी कागजातबनाएर बेंचिएको वीरगन्ज १४ पिप्राको जग्गा। तस्बिरः रितेश/नागरिक

वीरगन्ज - वीरगन्जनगरको धार्मिक तथा ऐतिहासिक धरोहर मानिने पिपरा मठको नाउँमा रहेको गुठी संस्थानको करिब १० करोड शूल्यको जग्गा फर्जी कागजात खडा गरी खरिद–बिक्री गरेको पाइएको छ। यस प्रकरणमा संलग्न रहेको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य १६ आरोपित फरार छन्। फरार हुनेमा वीरगन्जमहानगरपालिका–१४ का अध्यक्ष भरतप्रसाद कुर्मीसमेत छन्।

पर्सा जिल्ला साबिक मजेडिहा पिपरा–५ को किता नम्बर ५२ रहेको एक बिघा एक कट्ठा सुशीला भट्टराई र राकेश साहको नाउँमा गत असोजको २८ गते मालपोत कार्यालय पर्साबाट पास गरिएको छ। सोही मितिमा लालपर्सा–८ को किता नम्बर १५० को एक बिघा सात कट्ठा जग्गा र लालपर्साकै किता नम्बर २५० को चार कट्ठा पाँच धुर गंगाप्रसाद सेढाईंकै नाउँमा पास गरिएको छ। नृसिंह मन्दिर पिप्रामठका अन्तिम महन्थ बसेका राघवदासकी श्रीमती भारत बिहारको मुज्जफरपुर घर भएकी इन्द्रकला देवी आफू राघवदास भनिएका रामचन्द्र साहकी पत्नी भएको भनी मृत्युदर्ता प्रमाण–पत्र बनाएको खुल्न आएको छ। मृत्यु दर्ता प्रमाणपत्रमा २०६५ फागुन २५ गते राघवदासको मृत्यु भएको उल्लेख छ।

सोही आधारमा उनलाई राघवदासको शेषपछिको हकदार प्रमाणित गरी जग्गाको हिनामिना गरिएको छ। २०७५ असोज १२ गतेका दिन वीरगन्ज महानगरपालिका–१३ को कार्यालयले इन्द्रकला देवीको निवेदनमा ‘अरू कोहीकतै हकदार नभएकाले स्वर्गीय पतिको नाममा दर्ता रहेको जग्गा हक हस्तान्तरण, सुक्रीबिक्री गर्ने र लेखतपास गर्ने’ सिफारिस लेखेर दिएको देखिन्छ। सिफरिसमा वडाध्यक्ष भरतप्रसाद कुर्मीको सहीछाप छ। मुचुल्कामा वडा सदस्य रफिक अन्सारी साक्षी बसेका छन् भने कामतामेली गर्नेमा वडा सचिव झुनामाहराको सहीछाप छ।

वडाध्यक्षसहित १६ जना फरार

यस प्रकरणमा वडा १७ का वडा सचिव महरा, नगरपरिषद् सदस्य अन्सारी र सुभाष भनिने हरिश्चन्द्र पोखरेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले थुनामा राखेको छ। ठगी, लिखतसम्बन्धी कसुर र संगठित अपराधमा मुद्दा चलाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। उनका अनुसार मुद्दाका आरोपित वडाध्यक्ष कुर्मी र मालपोत कार्यालय पर्साका केही कर्मचारी फरार छन्। उनीहरुको खोजीकार्य भइरहेको छ।

घटना यसरी खुल्यो
सम्पूर्ण प्रकरण यति गोप्य तरिकाले गरिएकाले स्थानीय कसैले भेउसमेत नपाएको जनाइएको छ। जग्गा भोगचलनमा ल्याउन खोज्दा सो जग्गा व्यक्तिको नभई गुठीको सरकारी जग्गा हो भनी जग्गा खरिदकर्तामध्ये सुशीला भट्टराईले थाहा पाएका हुन्। त्यसपछि उनले मध्यस्तकर्ता रहेका हरिश्चन्द्र पोखरेललाई चितवनको भरतपुरमा फेला पारेर ल्याएका थिए। पोखरेलले आफू पनि त्यसबारे अनभिज्ञ रहेको उल्लेख गर्दै जग्गा विवादित भए लेनदेन भएको पैसाबराबर अर्को जग्गा दिलाउन आफु तयार रहेको बताए।

पोखरेलले उम्किने उपाय निकाल्दै आफूलाई अपहरण गरी होटेलमा बन्धक बनाइराखेको भनी प्रहरीलाई फोन गरेका थिए। प्रहरीले सोधपुछ गर्दै जाँदा जग्गासम्बन्धी मुद्दा भएको थाहा पाएको थियो। त्यसपछि सुशीला भट्टराईकै जाहेरीमा प्रहरीले अनुसन्धान अगाडि बढायो। जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गर्दैै जाँदा सम्पूर्ण प्रकरण खुल्यो। घटनामा १९ जनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। वीरगन्जका विभिन्न होटेलमा बसेर यो जालसाजी बुनिएको र कार्यान्वयन गरिएको रहेछ भनी अनुसन्धानमा रहेका प्रहरी अधिकृत बताउँछन्। विभिन्न बैंकका माध्यमले तीन करोड ४० लाख रुपैयाँ लेनदेन भएको खुलेको छ। गैरबैंकिङ माध्यमले वा कागज बनाएर थप लेनदेन सुरक्षित गरिएको हुन सक्ने आँकलन गरिएको छ।

अनुसन्धान अधिकृतहरूले अझ पनि केही कुरा खुल्न बाँकी रहेको बताए। वीरगन्ज महानगरको एक कट्ठा एक धुर जग्गा मात्र करिब आठ करोड मूल्यबराबरको रहेको श्री नृसिंह मन्दिर पिप्रामठ व्यवस्थापन तथा संरक्षण समितिका सदस्य रामनारायण कुर्मी बताउँछन्। लालपर्साको दुई कित्तामा रहेको एक बिगहा ११ कट्ठा पाँच धुर जग्गा पनि औद्योगिक करिडोरसँग जोडिएकाले त्यसको समेत मूल्य जोड्दा करिब १० करोडभन्दा बढीको जग्गा हिनामिनाको प्रयास गरिएको उनले बताए। समितिका अध्यक्ष देवनाथ उपाध्याय भूमाफियाहरूको दृष्टि पहिलेदेखि पिपरा मठको जग्गामा रहेको बताए। उनका अनुसार यसअघि पनि मठको जग्गा हडप्ने पटक–पटक प्रयास भएको पाइन्छ। पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले सार्वजनिक जग्गामा विभिन्न स्वार्थ समूहको कुदृष्टि रहँदै आएकोमा पछिल्लोपटक पिपरा मठको जग्गाको प्रकरण बाहिरिएको बताए। उनले आफूले सो मठको सम्पूर्ण जग्गाको लगत निकालेर रोक्का गर्ने प्रक्रिया थालेको बताए।

प्रकाशित: २४ चैत्र २०७५ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App