संस्मरण

बन्दीपुरका यादहरू बोकेर

शनिबार, २३ चैत २०७५, १२ : १० रत्न प्रजापति

घुमफिरको कुरा उठ्नासाथ हामी विदेश सम्झन्छौं। थुप्रै खर्च गरेर विदेश पुग्छौं। तर थोरै खर्चमा आफ्नै देशका धेरै ठाउँ घुम्ने र नयाँनयाँ अनुभव बटुल्ने अवसरलाई भने हामी बेवास्ता गर्छौं।

घुमफिरको कुरा चल्दा हामीले बन्दीपुर घुम्न जाने निर्णय ग-यौं। कलेजका सहकर्मीमध्ये हामी एक दर्जन फागुन १७ गते बिहान ९ बजे बन्दीपुर प्रस्थान ग-यौं। हाम्रो टोलीमा विभिन्न जिल्लाका साथी थिए। एकजना इण्डोनेसियन (नेपालीसँग बिहे गरेकी) सहकर्मी पनि हुनुहुन्थ्यो। त्यसमध्ये आफू परियो भक्तपुरको रैथाने। बन्दीपुरका धेरै नेवार भक्तपुरबाट आएका हुन् भन्ने सुनेको थिएँ। सन् १७६८ मा राजा पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा भक्तपुरबाट भागेका केही नेवारले मलेरियामुक्त ठाउँसँगसँगै भारत–तिब्बत व्यापारिक नाकाको रूपमा बन्दीपुर रोजेको इतिहास पढ्न पाइन्छ।

भक्तपुरे भएका नाताले भक्तपुरे नेवार खोज्ने क्रममा संयोगले हामी बसेको ‘बन्दीपुर एडभेन्चर क्याम्प’ का दुई प्रोप्राइटर मध्ये एक आदित्य पिया भक्तपुरे नेवारको पछिल्लो पुस्ता रहेको थाहा पाउँदा खुशीले गदगद भएँ।

मौलिकता र स्वच्छता बन्दीपुर बजारको प्रमुख विशेषता। बजार सुन्दर र शान्त। बजारको बाटोभरि ढुंगा बिछ्याइएको रहेछ जहाँ सवारीसाधनलाई प्रवेश निषेध छ। त्यसैले धुवाँ, धुलो छैन। यद्यपी पर्यटकको चहलपहल भने कम छैन। घुम्दै गर्दा भक्तपुरको बजार घुमिरहेजस्तो अनुभूति भयो। नेवारी परम्परागत घर र सजावटले मन लोभ्याउँछ। टुँडालमा झुन्ड्याइएका मकैका झुत्ता, पाकेका फर्सी, रातो खुर्सानीको माला अनि घरभरि झुन्ड्याइएका मौलिक नेपाली सरसामानले विदेशीमात्रै होइन, नेपाली पर्यटक पनि ‘आहा..’ भन्छन्।

पर्यटन प्रवद्र्धनका लागि साहित्य अन्तर्गत दुई दिने ‘रामकोट–बन्दीपुर साहित्य यात्रा– २०७५’ मा सहभागी हुन आएका वरिष्ठ कवि तुलसी दिवससँग बजारमै भेट भयो। नेपालकै पुरानो पुस्तकालय मध्येको एक श्री बन्दीपुर पद्म पुस्तकालय (२००१ साल पुस २७ गते स्थापित) को हीरक जयन्तीका अवसरमा आयोजित ‘मूलबाटो’ स्मारिकाको विमोचन समारोहमा अर्का कवि मोहनबहादुर कायस्थलाई पनि देखेँ। तर साथीहरूको टोलीमा हिँडेको हुँदा आफू साहित्यिक अनुरागी हुँदाहुँदै पनि उक्त सम्मेलनमा सहभागी हुन सकिएन। एउटा अपूर्व अवसर गुमेकोमा मलाई थकथक लागिरह्यो।

हिँड्ने बेला हामीले सोध्यौं, ‘बन्दीपुरको चिनोका रूपमा लाने चीज के छ ?’ केही बेर घोरिएर उनले भने, ‘यादहरू।’ त्यहाँबाट चिनोका रूपमा लिएर आउने स्थानीय विशेष उत्पादन केही थिएन। अपसोच यसैमा रह्यो।

