७ वैशाख २०८१ शुक्रबार
अन्य

अतिक्रमित सार्वजनिक जग्गाबारे छानबिन गर्दैछौं

नवीन केसी, वडाध्यक्ष, बूढानिलकष्ठ नगरपालिका वडा नं ६

वडा अध्यक्ष भएपछि के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आएपछि पूर्वाधार विकासमा जोड दिँदै आइरहेका छौं। हामी आएको लगभग २२ महिना पुग्न लागिसक्यों। जनप्रतिनिधि भएर आएसँगै वडामा धेरै परिवर्तन भएको छ। हामीले विकास निर्माणको साथसाथै समाजिक सद्भाव राख्ने, स्थानीय स्रोतसाधनको उपयोग गर्दै वडाको समग्र विकासमा केन्द्रित हुदैं आइराखेका छौं। वडामा डेढ दर्जनभन्दा धेरै सडक ढलान ग-यौं। त्यस्तै ५ सय मिटरभन्दा धेरै सडक कालोपत्रे गरिसक्यौं। विभिन्न टोलमा सडक लगायतका पूर्वाधार निर्माण गरिरहेका छौं। खड्का गाउँमा ज्येष्ठ नागरिकको लागि पार्क निर्माण गरेका छौं। त्यो क्षेत्र ज्येष्ठ नागरिक भेला हुने मञ्चको रूपमा उपयोग भइरहेको छ।

तपाईंको वडामा ढलको समस्या कस्तो छ?
जनप्रतिनिधि निर्वाचित भएर आउँदा वडामा कतै पनि व्यवस्थित ढल थिएन। जताततै ढल छुताछुल्ल हुने अवस्था थियो। तर, हामी आएसँगै वडामा ढल निर्माणलाई विशेष प्रथामिकतामा राखेका छौं। अहिले वडाका लगभग सबै साना सडकमा ढल निर्माण सम्पन्न गरिसक्यौं। मुख्य सडकमा सहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले काम गरिरहेको छ। वडामा आगामी दुई वर्षभित्र सम्पूर्ण ढल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं।

तपाईंको वडामा खानेपानीको पनि उस्तै हाहाकार छ नि?
वडामा खानेपानीको चरम हाहाकार छ। माग अनुसारको खानेपानीको आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको समस्या भएको हो। आगामी केही वर्षभित्रै खानेपानीको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनेछौं।

वडाको नगरपरिषद्ले ‘एक घर, एक धारा’लाई नीति तथा कार्यक्रममा नै समावेश गरेका छौं बृहत् बूढानिलकष्ठ खानेपानी आयोजना अगाडि सारेका छौं। जुन आयोजना १४ करोड रूपैयाँको आयोजना हो। जसमा ८० लाख रूपैयाँ बजेट बिनियोजन भइसकेको छ। त्यसैले वडा कार्यालयले अघि सारेको योजनामुताविक नै  अगाडि बढाउनेछौं। बूढानिलकष्ठ क्षेत्रबाट महानगरतर्फ पठाइएको खानेपानीलाई मेलम्चीको पानी आएसँगै रोक लगाइनेछ।

वडामा धमाधम अवैध ढंगले जग्गा प्लटिङ भइरहेको छ,कसरी रोक्नुहुन्छ?
लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधीविहीन हुँदा अव्यवस्थित सहरीकरण र जभाभावी जग्गा प्लटिङ बढेकै हो। अब नगरपालिकाको मापदण्ड अनुरुप नै भवन, ढल निकास, सडक, विद्युत, सार्वजनिक खुला स्थल, खानेपानी लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ। अबदेखि मापदण्डविपरीत जग्गा प्लटिङ गर्नेलाई समेत कानुनी दायरामा ल्याएर अघि बढ्नेछौं। अहिले ११ फिटे र १३ फिटे मापदण्ड विपरीतका सडकले वडालाई व्यवस्थित गारउन समस्या भइरहेको छ।

तपाईंको वडामा सार्वजनिक जग्गा स्थानीयले अतिक्रमण गरिरहेका छन्, कसरी हटाउनुहुन्छ?
वडामा करिव डेढ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा छ। खोलाको आसपासमा पर्ने सार्वजनिक जग्गा स्थानीयले अतिक्रमण गरेका छन्। वडामा करिव ३–४ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ। वडा कार्यालयले मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिकाबाट नक्सा ल्याएर छानविनको तयारी गरिरहेका छौं। सरोकारवाला, नगरपालिका र वडाको समन्वयमा छानविन समिति गठन गरेर केही वर्षभित्रै सार्वजनिक जग्गालाई वडा कार्यालय मातहत ल्याउनेछौं।

अपांगता र वृद्धवृद्धाको लागि कस्तो योजना ल्याउनुभएको छ ?
नगरपरिषदबाट वृद्धवृद्धाको लागि छिटो र सहज ढंगले वृद्धाभत्ताको व्यवस्थापन गरेका छौं। त्यसको साथै वडाले उपलब्ध गराउने सेवामा अपांगता र वृद्धवृद्धालाई पहिलो प्रथामिकतामा राखेर सेवा प्रवाह गर्दै आएका छौं। हेल्थ पोस्टबाट वडामा रहेका ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहेका छौं। वडामा रहेका स्वास्थ्य स्वयसेविकाले पनि स्वास्थ्यसेवा उपलब्ध गराइरहेका छन्।

नगरपरिषद्बाट कस्ता योजना ल्याउनुभएको छ?
गत आवको नगरपरिषद्बाट वडाको लागि एक करोड ५० लाख रूपैयाँको बजेट विनियोजित भएको थियो। जसबाट ३५–३६ वटा योजना अघि सारेका थियौ। तीमध्ये अधिकांश योजना सम्पन्न भइसके। नगरपरिषद्बाट आएको बजेटबाट खानेपानी, बाटो, सडक बत्ती, ढल निकास, लक्षित समुदायका लागि कार्यक्रम अगाडि बढाएका थियौं। चालू आवमा दुई करोड रूपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेटबाट लगभग ५२ योजना अघि सारेका छौं। जुन योजनामा धमाधम काम अघि बढिरहेको छ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
वडालाई सुविधासम्पन्न वडा बनाउने मेरो पहिलो प्राथमिकता हो। त्यसको लागि व्यवस्थित सडक, ढल, विद्युत, खानेपानी, खुलास्थल, सुविधासम्पन्न स्वास्थ्य चौकी लगायतको पूर्वाधार बनाउनेछु। त्यसको साथै सामाजिक पुनर्मिलन, महिलामैत्री, वातावरणमैत्री र ज्येष्ठ नागरिकमैत्री वडा बनाउनेमा विशेष जोड दिनेछु।
प्रस्तुतिः हिमाल लम्साल

प्रकाशित: २२ चैत्र २०७५ ०८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App