८ वैशाख २०८१ शनिबार
खेल

१३औं साग : पोखरामा तयारी शून्य

पोखरा- सन् २०१८ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आयोजना गर्ने घोषणा महिनांै अघि सरकारले गरिसकेको छ। सरकारी घोषणाभित्र काठमाडौं र पोखरामा सागका विभिन्न खेल खेलाउने उल्लेख छ।

सरकारी घोषणा सत्य साबित भए पर्यटकीय सहर पोखराले सागको आगामी संस्करणका सातवटा खेल खेलाउन पाउनेछ। पहिलो र आठौं सागको आयोजक राष्ट्र नेपालले १३ औं सागका केही खेल राजधानी बाहिर पहिलोपटक विस्तार गर्ने तयारी गरेको हो। निर्धारित समयमा नेपालले साग आयोजना गर्न सकेनेपाली खेलकुद इतिहासमै पोखराले सागका खेल खेलाउने अवसर पाउँदैछ।

...

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलका शब्दमा 'नेपालले २०१८ मासाग खेलकुद आयोजना गर्ने र त्यसका केही खेल पोखरामा खेलाउने हो भने अहिले यहाँ धमाधम पूर्वाधार निर्माणका काम हुनुपर्ने हो। सयौं कामदार पूर्वाधार बनाउन खटिएको देखिनुपर्ने हो। इँटा, ढुंगामाटो, बालुवा, सिमेन्ट र रडसहितका निर्माण सामग्रीको चाङ लागिसक्नुपर्ने हो। दूर्भाग्य, अहिलेसम्म साग लक्षित कुनै काम सुरु नै भएको छैन।'

'सागका लागि पूर्वाधार निर्माणको काम धमाधम हुनुपर्ने हो। तर, अहिलेसम्म सिन्को भाँचिएको छैन,' अध्यक्ष पौडेल भन्छन्, 'अझै केही महिना सिन्को भाँचिने संकेत पाएका छैनौं।' रंगशालाभित्रको एउटा बहुउद्देश्यीय भवन बन्दै गरेको देखिएपनि सागको तयारीस्वरुप बनेको होइन।

पूर्वाधार निर्माणमा मात्र होइन, सागमा नेपालले साँच्चै पदक जित्ने लक्ष्य राखेको भएसम्भावित खेलका खेलाडी तयार पार्दै प्रशिक्षण दिन थाल्नुपर्ने हो। तर त्यो पनिसुरु भएको छैन।

तेक्वान्दो, आर्चरी, फुटबल,  ह्यान्डबल, बक्सिङ, बास्केटबलमा नेपालले पदक जित्ने सम्भावना भएकाले ती खेलका खेलाडी तयार पार्नुपर्ने उनको तर्क छ। 'सरकारले १३ औं साग नेपालमा गर्ने, त्यसका केही खेल पोखरामा खेलाउने,' यति मात्र हो, सरकारले घोषणा गरेको। त्यसबाहेक प्रगति शून्य छ,' पौडेलले भने, 'अब पनि नतात्ने हो भने सरकारको घोषणा कागजमै सीमित हुनेछ। अनि सागका विभिन्न खेल खेलाउने पोखराको चाहना चाहनामै रहन्छ।'

...

सागको तयारी गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले केही समयअघि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिसँग यहाँको पूर्वाधारअवस्थाबारे जानकारी मागेको थियो। समितिले सम्भावित खेलमैदान र तिनको अवस्थाबारे राखेपलाई जानकारी दिइसकेको छ।

अध्यक्ष पौडेलका अनुसार पोखरामा सातवटा खेल (पुरुष र महिला भलिबल,आर्चरी, महिला फुटबल, ह्यान्डबल, तेक्वान्दो र कराते) का लागि चाहिने पूर्वाधार अवस्थाबारे जानकारी दिइएको छ। भौतिक संरचनाको अवस्था, खेलाउन सकिने सम्भावना, मर्मतसम्भार लगायतको विस्तृत विवरण तयार पारेर राखेपमा बुझाइएको हो।

