coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

याद जाे गीतसँगै बजिरहन्छ

लेट्स् स्टार्ट

मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म
काले भन्छन् मलाई , तर मान्छे गोरो म

सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्
म त अझै गोठमा, छैन हाँसो ओठमा
किन किन मन यो, दुखे दुखे जस्तो छ
यो ज्यामिरे गाउँमा, कुरो मात्र सस्तो छ

....
उसका स—साना ओठहरूले प्रायः यिनै हरफहरू गुनगुनाइरहन्थ्यो। बजार त ‘तु चिज हे बढी मस्त मस्त’ मोहरा फिल्मको गीतले तताइरहेको थियो। तर ऊ किन चिसो गीत गाउँथ्यो? किन मुटु दुख्ने अन्तराहरूमा रुमलिन्थ्यो? ऊ कमानेदेखि धाउँथ्यो, पशुपतिनगर। उसका एकजोर किशोर पैतालाले साइकलको पाउदानी जोडजोडले घुमाउँथ्यो। गन्तव्य खोज्थ्यो। स्कुलमा ऊ मभन्दा सिनियर विद्यार्थी थियो। गीत गाउँथ्यो। यो कुरा स्कुलका सबैलाई थाहा थियो। तर आमालाई पहिलोपटक मैले नै सुनाएकी थिएँ। एकपटक उसलाई मैले घर लगेकी थिएँ। त्यस दिन आमाले क्यासेट प्लेयर उसको अगाडि राख्नुभयो। एउटा पुरानो गीतको चक्का हाल्नुभयो। त्यसपछि डबिङ बटन थिच्नुभयो। र भन्नुभयो ‘ल अब गीत गाऊ त मदन।’

मदन भुजेल लजालु थियो। उसले सिलिङको पंखाको स्पिडसँगै आँखा घुमायो। तर ओठ घुमाएन। हामी आमाछोरीले निकैबेर कसरत गर्‍यौं उसलाई मनाउन। अन्तमा ऊ तयार भयो। उसले स्कुलमा गाउने गरेको ‘ज्यामिरेको छोरो’ गायो। स्वरमा मिठास थियो। अनुहारमा मासुमियत थियो। गीत डबिङ भयो। त्यो डबिङ हामी पटक पटक सुन्थ्यौं। 
आमा भन्नुहुन्थ्यो– ‘त्यसको स्वरमा जादु छ।’

मलाई भने उसको आवाजमा पीडा छ लाग्थ्यो। जब ऊ गाउँथ्यो, हामी दुख्थ्यौं। ऊ स्वयं दुख्थ्यो।  कतै उसको मुटु पो दुखेको छ कि? दुखेको मुटुले गाएर पो हो कि!  गीतको शब्द शब्द दुख्थ्यो। मलाई लाग्थ्यो, ऊ दुःखको गीत गाउनकै निम्ति जन्मिएको हुनुपर्छ। स्कुलमाा आयोजना हुन्थ्यो, विविध सांस्कृतिक कार्यक्रम। कार्यव्रmममा रौनक थप्थ्यो। ऊ थियो र त कार्यव्रmमले उचाइ पाउँथ्यो। उसले स्टेजमा उभिएर गाउञ्जेल वरिपरि सन्नाटा छाउँथ्यो। लाग्थ्यो हाम्रै गीत गाइरहेछ। हाम्रै लागि गाइरहे छ। तर यो राज्यमा ‘भुइँमान्छे’को गीत गाउँदै हिँड्ने ‘गाइने’ पो हुँदा रहेछन्। त्यसैले ऊ सेलिब्रेटी बन्न सकेन। आजसम्म गुमनाम छन् दुःख गाउनेहरू। त्यसमा अर्को एउटा थपियो। के फरक पर्छ र राज्यलाई! अहँ मलाई पटक्कै सोध्ने मन छैन ऊसँग ‘किन सांगीतिक दुनियाँबाट हरायौ?’ 