भक्तपुरे नेवारी शैलीमा बनेका घरहरूले भक्तपुरकै झझल्को दिइरहेका छन्। समयको परिवर्तनसँगै आधुनिक शैलीका घर बन्ने होडले बन्दीपुरलाई छोपे पनि बजार क्षेत्रमा भने पुराना र नेवारी शैलीका घर बाँकी छन् र पुराना घर भत्काएर नयाँ पनि नेवारी शैलीमै बनाइएका छन्। यसमध्येको एउटा हो ‘बन्दीपुर छेँ’। नेवार समुदायको बसोबास हुनुअघि बन्दीपुरमा मगरको बस्ती थियो भनिन्छ। अहिले नेवार, मगर, बाहुन, क्षेत्री, गुरुङ आदिको साझा फूलबारी बनेको छ। बजार क्षेत्रमा भने नेवारकै बाहुल्य छ।

जातीय विविधताले बन्दीपुर रंगीचंगी फूलबारीजस्तै देखिन्छ। प्यागोडा शैलीमा बनाइएका घरहरूको लहर देख्दा मनमा छुट्टै आनन्द प्राप्त हुन्छ। प्राचीन नगरी भक्तपुरमा यस्ता घर हराउँदै गए पनि बन्दीपुरले त्यस्ता घरहरूको संरक्षण गरिरहेको देखेर बन्दीपुरप्रति गर्व पनि लाग्छ।

एकताका पश्चिम भेगको व्यापार केन्द्रका रूपमा रहेको बन्दीपुरको दुर्दिन पृथ्वी राजमार्ग बनेपछि सुरु भएको स्थानीय बताउँछन्। राजमार्गको निर्माण र सदरमुकाम दमौली स्थानान्तरणसँगै बन्दीपुर ओझेल पर्दै गयो। व्यापार व्यवसायको आडमा बढेको चहलपहल विस्तारै व्यापार व्यवसाय कम हुन थालेपछि यहाँका व्यवसायी नजिकको नारायणगढ, दमौली, पोखरा र काठमाडौं सर्न थाले। त्यसपछि बन्दीपुर सुनसानजस्तै बन्न पुगेको थियो। पृथ्वी राजमार्ग नबन्दासम्म यो पश्चिम पहाडको मुख्य व्यापारिक नाकाको रूपमा थियो। पश्चिमका जिल्लाहरू तनहुँ, कास्की, लमजुङ र गोरखाका लागि दक्षिणबाट मालसामान ल्याउने र पहाडी भेगबाट मालसामान दक्षिण पठाउने मुख्य थलोका रूपमा यो नाकाको विकास भएको मानिन्छ।

बन्दीपुरमै जन्मी हुर्केका चीजकुमार श्रेष्ठ, सन्तकुमार श्रेष्ठ र मदनकुमार पियाको सक्रियतामा बन्दीपुरले पुनर्जीवन पाएको बन्दीपुरवासी सगर्व सुनाउँछन्। हाल पर्यटकीय थलोका रूपमा परिचित हुन थालेको बन्दीपुर तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका– ४ मा पर्छ। विगतमा बन्दीपुर तनहुँको सदरमुकाम थियो, ०२५ सालमा सदरमुकाम दमौली सारियो।

बन्दीपुरको सहरी संरचना साँढे दुई सय वर्ष पुरानो मानिएको छ । यहाँबाट देखिने हिमाली सौन्दर्यले बन्दीपुरलाई थप आकर्षक बनाएको छ। बजारबाट दश मिनेट परको टुँडिखेलबाट विभिन्न हिमालको सौन्दर्य अवलोकन गर्न सकिन्छ। यसैगरी हाल बन्दीपुर एडभेन्चर क्याम्प रहेको मणिमुकुन्द सेनको गढीबाट सिधा उत्तरमा हेर्दा मनास्लु हिमचुली आँखैसामु देख्दा मन प्रफुल्ल हुन्छ। त्यसको पूर्वपट्टि गणेश र लाङटाङ हिमाल अनि पश्चिमपट्टि अन्नपूर्ण र धौलागिरी देख्न सकिन्छ। तीन सय साठ्ठी डिग्रीको कोणमा चारैतर्फ हेर्न सकिन्छ। यसैगरी यहाँबाट तलतिर मस्र्याङ्दी नदीले बनाएको उपत्यका पनि छर्लङ्ग देख्न सकिन्छ। मंसिरतिर बन्दीपुर जाने हो भने स्थानीय जातको सुन्तलाको मज्जा लिन पाइन्छ। हामी भने सुन्तला खान नपाए पनि धेरै अघि सुनेको ‘घर त बन्दीपुर सुन्तला टिपेर खाउँला भन्ने सुर...’ गीत गुनगुनाएर रमायौं।

पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अनुसार काम हुन थालेपछि बन्दीपुरले पुनर्जीवन पायो। पहिलेको व्यापारिक नगरी बन्दीपुर अचेल पर्यटकीय नगरीका रूपमा चिनिन थालेको छ। बन्दीपुरलाई पर्यटकीय केन्द्रका रूपमा संसारभर चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित होमस्टे, होटल, रिसोर्टलगायत पर्यटन परियोजनाका कारण विगतको व्यापार केन्द्र अहिले पर्यटक केन्द्र बन्न सफल भएको छ। क्याप्टेन रुद्रमान गुरुङको सक्रियतामा पहिलो पटक २०५४ सालमा स्याङ्जाको सिरुवारीबाट होमस्टे सुरु गरिएको थियो। पछिल्लो समय निकै फस्टाएको होमस्टेलाई व्यवस्थितरूपमा सञ्चालन गर्ने हो भने बन्दीपुर र आसपासका गाउँमा ग्रामीण पर्यटन फस्टाउन सक्छ।

नेवारी संस्कृति, हिमालको दृश्यावलोकन र हाइकिङ बन्दीपुरका विशेषता। बजारबाट गुरुङचेडाँडा, बाहुनभञ्ज्याङ, झारागाउँ हुँदै ताकमारेको डाँडा, छिम्केश्वरी, रामकोट, हिलेखर्क, बाघथलासम्मको हाइकिङ गर्न सकिने जानकारी बन्दीपुर एडभेन्चरका प्रोप्राइटर उत्सव सापकोटाले दिए । रामकोटमा गत भदौदेखि होमस्टे सुरु भएपछि यहाँ पनि चहलपहल सुरु भएको छ।

बजारबाट भानु माविको प्रवेशद्वारसँगैको बाटो भएर आधा घन्टा ठाडो उकालो उक्लेर थानीमाई डाँडामा पुग्न सकिन्छ। यहाँबाट सूर्यास्तको निकै रमाइलो दृश्य देखिन्छ। हामी भने ठाडो उकालोमा फलामको रेलिङ समात्दै ठसठस कन्दै झन्डै पौने एक घन्टामा बल्ल थानीमाई डाँडामाथि पुग्यौं। हामी पुग्दा एक हुल चिनियाँ हिमाललाई पृष्ठभूमि बनाएर फोटो खिच्न व्यस्त थिए। अस्ताउँदो सूर्यलाई हेरेर उनीहरू रमाए। हामी पनि रमायौं।

बन्दीपुरका घुम्ने मुख्य ठाउँमा बन्दीपुर बजार, टुँडिखेल, थानीमाई अर्थात् पुरानो कोट, तीनधारा, रामकोट, रानीवन, सिद्धगुफा आदि हुन्। यसबाहेक बजारमै रहेको खड्गदेवी, बिन्दवासिनी, महालक्ष्मी मन्दिर आदि पनि दर्शनीय छन्। पर्यटकीयस्थलका रूपमा विकास गर्ने सोचले काम गरेको भनिए पनि बन्दीपुर बजार घुम्न एकछिन मात्रै लाग्छ। एकछिनको भ्रमणलाई एक दिन वा दुई दिनको बनाउन बन्दीपुरले धेरै पर्यटकीय आकर्षणका सेवा तथा सुविधा विस्तार गर्नुपर्ने देखिन्छ। पर्यटकहरू एकैछिन बजार घुमेर फर्कने हो भने बन्दीपुरले पर्यटकबाट धेरै लाभ लिनसक्ने सम्भावना कम छ।

