६ वैशाख २०८१ बिहीबार
समाज

व्यवस्थित बन्यो महेन्द्रनगर बसपार्क, यात्रुलाई दुःख दिने १४ जनाविरुद्ध मुद्दा

कञ्चनपुर– कञ्चनपुरको सदरमुकाममा रहेको महेन्द्रनगर बसपार्क व्यवस्थित बनेको छ। स्थानीय प्रशासन, यातायात व्यवसायी, प्रहरी, होटल व्यवसायी र स्थानीयको सक्रियतामा जिल्लाकै नमूना बसपार्क व्यवस्थित बनेको हो। 

बसपार्क व्यवस्थित गर्न महाकाली यातायातका अध्यक्ष डम्बर पन्त, पवनदूतका केशव जोशी, नमस्ते शुक्लाफाँटाका दिलीप कुँवर, ट्राफिक प्रहरी निरीक्षक भरत शाह, वडा प्रहरी कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालयका डिएसपीले अगुवाई गरेका थिए। 

पवनदूत यातायात कम्पनी प्रालिका इन्चार्ज किशन चन्दले स्थानीय प्रशासन, व्यवसायी र कर्मचारीको सहकार्यमा बसपार्कलाई व्यवस्थित गरिएको बताए। उनका अनुसार भीमदत्त नगरपालिकाले १४ करोड लगानीमा १ विगाहा जमिनमा नमूना बसपार्क निर्माण गरेको हो। बसपार्कमा यात्रुको तानातान गर्ने, झोला लुट्नेलगायत यात्रुले दुःख पाउने गतिविधिलाई नियन्त्रण गरेर व्यवस्थित बनाइएको उनले बताए। 

‘यात्रुलाई तानातान गर्ने, टिकट काउन्टरसम्म पुग्न नदिने, होटलवालाले झोला तानेर जबरजस्ती आफ्नोमा लैजाने, पोखरा जाने यात्रुको काठमाडौं रुटको बसले टिकट काट्ने जस्ता गतिविधि हुँदै आएका थिए’, उनले भने, ‘अब यी सबै गतिविधिको अन्त्य भएको छ। बसपार्क भौतिक संरचनामा मात्र होइन व्यवहारिक रुपमै व्यवस्थित बनेको छ।’

उनका अनुसार बसपार्क व्यवस्थित अभियानमा बाधा पुर्याउने १४ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दामा कारवाही अगाडि बढाइएको छ। वडा प्रहरी कार्यालयले शुक्रवार ११ र शनिवार ३ जनालाई पक्राउ गरेको छ। पवनदूत यातायातका इन्चार्ज चन्दले बसपार्क व्यवस्थित भएपछि यात्रुले फरक महसुस गरेको र खुसी भएको दाबी गरे।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App