coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘सत्तारुढ पार्टीका शासक खराब हरुवा’

इस्तानबुलमा आफ्ना उम्मेदवारले विजय हासिल गरेको भन्दै विपक्षी सिएचपी दलले मंगलबार निकालेको -याली । तस्बिर: एजेन्सी

अंकारा– ‘इस्तानबुल हालका लागि दुई समानान्तर वास्तविकताको सहर हो।’

दैनिक पत्रकार सम्मेलन र आफ्नो ट्विटर बायोग्राफीमा इस्तानबुलका लागि विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सिएचपी)का तर्फबाट उम्मेदवार रहेका इक्रेम इमामोग्लुले बताएका छन्। उनले इस्तानबुलका लागि आफू नयाँ मेयर भएको समेत दाबी गरेका छन्।

देशको निर्वाचन बोर्डको प्रारम्भिक नतिजाअनुसार गत आइतबार सम्पन्न भएको स्थानीय निर्वाचनमा उनले २५ हजार मतले इस्तानबुलको मेयर पद जितेको देखिन्छ। तर सहरैभरी सत्तारुढ सत्तारुढ एके पार्टीले जितेको पोस्टर टाँसेका छन्। उनीहरुले वर्तमान राष्ट्रपति रेसेप तैयप एर्दोगान र एके पार्टीका इस्तानबुल उम्मेदवार पूर्वप्रधानमन्त्री बिनाली यिलदिरिम अंकित तस्बिर सहरैभरी टाँसेको बिबिसीले जनाएको छ। सो पार्टीले इस्तानबुलका जनतालाई धन्यवाद ज्ञापन गर्दै आफूहरुको जित भएको दाबीसहितको पोस्टर टाँस गरेका हुन्। इस्तानबुलको मत परिणाममाथि प्रश्न उठाउँदै सरकारले पुनः मतगणना गर्न आदेश दिएपछि सत्तारुढ एके पार्टीले आफ्नो जितको दाबी गर्दै पोस्टर टाँसेका हुन्।

टर्कीभर अधिकांश क्षेत्रमा सत्तारुढ एके पार्टीले जित हासिल गरेको भए पनि आर्थिक नगरी इस्तानबुल र राजधानी अंकारामा भने उनीहरुले पराजय भोगेका छन्। पराजय भोगे पनि सो नतिजालाई उनीहरुले स्वीकार गर्न सकिरहेका छैनन् र उनीहरुले आइतबारको निर्वाचनमा मतदाता संख्याभन्दा बढी मतपत्र भेटिएको र मत गणनामा समेत धाँधली भएको आरोप लगाएपछि देशको निर्वाचन बोर्डले इस्तानबुलका आठ जिल्लामा पुनः मत गणना गर्न आदेश दिएको छ।

कुनैबेला आफू पनि मेयरका रूपमा प्रतिस्पर्धा गरेको आफ्नो गृहनगर एवं आर्थिक पावरहाउस इस्तानबुलमा पराजय भोगेको विषय राष्ट्रपति एर्दोगान पनि मान्न तयार नरहेको जस्तो देखिएको बिबिसीले जनाएको छ।

‘यो भ्रद व्यवहार हैन,’ एके पार्टीको पोस्टरलाई इंगित गर्दै इस्तानबुलका लागि विपक्षी उम्मेदवार इक्रेम इमामोग्लुले बताएका छन्। ‘हामीसँग निर्वाचन बोर्डबाट प्राप्त नतिजा छ र हामीलाई थाहा छ यो निर्वाचनमा कसले जितेको छ,’ उनले बिबिसीसँगको अन्तर्वार्ताका क्रममा बताएका छन्।

‘मतदान केन्द्रभर भेटिएका अवैध मतले मत परिणाममा बदली भएको एके पार्टीले जनाएको छ। उसले यस्तो काम टर्कीको लोकतान्त्रिक इतिहासकै सबैभन्दा ठूलो मजाका भएको जिकिरसमेत गरेको बिबिसीले जनाएको छ।

‘एकेपीले भनेजस्तो म स्वीकार गर्दिन,’ विपक्षी उम्मेदवार इमामोग्लुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘हिजोसम्म सरकार र सत्तारुढ पार्टीले टर्कीमा एकदमै विश्वसनीय मत प्रणाली रहेको बताउँदै आएका थिए र हामीलाई धेरै नै तारिफ गरिरहेका थिए। मतदानको दिन १० लाख मानिस विभिन्न मतदान केन्द्रमा खटिएका थिए भने धाँधलीको कुरा कसरी हुन्छ,’ इमामोग्लुले प्रश्न गरेका छन्। ‘यदि कुनै शंकास्पद गतिविधि भएको थियो भने उनीहरुले त्यसलाई रेकर्ड गर्न सक्थे र लिखित प्रतिवेदन बनाउन सक्थे। सोही नै टर्कीको आधिकारिक प्रक्रिया हो,’ उनले बिबिसीसँगको अन्तर्वार्तामा बताए।

‘अहिले मैले भन्ने भनेको उनीहरुले आफ्नो कमजोरीलाई ढाकछोप गरिरहेका छन्,’ इमामोग्लुले बताए।

सत्तारुढ दलले अहिले लगाएको आरोप यसअघि उसले भन्ने गरेको प्रक्रियासँग बाझिएको छ। यसअघि सन् २०१४ मा भएको स्थानीय निर्वाचनमा विपक्षीले धाँधली भएको भनेर लगाएको आरोप सत्ता पक्षले अस्वीकार गरेको थियो।

त्यसैगरी सन् २०१७ मा भएको जनमत संग्रहमा राष्ट्रपति एर्दोगानको पक्षमा आएको तर आधिकारिक छाप नभएको मत पत्रलाई पनि देशको निर्वाचन बोर्डले आधिकारिक मानेको थियो।

त्यसबेला विपक्षी दलले यस्तो कदमको विरोध गरे पनि सरकारले त्यसलाई दबाएको थियो। इस्तानबुल, अंकार र अन्य कैयौं सहरमा पराजय भोग्नु भनेको १६ वर्षदेखि टर्कीमा शासन गरिरहेका एर्दोगानका लागि टर्निङ प्वाइन्ट हुने बताइएको छ। तसर्थ पनि सत्तारुढ एके पार्टीले इस्तानबुल र अंकाराको नतिजालाई अत्यन्तै महत्वका साथ लिएको छ।

प्रकाशित: २२ चैत्र २०७५ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App