७ वैशाख २०८१ शुक्रबार
अन्य

तरकारी बोकेरै बजार पुर्‍याउँछन् किसान

साँखुस्थित खुलालटारमा महिला केराउ केलाउँदै। तस्बिर: श्याम राई/ काष्ठमण्डप

साँखुस्थित खुलालटारका रमिला राई गत आइतबार जोरपाटी, नारायणटारमा तरकारी बेच्न ल्याउनको लागि तीन प्लास्टिक तरकारी लिएर बसमा चढ्नको लागि उनकै तरकारी बारी अगाडि गएर रोडमा बस कुरिन। आधा घण्टासम्म कुर्दा बल्ल साँखुको एउटा बस आयो। अब चाही छिट्टै पुगिने भयो भनेर खुसी हुँदै बस रोक्नको लागि हात दिइन्। तर, बस नरोकी गयो। उनी निरास भइन्। त्यो बस खाली नै थियो। त्यसपछि आधा घण्टा फेरी त्यही ठाउँमा बस कुरिन बल्ल बाबा गोकर्णेश्वरको बस आयो। हात दिई बसलाई। धन्न रोकिदियो। तरकारी हाल्न नदिएपनि फकाएरै बल्ल उनले तरकारीको प्लास्टिक बसमा हालेर जोरपाटी बजार पुर्‍याइन्। साँखुको बस रोक्न नमान्दा तरकारी जोरपाटी, नारायणटार लगायतमा पुर्‍याउन समस्या भएको उनले बताइन्। ‘आइतबार तरकारी पुर्‍याउनलाई पनि एक घण्टासम्म बस कुर्नु पर्‍यौँ। बल्ल साँखुको बस आए पनि नरोकी गयो गाडी नम्बर भने याद गरिनँ,’ उनले भनिन्, ‘तरकारी लाने जब दिन आउँछ कसरी बजारमा पुर्‍याउने भन्ने चिन्ता लाग्छ। हामीले तरकारीको भाडा पनि छुट्टै तिछौँ। तर, पनि रोक्न मान्दैन।’

उनका अनुसार गोकर्णेश्वरको बसको सहचालकले तीन प्लास्टिक तरकारीको भाडा एक सय ५० रूपैयाँ लियो। गाडी कुर्नमा धेरै समय खर्च भएकाले घरको अन्य काम रोकियो। गोकर्णेश्वरको गाडीले समय–समयमा रोके पनि साँखुको बसले कहिलै रोक्न मान्दैन। तरकारी लग्दाको भाडासमेत मनलागी भाडा असुल्ने गरेको उनले सुनाइन्। ‘गाडी नरोक्दा गुनासो गर्नलाई साँखुतिर ट्राफिक प्रहरी छैनन्,’ उनले भनिन्, ‘बल्लतल्ल बसमा चढ्यौ की सहचालकले मनलागी भाडा लिन्छ। बस नपाएर ट्याक्सीमा जाँदा एक हजार आउने तरकारीमा आठ सय टयांक्सी भाडामा खर्च हुन्छ। दुईसय लिएर फर्किनु पर्छ। यसरी तरकारी कृषक बाच्न सक्छौँ?’ बस नरोक्ने समस्याले गर्दा तरकारी ग्राहक घरमा पनि लिन नआएको उनले बताइन्। ‘पहिले तरकारी लिएर बेच्नको लागि ग्राहक आउँथे। अहिले तरकारी लानेबेलामा बस रोक्दैन। त्यसैले होला अहिले त ग्राहक आउनै छाडे।’

बीच बाटोमा सार्वजनिक बस नरोके पनि बसपार्कमा जाँदा समेत तरकारी बसमा राख्न नदिने गरेको तरकारी व्यापारीको गुनासो छ।

साँखुकोे तरकारी बारीमा भेटिएका नारायणटारका मति तामाङले साँखुको पुरानो र नयाँ बसपार्कमा तरकारी ल्याउनलाई त्यहाँ लगेपनि बसले चढाउन नदिने गरेको बताइन्। ‘म दैनिकजसो तरकारी किनिसकेपछि बीच बाटोमा रोक्दैन भनेर बसपार्कमै जान्छु,’ उनले भनिन्, ‘तर, तरकारीको झोला बसभित्र हाल्नै दिँदैन। तरकारी हाल्नुअगाडि नै कति भाडा दिने भनेर सहचालकले सोध्छन्। कहिले तरकारी बोकेरै लैजानुपर्छ। ’उनी दैनिक बिहानको खाना खाइसकेपछि तरकारी बेच्नको लागि नारायणटारबाट साँखुमा तरकारी लिन जान्छिन्। तरकारी ल्याएर जोरपाटी, नारायणटार बजारमा बेच्छिन्। तर, बसले तरकारी राखेर जोरपाटी पुर्‍याउन नमान्दा तरकारी ल्याउन सास्ती खेप्नु परेको छ। गोकर्णेश्वरको बसमा खाली भए तरकारी ल्याउन मान्छन् भने साँखुको बसमा खाली भए पनि तरकारी ल्याउन नमानेको उनले बताइन्। ‘सहचालकले एउटा तरकारी भारीको एक सय रूपैयाँ भाडा लिन्छन्,’ उनले भनिन, ‘कहिले बढी भाडा पनि दिनुपर्छ। हामीले यति धेरै भाडा दिँदा पनि तरकारी लान मान्दैनन्। जीवन निर्वाह गर्ने गाह्रो भयो!’

यी त दुई प्रतिनिधि पात्र मात्रै हुन्। हजारौँ कृषक र तरकारी व्यापारी यी समस्या झेल्न बाध्य छन्। तरकारीको भाडा तिरेकोले गोकर्णेश्वर बस र साँखुको बसले तरकारी ल्याउनलाई बस रोक्नु पर्ने तरकारी व्यापारी र कृषकको माग छ।

‘म दैनिकजसो तरकारी किनिसकेपछि बीच बाटोमा रोक्दैन भनेर बसपार्कमै जान्छु। तर, तरकारीको झोला बसभित्र हाल्नै दिँदैन। कहिले तरकारी बोकेरै लैजानुपर्छ।’

स्थानीयका अनुसार बाबा गोकर्णेश्वर र साँखुको बस यात्रु सेवाको लागि भन्दा पनि छिटो पुग्नको लागि प्रतिस्पर्धामा गुड्ने गर्छन्। कहिले दुई बस एक ठाउँमा भेट हुँदा ओभरट्याक गरेर जान खोज्छन् बस। साँखुको बसले गोकर्णेश्वर बसलाई साँखु, थली सडक रुटमा चल्न नदिन खोजिरहेका छन्। यी दुई बसको प्रतिस्पर्धाले बस नरोक्दा बिहानको समयमा कजेज समेत छुट्ने गरेको विद्यार्थी बताउँछन्।

साँखु बस व्यवसाय समितिका अध्यक्ष गोबिन्द श्रेष्ठले बस रोक्ने गरेको दाबी गरे। ‘हामीले सेवाकै लागि बस चलाएका हौं,’ उनले भने, ‘उनीहरूका लागि हामीले बस रोकिदिन्छौँ। धेरै तरकारी बोक्न मिल्दैन। यात्रुलाई सेवा दिने बस हो। तरकारी बोक्ने बस होइन।’ बस नरोक्ने गुनासो आएमा सबै चालक र सहचालकलाई जानकारी गराई बस रोक्न लगाएर सेवा दिने उनले बताए।

प्रकाशित: २२ चैत्र २०७५ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App