बन्दीपुर बजारमा धेरै समय बस्ने र हेर्ने तथा घुम्ने ठाउँ नभएकाले बन्दीपुर पुगेको भोलिपल्ट बिहानको नास्ता खाएर सिद्धगुफा हेर्ने निर्णय ग-यौं। सोहीअनुसार फागुन १८ गते बिहान ९ बजे हामी सिद्धगुफातर्फ हिँड्यौं।

हिँड्ने बेला प्रोप्राइटर सापकोटालाई सोध्यौं, ‘बन्दीपुरको चिनोका रूपमा लाने चीज के छ?’ केही बेर घोरिएर उनले भने, ‘यादहरू।’ साँच्चै हामी बन्दीपुरका केही याद बोकेर त्यहाँबाट हिँड्यौं। चिनोका रूपमा लिएर आउने स्थानीय विशेष उत्पादन केही थिएन। अपसोच यसैमा रह्यो। पर्यटन प्रवद्र्धनका लागि अब पर्यटकले चिनोका रूपमा लान सक्ने स्थानीय उत्पादन वृद्धिमा पनि जोड दिनुपर्छ है!

हामीसँगै पथप्रदर्शकका रूपमा थिए क्याम्पका नीरज भाइ। नीरजलाई पछ्याउँदै हामी जंगलको ओरालो झ-यौं। ढुंगामा चिप्लिएर भीरबाट खस्ने डरले सजग भएर हिँड्यौं। ठाउँठाउँमा फलामको रेलिङ पनि थियो। त्यही समात्दै हिँड्यौं। पौने घन्टामा पुगिन्छ भनेको सिद्धगुफा पुग्न हामीलाई डेढ घन्टा लाग्यो।

लेखक जोसेफ बिन्डलसले सिद्धगुफालाई नेपालकै ठूलो र दक्षिण एशियाको दोस्रो ठूलो गुफा भनेर लेखेका छन्। करिब ४३७ मीटर लम्बाई र न्यूनतम ४ मीटरदेखि अधिकतम ५० मीटरसम्म उचाइ रहेको गुफाभित्र २५ सय मानिस अटाउनसक्ने जोसेफले लेखेका छन्। ०४४ साल चैत १३ गते शनिबार स्थानीय चन्द्रबहादुर थापामगर, दूर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालयका शिक्षक वारेन्ट क्वाड्रससहितको समूहले गुफा पत्ता लगाएको थियो। गुफा करिब ३५ सय वर्ष पुरानो मानिएको छ।

प्रतिव्यक्ति २० रुपियाँको टिकट र गाइडको दुई सय रूपैयाँ शुल्क बुझाएर टर्चलाइट र मोबाइलको टर्च बालेर हामी गुफाभित्र पस्यौं। पहिलो पटक गुफाभित्र पसेको म खुसी र आश्चर्यले चकित भएँ। टिभीको पर्दामा मुश्किलले ढुंगाको कापबाट मान्छे छिरेको दृश्य हेर्दै आएकाले त्यस्तै अनुमान गरेर गुफा हेर्न पुगेको म, सिद्धगुफाको संरचना हेरेर छक्क परेँ। वर्षौंदेखि चुनढुंगा पग्लिएर निकै ठूलो आकारमा फैलिएको गुफाको भित्री भागमा विभिन्न आकारका आकृति सिद्धहस्त कलाकारले कुँदेका मूर्ति भन्दा कम थिएनन्। गुफाभित्र श्रीपेच, बाघ, हाँस, कुखुरा, शंख, नाग र सबैभन्दा अग्लो भित्तामा रहेको सिद्धबाबाको आकृति हेरेर हामी दंग प-यौं।

हामी बाहिर निस्कँदा दुई जना विदेशी गुफा हेर्न तयार थिए। अलि तल आइपुग्दा काठमाडौंबाट शिक्षकसँगै एक हुल विद्यार्थी स्याँस्याँ गर्दै उकालो चढ्दै थिए।

यसैगरी हाम्रा प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदा भएका ठाउँमा  विद्यार्र्थी, खोजकर्ता र सर्वसाधारणलाई आकर्षित गर्ने हो भने आन्तरिक पर्यटन प्रवद्र्धन हुनेछ। साथै देशका प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षणमा पनि टेवा पुग्नेछ। अनि समग्रमा देशको पर्यटन प्रवद्र्धन हुनेछ। यसरी देश समृद्धशाली बनाउन सकिन्छ।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad