४ वैशाख २०८१ मंगलबार
राजनीति

मुख्यमन्त्री राहत कोषमा ४ करोड ११ लाख

वीरगन्ज- प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा शनिवार बिहानसम्म चार करोड बढी रुपैयाँ संकलन भएको छ। गत आइतबार साँझ आएको बिनाशकारी हावा हुण्डरीमा क्षतिग्रस्त बनेका गाउँहरुका प्रभावित बासिन्दाहरुको सयोगका लागि उक्त सहयोग बिभिन्न दाताबाट प्राप्त भएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले बताए।

बिनाशकारी हावा हुण्डरीमा मानवीय क्षति भएको परिवारलाई सहयोग, घाइतेहरुको स्वाथ्य उपचार र भौतिक क्षतिको पुर्ननिर्माणमा ठूलो लगानीको आवश्यक्ता महसुश गरिएको छ। यस्तोमा बिभिन्न दाताहरुले मुख्यमन्त्री राहत कोषमा सहयोग प्रदान गर्न लागेका हुन्। प्रदेश ३, ५ र कर्णालीका सरकारले एक करोड रुपैयाँको दरले मुख्यमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराउने शुनिश्चि भएको छ। अरु बिभिन्न संघ संस्थाले सहयोग दिने घोषणा गरेका छन्। ‘घोषणा गरिएका सहयोग रकम मुख्यमन्त्री राहत कोषमा आउने क्रम जारी छ,’ यादवले भने, ‘प्रदेश सरकारहरुको सहयोग रकमसँगै अन्य दाताहरुबाट उठेका एक करोड ११ लाख रुपैयाँ भन्दा बढी रकम पनि प्रप्त भएको छ।’

यसैबीच त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ किर्तीपुरले आबद्ध कर्मचारीहरुको एक दिनको तलब बराबरको रकम शनिवार बिहान कोषलाई दिएको छ। वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको सभा कक्षमा संघका केन्द्रीय अध्यक्ष भोजराज राउतले मुख्यमन्त्री राउतलाई दश लाख ८२ हजार १ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरे।

यस अघि शुक्रबार एमबिकेडिया सेवा ट्रष्टले मुख्यमन्त्री गद्दीलाई ११ लाख रुपैयाँ बराबरको चेक सहयोग स्वरुप उपलब्ध गराएको छ। परवानीपुर स्थित ट्रष्टको कार्यालयमा उक्त चेक लिदै मुख्यमन्त्री राउतले हावाहुरी प्रभावितका लागि यथासक्दो छिटो घर बनाउने बताए। नेपाली सेना मार्फत प्रभावितको घर बनाउने संघीय सरकारसँग कुराकानी भइरहेको उनले जानकारी दिए। भत्केका घरहरु पुर्ननिर्माणका सम्बन्धमा सेनासँग गराउँदा उपयुक्त हुने प्रधानमन्त्रीले केपी शर्मा ओलीको भनाई रहेको उनले बताए। मुख्यमन्त्री राहत कोषमा जम्मा भएको रकम समेत पीडितहरुको घर निर्माणका लागि सेनालाई दिइने उनले जनाए।

प्रकाशित: २३ चैत्र २०७५ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App