उसले गीत गाउन छोड्यो। तर हामीले गीत सुन्न छाडेनौं।  

आमालाई त झन् गीत खुब सुन्नु पर्ने। गीतप्रति उहाँको एककिसिमको लगाव थियो। त्यसैले त पुरानो पानासोनिक क्यासेट प्लेयर बिग्रिएपछि उहाँले ल्याउनुभएको थियो सोनी कम्पनीको नयाँ क्यासेट प्लेयर। घरको खोपामा चाङ लाइएको हुन्थ्यो प्राय ॐ चलचित्र हलमा रिलिज भएका हिन्दी फिल्मका गीतका अडियो चक्काहरू। ‘देउता’, ‘युगदेखि युगसम्म’, ‘विश्वात्मा’, ‘इन्साफकी देवी’, ‘करण अर्जुन’, ‘बेटा’, ‘साजन’, ‘आशिकी’ फिल्म लगायतका चक्का। 

तुझ्से नाराज नहीं जिन्दगी, हैरान हुँ मे हो हैरान हुँ मे
तेरे मासुम सवालोंसे परेशान हुँ मे, हो... परेशान हुँ मे

कहिलकाहीँ बा आफु पढिरहनुभएको हिन्दी जासुसी उपन्यासबाट फुत्त निस्कनुहुन्थ्यो। थपक्कै रेडियोको कान निमोठ्नुुहुन्थ्यो। अल इन्डिया ट्युन गर्नुहुन्थ्यो। त्यतिखेरै हो मैले बाको सिरानी मुनिबाट ‘तडिपार’ भन्ने जासुसी उपन्यास चोरेर पढेको। मैले मासुम फिल्मको उक्त गीत पनि पहिलो पटक अल इन्डिया रेडियोबाटै सुनेको हुँ। धेरैजसो समय हाम्रो घरमा कोही होस् नहोस्, कि क्यासेट प्लेयर कि रेडियो बजिरहन्थ्यो। 


टु बि कन्टिन्यू...

जब कोही बात बिगड जाए
जब कोही मुस्किल पड जाए
तुम देना साथ मेरा ओ हमनवाज...

१९९० को दशकमा रेडियोमा बज्ने गथ्र्यो कुमार सानु। गीत थियो फिल्म ‘जुर्म’को। ओछ्यानमा भरि छरिएको हुन्थ्यो कोर्सका पुस्तकहरू। यो अंर्थमेटिक किन पढ्नुपरेको होला? अलजेब्राजस्तो सजिलो हुनु नि जिन्दगी। ज्यामितिका साध्य पनि घोक्नु त? स्कुलमा पहिलो पिरियडमै थियो गणित। कलम सरको मसिना सेता हातहरू ब्ल्याकबोर्डमा फटाफट फटाफट चल्थे। म ब्ल्याकबोर्डमा लेखिएका गणितका ती अप्ठ्यारा सूत्रमा जिन्दगी बाँच्ने सरल तरिका खोजिरहन्थे।

घरको हिसाबकिताब जो बिग्रिरहन्थ्यो। आमा कुखुराको अण्डा गिन्ती गर्दै क्रेटमा भर्नुहुन्थ्यो। बा साइकलको क्यारेजमा क्रेट बाँध्नुहुन्थ्यो। अनि बजार पु¥याउनुहुन्थ्यो। तर जहिल्यै नोक्सानमा हुन्थ्यो कुखुरापालन। त्यसपछि आमाले कुखुरा राख्ने खोर भत्काइदिनुभयो। त्यहाँ बाँध्नुभयो दूधालु भैंसी। घाँस काट्ने जिम्मा आमाको। गोबर सोहरेर ग्याँस प्लान्टमा हाल्ने जिम्मा बाको। बलेको ग्याँसमा खाना पकाउने जिम्मा मेरो। त्यसमा अर्को एउटा जिम्मेवारी पनि थप भयो ममाथि। बिहान ७ बजे बिँडारी अंकलको घरमा दूध भरिएको क्यान पुर्‍याउने। जहाँ भर्खरै स्थापना गरिएको थियो पशुपतिनगरभरिको दूधसंकलन केन्द्र। डेरी। 

