coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

खाने कसरी, पिउने कसरी?

आहार औषधि हो र औषधि नै आहार हो।
भाइबहिनी! हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हो र मिलाएर खान नजाने खाना नै विष बन्छ। हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको खानाले शरीरलाई हानि गर्छ। शरीरमा हुने अधिकांश स्वास्थ्य समस्या खान र पिउन नजान्दा हुन्छ। त्यसैले सधैं उचित खाना खानु पर्छ।

मापदण्ड शरीर– खाना उचित के हो र अनुचित के हो भनेर जाँच्ने संसारको सबैभन्दा ठूलो ल्याब हाम्रो शरीर हो। खाएको खाना मिलेनमिलेको, बढी भए नभएको, रोग लागेको शरीरमै देखा पर्छ। त्यसैले खाना उचित वा अनुचित छुट्टयाउने मापदण्ड पनि शरीर नै हो। जुन खाना खाँदा शरीरले सजिलै पचाउन सक्छ त्यो खाना उचित हो भने जुन पचाउन गाह्रो हुन्छ त्यो अनुचित हो।

पच्न सजिलो खाना– सबै खाले अप्रशोधित भएका एक दलीय र दुई दलीय अन्नहरू जस्तै चामल, मकै, गहुँ, कोदो, फापर, दाल, गेडागुडी आदि पूर्ण अन्नहरू सजिलै पच्छन्। सबै खाले हरिया सागसब्जी, तरकारी जस्तै रायो साग, चम्सुर साग, मेथी साग, परवल, हरियो सिमी, हरियो बोडी, ब्रोकाउली लगायत पात भएका र पात नभएका हरिया तरकारीहरू। प्रकृतिको चुल्होमा पाकेका सबै खाले फलफूल सुपाच्य हुन्छन्।

पच्न गाह्रो खाना– मैदाबाट बनेका सबै खानेकुरा जस्तै केक, बिस्कुट, पाउरोटी, चाउचाउ, मम आदि पचाउन गाह्रो हुन्छ। माछा, मासु र अन्डाबाट बनेका, दूध र दूधबाट बनेका खाने कुरा पच्न गाह्रो हुन्छ। त्यसै गरी जंकफुड, प्याकेट बनाएका खानेकुरा, पानीपुरी कृत्रिम जुसहरू स्वास्थ्यका लागि लाभदायक हुँदैनन्। यस्ता खानामा शरीरलाई चाहिने रेशा (छोक्राबोक्रा) हुँदैनन्।

त्यसैले सधैं स्वस्थ रहन शरीरले पचाउन सक्ने खाना खानुपर्छ। स्वस्थ रहन के खाना कति र कसरी खाने भन्ने बुझ्नु अगाडि एउटा उदाहरण – हामी सबैले मोटरबाइक र गाडी देखिरहेका छौं। बाइक चलाउन पेट्रोल राखिन्छ। पेट्रोलको साटो तेल वा पानी राखेमा त्यो चल्दैन। त्यसैले हामी बाइकमा पेट्रोलबाहेक अरू चिज राख्दैनौं।

हाम्रो शरीर पनि मोटरबाइक जस्तै मेसिन हो। ठिक चिज राखेमा राम्रोसँग पाचन क्रिया अघि बढ्छ, बेठिक खाएमा पचाउन गाह्रो हुन्छ। बाइक बिगे्रमा अर्को किन्न सक्छौं तर एक पटक शरीर बिग्रियो भने पैसा तिरेर किन्न सकिंदैन। त्यसैले रोग लाग्न नदिन र लागेको रोगबाट मुक्त हुन सधैं खाना मिलाएर खानुु पर्छ।

हामी प्रकृतिका सन्तान हौं। जति प्राकृतिक खाना खान्छौ, जति प्रकृतिको नियमसँग नजिकिन्छौ उति स्वस्थ हुन्छौं। पकाइएका खानेकुराभन्दा प्रकृतिकै चुल्होमा पाकेका काँचो खानेकुरा शरीरमा सजिलै पच्छ। हाम्रो शरीर पनि काँचै खान सक्ने क्षमताको हो। उहिल्यै मान्छेहरू कन्दमुल मात्र खाएर बाँच्थे। आगोको आविष्कार भएसँगै पकाएर खाने चलन आयो।

त्यसैले स्वस्थ रहन पकाइएका अन्न, हरिया सागसब्जी र काँचो खाने कुरा मिलाएर खानु पर्छ।

