४ वैशाख २०८१ मंगलबार
समाज

एउटै गाउँबाट १६ थान भरुवा बन्दुक बरामद

धादिङ - जिल्ला प्रहरी कार्यालय धादिङले एउटै गाउँबाट १६ थानसम्म अवैध हतियार बरामद गरेको छ। ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ थालेको प्रहरीले जिल्लाको उत्तरी क्षेत्रमा पर्ने खनियाँबास गाउँपालिकाबाट उक्त मात्रामा हतियार फेला पारेको हो। 

उक्त गाउँपालिकामा विविध सचेतनामूलक कार्यक्रम पनि चलाइएको धादिङका प्रहरी प्रमुख उपरीक्षक (एसपी) राजकुमार वैदवारले जानकारी दिए।

गृह मन्त्रालयमार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार २०७६ वैशाख ५ गतेसम्म बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो। पछि यस्ता अवैध विष्फोटक पदार्थ र हतियार राखेको भेटिए हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही गरिने एसपी वैदवारले बताए। 

 ‘विभिन्न सञ्चारमाध्यममार्फत अवैध हतियार बुझाउन अनुरोध गरेका छौँ’, एसपी वैदवारले भने, ‘स्थानीयले कुरा नबुझेका कारण हतियार बुझाउन डर मानेका रहेछन्, गाउँगाउँमा अभियान थालेपछि हतियार बुझाएका हुन्।’

धादिङ प्रहरीले सञ्चालन गरेको ‘समुदायमा प्रहरी अभियान’अन्तर्गत पनि गाउँमा लुकाएर राखेका हतियार संकलनमा सघाउ पुगेकोे धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए। ‘स्थानीय प्रशासन र प्रहरीले स्थानीयसँग रहेका अवैध हतियार सहज रूपमा कार्यालयमा बुझाउन सञ्चारमाध्यममार्फत सार्वजनिक सूचना जारी गरेको छ’, प्रजिअ पाण्डेले भने ‘अवैध हातहतिर संकलन घरदैलो अभियान’अन्तर्गत गरेका हौँ।’ 

अवैध हातहतियारका कारण सर्वसाधारणको ज्यान जाने क्रम बढेको भन्दै गृह मन्त्रालयले प्रत्येक जिल्ला प्रशासन र प्रहरी कार्यालयमामार्फत हतियार संकलन थालेको छ। 

गृहले ३५ दिने सूचना दिई नजिकैको प्रहरी कार्यालय वा सेनाको ब्यारेकमा अनिवार्य रुपमा त्यस्ता हतियार बुझाउन भनेको छ। साथै तोकिएको समयमा हतियार नबुझाए प्रचलित ऐनअनुसार कारबाही गर्ने पनि चेतावनी दिएको छ। 

कानून बमोजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजतपत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र त्यस्तो अवैध हतियार भएमा बुझाउन आग्रह गरेको छ। प्रहरीले जिल्लाको अन्य ठाउँहरूमा पनि अभियान संचालन गरेर हातहतियार बुझाउन अनुरोध गर्ने बताएका छन्। 

धादिङको उत्तरी क्षेत्रको खनियाँबास गाउँपालिकाबाट संकलन गरिएको अवैध भरुवा बन्दुक। 

प्रकाशित: २२ चैत्र २०७५ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App