औपचारिक रुपमा म कक्षा ८ पढ्दै थिएँ। अनौपचारिक भने जिम्मेवारीको विश्वविद्यालयमा भर्ना भएकी थिएँ। आमा त्यसको प्राचार्य। बा कहिलेकाहीँ अनुगमनमा उभिनुहुन्थ्यो। मलाई उत्तीर्ण हुनु थियो। त्यसैले हरेक बिहान म दूध भरिएको क्यान बोकेर पुग्थें, डेरी।

नियमित दूध पुर्‍याउन जाने मैले एकदिन आमालाई भनिदिएँ ‘बरु म घाँस काट्छु, भकारो सोर्छु तर मरिगए पनि डेरी जान्नँ।’
आमाले पटक पटक कारण सोध्नुभयो। मैले कहिल्यै कारण बताइनँ। 

मैले भन्नै सकिनँ कि ‘आमा मलाई डेरी जाने बाटोमा ओछिएका ती एक जोर आँखाहरूसँग डर लाग्छ।’

मलाई सबेरै ब्रस र मञ्जन बोकेर बरण्डामा उभिने त्यो खिरिलो ज्यानले मेरो ज्यान लिन्छ जस्तै लाग्थ्यो। म हिँड्ने बाटोमा कोही ‘जादु तेरी नजर खुस्बु तेरी नजर’ वाला ‘डर’ फिल्मको गीत शाहरूख शैलीमा गाउँदै पछ्याउँदै छ जस्तो आभास हुन्थ्यो। तर कसैलाई भन्नै सकिनँ ‘त्यो बदमास मेरो पिछा गर्छ। मेरो हातमा रातो मसीले लेखेको चिठी थमाउँछ।’

बस् मैले डेरी नजाने अडान लिएँ।

च्याप्टर क्लोज्ड।

एक प्यारका नगमा है, मौंजो की रवानी है
जिन्दगी और कुछ भी नही तेरी मेरी कहानी है

कुछ पाकर खोना है, कुछ खोकर पाना है
जीवनका मतलब तो आना और जाना है
दो पलके जीवनसे एक उम्र चुरानी है
जीन्दगी और कुछ भी नही तेरी मेरी कहानी है

उमेरको राप्ती बढेर नारायणी हुन थाल्यो। विस्तारै लामो उमेरसँगै मैले छोटा छोटा गुल्जारका हरफहरू मिसाउन थालें। ‘शोर’ फिल्म त मैले निकै पछि मात्र हेर्न पाएँ। गीत भने हृदयको प्रत्येक कोठाहरूमा कैद गरिदिएकी थिएँ। प्रेम जो भएको थियो कसैसँग। उमेर नै थियो त्यो। सफा आकाशका सेता नरम भुवाजस्ता देखिने सेता बादलसँगै उडिजाने मन हुन्थ्यो। गर्मीका दिनहरूमा छतमा चढेर रातरातभर ताराहरू गनिरहने मुड बन्थ्यो। मलाई कि राप्तीको किनारमा बसेर मसिना ढुंगा खोलामा एकहोरो बर्साइरहुँ लाग्थ्यो। कि उसँगै हात समाएर मुजुरधापतिर दिनभर ओहोरदोहोर गरूँ लाग्थ्यो। अरू कसैसँग ऊ हाँसेर बोल्दा मभित्र ईष्र्याको झिल्को सल्किन्थ्यो। त्यसैले धेरैजसो त म सिविनको क्वार्टरमा पुगिरहन्थें। उसको घर त्यहीँ थियो। उसको बुबा सिविनको हाकिम हुनुहुन्थ्यो। उसको एउटा दाई र बहिनी थिई।

मैले लामो समयपछि थाहा पाएँ उसको दाइ बाइक दुर्घटनामा बितेको कुरा। आलो दुखाइ त थिएन। मैले सहानुभूति मात्र जनाएँ। उसको आमाको रेसिपी मिठो थियो। स्कुलमा हाफ टाइम हुदाँ कहिलेकाँही ऊसँगै पुरी र दही खान उसको घर पुग्थेंं। त्यसबेला मलाई प्लेटसँगै उसको आमाको हात चाटुँ झैं लाग्थ्यो। 

छुकर मेरे मनको किया तुने क्या इसारा
बदला ए मौसम लगे प्यारा जग सारा

तु जो कहे जीवन भर (तेरे लिए मे गाउँ) २
गीत तेरे बोलोपें (लिखता चला जाउँ) २
मेरे गीतोपें तुझे ढुढें जग सारा
छुकर मेरे मनको किया तुने क्या इसारा

म साइकल चढेर एक्लै एक्लै औद्योगिक क्षेत्र चक्कर लाउँथे। काँईयो फूलतिर आँखा पुर्‍याउँथें। ओठले तराना फिल्मको किशोर कुमारको लय पव्रिmन्थ्यो। प्रेम जो भएको थियो। अँ प्रेम आफैं हुँदो रहेछ। गर्छु भनेर भएकै होइन। दैन्दैनिको सामिप्यता, पारिवारिक स्नेह, उसको म प्रतिको केयरिङले प्रेम भयो, ऊसँग। प्रेम आदत त रहेछ। मलाई उसको आदत भयो। तर उ त अर्कै अर्कै गीत गुन्गुनाउँथी। 

मेरे हातोंमे नौ नौ चुडिया है
थोडा ठहरों सजन मजबुरिया है

उ हातभरि आमाको चुरा लगाउँथी। सलले अनुहार ढाक्थी। कोठाको ढोका बन्द गर्थी। अनि चाँदनी फिल्मको श्रीदेवी स्टाइलमा लिजेन्ड लता मंगेशकरको आवाजमा छम्छम् गर्दै नाच्थी। ऊ साजन चाहन्थी। म सजनी थिएँ। ऊ थिई, मेनुका श्रेष्ठ। स्वर्गकी मेनुका जस्तै। गोरी, लाम्चो काया, मेहंदी हालेको चिप्लो थाई कट कपाल। नङ विथआउट नेलपोलिस। म्याथमेटिक्समा अब्बल। साइन्सको उत्तोलक र घिर्नी कण्ठस्थ। भलिबल सटर। बहुआयामिक स्टेटस। उसलाई मन नपराउने कोही थियो होला र? तर ऊ विश्वामित्रको खोजीमा थिई, सायद। म विश्वामित्र थिइनँ। म त कक्षा ९ मा पढ्ने बिना माया थिङ थिएँ। मलाई मिडिल नेम उखेलेर फाल्न मन लाग्यो। पहिलोपटक बा देखेर रिस उठ्यो। माया किन जोड्नपरेको होला? उफ्। उफ्। 

म भत्किएँ। चुपचाप। हृदयमा। कसैले थाहै पाएनन्। मेनुकाले पनि। थाहा पाएको भए के भन्थे होलान्। धत्। एउटी युवतीले युवतीलाई नै कसरी प्रेम गर्न सक्छ? प्रकृतिविरुद्ध जान मिल्छ? त्यसपछि म आँगनमै खसिजाने पारिजात भएँ। अहिले भए समलिङ्गी भन्थे होलान्। तर म समलिङ्गी थिइनँ। बस् ऊसँग प्रेम भयो। कुरा यत्ति हो। त्यसपछि मैले च्याप्टर क्लोज गरिदिएँ।

...............................
द इन्ड

साँगाला जिरमा व्हाइबरी म्हेन्दो, तोछा लासे बाबा छाइला झुल
ए ङाला दिमनाम ताला होई म्हेन्दो, चैतला बुलबुल सेम तुलबुल

चैतको अस्थिर मन। युवा उमेर। छटपटी। यो भावमा चन्द्रकुमार मोक्तान र निमा लामाको युगल गीत। तामाङ भाषाको सेलो घन्किरहेको हुन्थ्यो, म त्यहाँ पुग्दा। स्कुलमा शुव्रmबार हाफ छुट्टी हुन्थ्यो। त्यसपछि म एकजोर कपडा बोकेर विव्रmम टेम्पो चढ्थें। ३ रुपैयाँ भाडा तिरेपछि बजारमा ओरालिदिन्थ्यो।