पकाइएको अन्न एक भाग, पकाइएको हरियो तरकारी एक भाग र काँचो सलाद एक भाग अर्थात् तीन बराबर आहार खाँदा शरीरलाई चाहिने आवश्यक तत्व प्राप्त हुन्छ । यसमा पाचन प्रक्रियाका लागि चाहिने रेशा (छोक्रा/बोक्रा) पनि हुने भएकाले सजिलै पच्छ।

खाना, सागसब्जी र फलफूल कति मात्रामा खाने भन्ने कुरामा प्रायः मान्छे अलमलमा छन्। प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठले स्वस्थ रहन यी खाना कसरी र कति मिलाएर खाने भनेर सजिलो शुत्र प्रस्तुत गर्नुभएको छ। यसलाई ‘तीन बराबर आहार’ भनिन्छ।

तीन बराबर आहार– तीन बराबर आहार भन्नाले पकाइएको अन्न एक भाग, पकाइएको हरियो तरकारी एक भाग र काँचो सलाद एक भागको बरोबर मिश्रण हो। हामीले खाने प्रचलित खानामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन्स, क्याल्सियम, मिनिरर्लस् आदि हुन्छन्। तीन बराबर आहारमा एक दलीय अन्नहरूमा कार्बोहाइड्रेट, दुई दलीयमा प्रोटिन, हरिया तरकारी र फलफूलमा शरीरलाई चाहिने भिटामिन, मिनिरल्स, क्याल्सियम जस्ता चिज प्रशस्त हुन्छ। साथै शरीरका लागि चाहिने रेशा (छोक्राबोक्रा) पनि हुन्छ।

अन्नको मात्रा–अप्रशोधित र कम प्रशोधित भएका एक दलीय अन्नहरू जस्तै नफलेको चामल, चोकरसहितको पिठो, खैरो चामल, आँटा, ढिँडो, च्याँख्ला आदि र दुई दलीय दाल, गेडागुडी आदि पूर्ण अन्न हुन्। यिनीहरूमा कार्बोहाइड्रेट पाइन्छ। यो आलु, पिँडालु, तरुल, सखरखन्ड र गुलिया फलहरूमा पनि पाइन्छ। यसले शारीरिक गतिविधि संचालन गर्न शक्ति दिन्छ। यो चाहिनेभन्दा बढी खाएमा अपच भई बोसोका रूपमा परिणत हुन्छ, आवश्यकताभन्दा तौल बढ्छ। त्यसैले तीन बराबर आहारमा यी अन्नहरूको मात्रा एक भाग हुनु पर्छ।

हरिया सागसब्जी–हरिया सागसब्जी, तरकारी स्वस्थ रहन प्रकृतिको अत्युत्तम उपहार हो। तर आजकल मानिस सागसब्जीभन्दा बढी अरू नै प्रयोग गर्छन्। नतिजा कब्जियत हुन्छ र समस्या आउँछ। हरिया सागसब्जीमा आन्द्रा सफा गर्न चाहिने रेसा प्रशस्त हुन्छ। यसको दैनिक प्रयोगले शरीर सफा हुन्छ र हलुका हुन्छ। पात भएका हरिया तरकारी र पात नभएका हरिया तरकारी गरी दुई कचौरा हुनु पर्छ। हरिया सागसव्जीले बालबालिकामा आँखा तेजिलो हुने र जाँगरिलो गराउँछ।

सलाद– सबैभन्दा सजिलै पचाउन सक्ने प्राकृतिक आहार हो फलफूल। सामान्यत सलादमा मौसमअनुसारका फल खान सकिन्छ तर सबैभन्दा उत्तममा गाजर, स्याउ र गुलियो मौसम पर्छन्। सलाद खानापछि खानु उपयुक्त हुन्छ। खानापछि सलाद खाँदा खाना खाएपछि निस्कने एसिडिटीलाई समन गर्छ। खानाअगाडि र खानासँगै खाँदा सलादबाट हुनु पर्ने लाभ पूरा हुँदैन। सलाद खाँदा चपाईचपाई बिस्तारै खानु पर्छ। सलाद चिसो हुने भएकाले हतारहतार खाँदा तातो र चिसो नमिलेर पेट फुल्ने, डुम्म हुने समस्या हुन्छ। चपाईचपाई खाँदा दाँतको अभ्यास भई दाँत पनि बलियो हुन्छ। सलादको मात्रा करिब १०० देखि १५० ग्राम हुनुपर्छ।