पोखरा रंगशाला परिसरसहित सेनाको पश्चिम पृतना, अञ्चल प्रहरी खेलमैदान, सशस्त्र प्रहरीको कालिका गण, गण्डकी आवासीय विद्यालयको मैदान, सहारा एकेडेमी, मणिपाल शिक्षण अस्पतालको मैदान, मालेपाटनमैदान, लेखनाथको भण्डारढिक रंगशाला, इन्जिनियरिङ र पीएन क्याम्पसभित्रका मैदान र तिनको अवस्थाबारे राखेपलाई जानकारी गराइएको पौडेलले बताए।

 'हामीले सम्भावित पूर्वाधारअवस्थाबारे जानकारी दिएका छौं,' उनले भने,'यिनै मैदानप्रयोग गर्न सकिने सम्भावनाबारे बुझ्झ्ने काम भएको छ। त्यसबाहेकतयारी शून्य छ।'

पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय भवन त्यो बेलासम्म पूरा हुने भएकाले केही हदसम्म इन्डोर खेललाई सहज भएपनि आउटडोरका लागि पूर्वाधार अभाव रहेको उनले बताए।

...

पोखरामा सागका सात खेल खेलाउने हो र त्यसका लागि आवश्यक पूर्वाधार तयार पार्ने हो भने करिब एकअर्ब रुपैयाँ बजेट आवश्यक पर्ने पश्चिमाञ्चल खेलकुद विकास समितिको अनुमान छ। यो बजेटले रंगशालाको फुटबल मैदानको चारैतिर प्यारापिट बनाउने, पार्किङस्थल बनेको अतिरिक्त फुटबल मैदानमा दुबो रोप्ने, आवश्यक मर्मतसम्भार गर्ने, भूकम्पले जोखिममा पारेको भिआइपी प्यारापिट मर्मत गर्ने सहित आवश्यक तयारीका लागि उक्त रकम लाग्ने अध्यक्ष पौडेलको भनाइ छ।

'साँच्चै सागका खेल पोखरामा खेलाउने हो भने पूर्वाधार तयार पार्न करिब एक अर्ब रुपैयाँ लाग्छ। आर्थिक वर्ष २०७३/७४ मा ३४ करोड दिने भनिएको छ। तर अहिलेसम्म रकम दिने प्रक्रिया थालिएको छैन,' उनले भने, 'हामीलाई एकैपटक रकम चाहिएको होइन। केही रकम दिएर काम थाल भन्ने हो भने हामी फास्ट ट्र्याकमा काम गर्न तयार छौं। अब सुरु नगरे २०१८ का लागि पूर्वाधार बनाउन भ्याइँदैन।'

पौडेलका अनुसार फुटबल मैदानको चारैतिर प्यारापिट बनाउन चारवटा कम्पनीलाई टेण्डर दिएर काम लगाउन सकिन्छ।

उनी मंसिरयता बजेट आउने सम्भावना निकै कम देख्छन्। 'मंसिरमा बजेट आएर ३५ दिने टेण्डर आह्वान गर्दा माघमा मात्र काम सुरु हुने सम्भावना छ। त्यसले गर्दा एक वर्षभित्र पूर्वाधार निर्माण सक्न गाह्रो हुन्छ।'

पूर्वाधार निर्माणले बीचबीचमा गति नलिँदा यहाँ अभाव खड्किएको हो। भएका पूर्वाधारले स्याहारसुसार पाएनन्। नयाँ केही थपिएनन्। ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालामा २०३९/४० सालमा तयार भएको फुटबल मैदान र प्यारापिट बाहेक बल्ल अहिले एउटा बहुउद्देश्यीय भवन बन्न थालेको छ। त्यसबाहेक बनााउने भनिएका अन्य पूर्वाधारले गति लिएनन्। 'तीनदशकपछि बल्ल एउटा बहुउद्देश्यीय भवन बन्दैछ। झन्डै यो भवन सबैतिर देखिएको छ। नत्र रंगशालाले स्वरुप फेर्न पाएन, त्यही भएर अहिले पूर्वाधार अपुग भएको हो,' समिति अध्यक्ष पौडेलले भने।

...