म टिसिएन रोड हुदैं हेटौडा बसपार्क पुग्थें। बसपार्कको पूर्वपट्टिको हाइटमा उभिएको थियो दुई कोठाको सानो ढलान घर। मेरो गन्तव्य। गन्तव्यमा भेटिन्थे फुपू। अगाडिको कोठामा फुपूले चमेनागृह बनाउनुभएको थियो। त्यही चमेनागृहमा घन्किन्थ्यो तामाङ सेलो। एकाध ग्राहक त फुरुक फुरुक नाच्थे पनि। फुपूको फेभरेट गायक चन्द्रकुमार मोक्तान। म शुव्रmबार र शनिबार त्यहीं बस्थें। त्यहाँ बस्नुको मेरा केही स्वार्थ थिए। पहिलो स्वार्थ बजारमा भाडामा कँमिक्स पाइन्थ्यो। थोरै पैसाले पनि म कँमिक्स पसलमै बसेर धेरैभन्दा धेरै कँमिक्स पढन सक्थें। दोस्रो स्वार्थ शुव्रmबार र शनिबार राति ‘जी हरर’ सो आउँथ्यो। हाम्रोतिर त्यतिबेला केबललाइन जोडिएको थिएन।

त्यसबेला म बफ आइटम खान्नथें। मेरो लागि माछाको करी बोकेर आउँथ्यो विव्रmम। विव्रmम फुपूको छोरा। ज्ञानी थियो। आमाको आदेश थपक्क मान्थ्यो। कम बोल्थ्यो। आँखा भुइँतिरै गाडिबस्थ्यो। केटा मान्छे पनि अघोर लजाउँछ। मैले विव्रmमलाई देखेरै यो कुरा पत्याएकी थिएँ। खास लजाउनु मैले पथ्र्यो। फुपू मलाई बुहारी भन्नुहुन्थ्यो। स्त्रीसुलभ चरित्रले यही भूमिका माग गथ्र्यो। फेरि यो ठट्टा पनि त थिएन। फूपुलाई ठट्टा गर्नै आउँदैन थियो। ठट्टा त पटकपटक उहाँसँग भयो। पहिलो ठट्टा मेरा बाले छोरी नदिएर गर्नुभयो। दोस्रो ठट्टा फुपाजूलाई बिनाकारण टपक्कै टिपेर मृत्युले लग्यो। तेस्रो ठट्टा कुर्नै परेन। फुपुको असामायिक निधन भयो। 
 
मेरी फुपूले सशरीर कहिल्यै नभेट्नुभएको ज्योजो चन्द्रकुमार मोक्तानलाई अचेल म भेटिरहन्छु। फुपू त चन्द्रकुमारको फ्यान हुनुहुन्थ्यो। अहिले जस्तो स्रष्टा भेटघाट हुँदो हो त फुपूले पक्कै चन्द्रकुमार मोक्तानसँग सेल्फी हान्नुहुन्थ्यो होला। तर अब त सम्भावनै छैन। इट्स कल्ड द इन्ड। 

..............................
जिन्दगी एक सफर हे सुहाना
यहाँ कल क्या हो किसने जाना

 
वर्षौपछि, म हेटौंडा पुगें। अघिसम्म म चढेको टाटा सुमोमा बजिरहेको थियो किशोर कुमार। भोलि के हुन्छ कसलाई के थाहा? बाँच्ने त आजै हो नि। जिन्दगी सुन्दर छ। म सहमत हुँदैै ओर्लिएँ। ओहो ! घरहरूको घनत्व बढेछ। बसपार्कको आयतन पनि बढेछ। सडकपेटी चिल्ला भएछन्। बुद्धचोक अगाडि उभिएर आँखा डुलाएँ। अशोकका रुखहरू हरियो बाँचिरहेको देखें। मभित्र भित्रै खाँदिएर त यादहरू पो पहेंला भएका रहेछन्। उफ ! यादहरू। अब म यादहरूलाई अक्षरमा सिञ्चित गर्न चाहन्छु। वास्तवमै म हरियो बाँच्न चाहन्छु।

प्रकाशित: २३ चैत्र २०७५ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App