यसरी मिलाएर खाएमा शरीरलाई चाहिने खाना पुग्छ, पाचनलाई चाहिने रेसा, छोक्राबोक्रा पनि हुन्छ र चाहिने रस पनि पुग्छ। तीन बराबर खाना दैनिक खाँदा दिसा सधैं खलास हुन्छ र शरीरमा फोहर जम्न दिँदैन। शरीरमा फोहर नजमेपछि  कब्जियत लगायत अरू समस्या आउँदैन।

बढी तौल भएकाहरूको तौल घटाउन तीन बराबर आहार अचुक विधि हो। बढी तौल भएकाले यो आहारलाई आवश्यकता अनुसार साविकको अन्नको मात्रामा २० देखि २५ प्रतिशत घटाएर हरिया तरकारी र सलाद बढाई पेटभरि खाएमा हप्ताको १ किलो तौल सजिलै घटाउन सकिन्छ।
तीन बराबर आहार स्वस्थ रहन प्राकृतिक नियम हो। यो सबैले सजिलै खान सकिन्छ तर समस्या भएकाले भने परामर्श लिएर मात्र खाना मिलाउँदा लाभदायक हुन्छ।

सामान्यतः खाना बिहान, दिउँसो र बेलुकी गरेर तीन छाक खाइन्छ। तर ध्यान के दिनु पर्छ भने एक पटक भारी खाना खाएपछि अर्को खाना करिब ४ देखि ५ घन्टा  फरकमा मात्र लिनुपर्छ। खाना खाँदा जहिले पनि चपाईचपाई खानु पर्छ। जति चपाएर खान्छौ त्यति -याल निस्कन्छ र भित्र पाचनलाई सजिलो हुन्छ। त्यसैले पाचनमार्गको पहिलो विन्दु मुखको राम्रो उपयोग गरौं।

पानी– पानी हाम्रो पाचनलाई चाहिने अति आवश्यक घटक हो। पानीले शरीर सफा गर्छ। पानीको उचित प्रयोगले मात्र पनि धेरै स्वास्थ्य समस्याबाट मुक्त हुन सकिन्छ।

पानी पिउने उचित विधि

  • बिहान उठ्नेबित्तिकै ३ देखि ४ गिलास लगभग १ लिटर मनतातो पानी पिउने । यसले आन्द्रामा जमेका फोहर निष्कासन गर्न मद्धत गर्छ ।
  • बालबालिकाले उमेरअनुसार १ गिलासदेखि २ गिलास पिलाउने। १३ वर्ष भन्दा माथिकाले ३ देखि ४ गिलास पिउने।
  • कुनै पनि ठोस आहार (खाना, खाजा)सँग पानी नलिने । ठोस आहार र पानीको अन्तर करिब १ घण्टा राख्ने । खाना खाजासँग पानी लिएमा पाचनलाई चाहिने -याल पातलो हुन्छ र कब्जियत हुन्छ ।
  • दिउँसो प्रतिघण्टा १/१ गिलासका दरले पानी पिउने । दिन लामोछोटो हेरेर बेलुकी ५/ ६ बजेसम्म पिउने।
  • बेलुकी खाना खाएको १ घन्टापछि एक गिलास मनतातो पानी पिएर सुत्ने ।

सामान्यत पानी चिसो  पिउनु उपयुक्त हुन्छ। तर पेट दुखेको, रुघाखोकी लागेको र ग्याँस बढेको अवस्थामा भने तातो पानी पिउने।

यसरी नियमअनुसार खाना, पानी मिलाएमा कब्जियत हुँदैन। कब्जियत नभएपछि बालबालिकामा उत्साह, जाँगर र उमंगका साथै बौद्धिक विकास हुन सहयोग पुग्छ।

भाइबहिनी हो! खाना मिले औषधि चाहिँदैन र खाना नमिलेमा औषधिले काम गर्दैन। हामी स्वस्थ्य भयौं भने मात्र सबै काम गर्न सक्छौं । त्यसैले सधैं उचित आहार खाऔं, स्वस्थ बनौं!  
(महर्जन प्रकृतिप्रेमी समूहसँग आबद्ध छिन्।)

प्रकाशित: २३ चैत्र २०७५ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App