पोखरामा साग खेलकुद हुँदा यसको सम्बन्ध पोखराको पर्यटनसँग जोडिन्छ। ८ मुलुकका एकहजार बढी खेलाडी र पदाधिकारीको पोखरा आगमन हुँदा पर्यटकको भीडभाड हुनेछ। यसले तत्काललाई पाहुना अभाव टार्ने मात्र होइन, दीर्घकालमा पोखरामा विदेशी पाहुना भिœयाउन पनि सघाउने खेल क्षेत्रका पदाधिकारीको भनाइ छ।

सहारा क्लबका अध्यक्ष आचार्य भन्छन्, 'सरकारी इच्छाशक्ति हुने हो भने पोखराले खेल क्षेत्रमा साँच्चै फड्को मार्छ। पोखरामा सागका खेल खेलाउँदा यहाँको खेलक्षेत्रको मात्र नभई पोखराको अर्थतन्त्र पनि उकासिन्छ।'

पोखरालाई आर्थिक रुपमा उकास्नका लागि यहाँको खेलले निकै ठूलो भूमिका निर्वाह गरेको आचार्यको भनाइ छ। 'सागका सात खेल पोखरामा खेलाउँदा यसले पोखरालाई निकै माथि उकास्नेछ,' आचार्यले भने। सरकारले सागका लागि पूर्वाधार निर्माणमा ढिलाइ गरेकोमा आचार्यको असन्तुष्टि छ। 'खेल क्षेत्रको विकासमा जति लाग्नुपर्ने हो, उत्ति छैन,' उनले भने, 'त्यसको परिणाम सागको तयारीमा देखिएको छ। सागका सातवटा खेल खेलाउने भनिएको छ। तर, तयारी शून्य छ। तीव्र रुपमा पूर्वाधार बनाउन थालिनुपर्नेमा सुरुआतै छैन।'

जिल्ला फुटबल संघ कास्कीका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई पनि स्थानीयस्तरमा सागको तयारी शून्य हुँदा चिन्तित छन्। 'हामीले सबै काम अन्तिम समयमा हतारगर्ने चलन छ। त्यसले कार्यसम्पादन राम्रो हुँदैन। सागको तयारीले पनि त्यही रुप पाउने देखिन्छ,' उनले भने, 'हतारको लतपते कामले पोखरामा सहज खेल खेलाउन समस्या हुन्छ। त्यसले पोखराको पहिचानमा नकारात्मक असर पार्न सक्छ। त्यही भएर बेलैमा होस पुर्‍याउनुको विकल्प छैन।'

सागका लागि अहिले नै तयारी सुरु नहुने हो भने पोखरामा भनेजस्तो तरिकाले खेलाउन नसकिनेमा उनी चिन्तित छन्। उनका अनुसार खेलकुदका कुनै पनि ठूला प्रतियोगिता गर्दा कम्तीमा ५ वर्षअघि नै पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ। तर झन्डै दुईवर्ष पछि हुने सागको खेलका लागि अहिलेसम्म तयारी शून्य छ।

'कम्तीमा पाँचवर्षको योजना हुनुपर्ने हो। त्यो नभई पूर्वाधार बनाउन सकिन्न। तर पुगनपुग दुईवर्ष बाँकी छँदा पनि पोखरामा सागको तयारी शून्य छ। यसले पोखराबारेमा नकारात्मक प्रचार हुनसक्छ,' उनले भने, 'अन्तर्राष्ट्रिय मिडिया र खेलप्रेमीसामु पोखरा कमजोर साबित भए त्यो जतिको ठूलो कमजोरी केही हुँदैन। यसले पोखरालाई उकास्ने होइन, ओराल्नेछ।' मुलुकको इज्जतसँग खेल जोडिने भएकाले राज्यले बेलैमा होस पुर्‍याउनुपर्ने भट्टराईको सुझाव छ।

प्रकाशित: २ कार्तिक २०७३ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App