काठमाडौं- प्रतिक्षित फिल्मको सूचीमा रहेको फिल्म 'जात्रा'को ट्रेलर सार्वजनिक भएको छ। निर्माण समूहले दुई दिनअघि सामाजिक सञ्जाल युट्युबमार्फत् ट्रेलर सार्वजनिक गरेको हो। करिब तीन मिनेट लामो ट्रेलरले फिल्म पैसाको पछि लाग्ने तीन युवाको कथा रहेको छनक दिन्छ।
आर्थिक अभाव झेल्दै राजधानीको असनमा सानोतिनो व्यापार गरिरहेका तीन युवाले एक्कासी ठूलो रकम भेट्टाएपछि उत्पन्न परिस्थिति फिल्मको मुख्य विषय रहेको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले बताए। फिल्ममा बानियाँ, विपिन कार्की र रविन्द्र झाले तीन फरक पेसा अँगालेका युवाको भूमिका निर्वाह गरेका छन्।
फिल्म प्रदिप भट्टराईले निर्देशन गरेका हुन्। महसञ्चारमा लामो समय सहायक निर्देशकको अनुभव सँगालेका प्रदिपको यो डेब्यु फिल्म हो। फिल्मको पटकथा समेत प्रदिप आफैंले लेखेका हुन्। फिल्ममा प्रकाश घिमिरे, वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रवीण खतिवडा समेत महत्वपूर्ण भूमिकामा देखिनेछन्।
षट्कोण पिक्चर्सको ब्यानर अन्तर्गत निर्मित फिल्ममा सिंगे लामा र यादव पौडेलको पनि लगानी रहेको छ। सुरुमा कात्तिक १९ गते प्रदर्शन मिति घोषणा गरेको फिल्म निर्माणले प्रदर्शन मिति एक साता पछि सारेर २६ गते पुर्याएको छ। यसअघि कात्तिक १९ गते 'द विनर' फिल्मले समेत प्रदर्शन मिति घोषणा गरेको थियो। अहिलेसम्म ठूलो बजेटका कुनै नेपाली फिल्मको प्रदर्शन मिति २६ गते घोषणा नभएकाले फिल्म निर्माणले मल्टिप्लेक्ससँगै सिंगल थिएटरमा पनि राम्रो सो पाउने सम्भावना रहेको छ।
प्रकाशित: २ कार्तिक २०७३ ०३:१० मंगलबार