७ वैशाख २०८१ शुक्रबार
विचार

युएईसँग आर्थिक सम्बन्ध

विदुरचन्द्र लामिछाने  
भर्खरै नेपाल लगानी सम्मेलन सम्पन्न भयो। सम्मेलनमा ४० देशबाट ६ सय २० लगानीकर्ताले भाग लिए। सम्मेलनका लागि सरकारी ५० सहित ७७ परियोजना ‘सोकेस’मा राखिएका थिए। जसमध्ये १५ वटा आयोजनामा सम्झौता भएको छ भने १७ वटामा प्रस्ताव आएको कुरा सार्वजनिक भएको छ। सम्मेलन कति सफल, कति असफल भन्ने कुरा सरकारको अबको निरन्तरताले देखाउनेछ।

तर सम्मेलन, नेपाल लगानीका लागि साँच्चिकै भोकाएको छ भन्ने बलियो सन्देश प्रवाह गर्न सफल भएको छ। समापन समारोहमा लगानी बोर्डका प्रमुख कार्यकारीले अन्तर्राष्ट्रिय लगानीकर्तासमक्ष नेपालमा लगानी गर्न आए विश्वस्तरको सहयोग गर्नेछौं भनी गरेको प्रतिवद्धताले त्यसलाई प्रतिबिम्बित गर्छ।

नेपालमा लगानी गरिरहेकाहरूले दोहोरो नाफा आर्जन गरिरहेको, राजनीतिक स्थायित्व रहेको, आर्थिक विकासमा सबै राजनीतिक दल एकमत रहेको, नीतिगत सुधार भएको, व्यवसाय गर्न संसारमै सजिलो देशका रूपमा रहेको, नाफा लैजान कुनै समस्या नभएको, सरकारी निकायमा पहुँच पाउन सहज रहेको, सरकारी अधिकारीले व्यवसायीका कुरा सुन्ने गरेको, प्रविधियुक्त प्रक्रिया अघि बढिरहेको, युवा अधिक भएको, जुनसुकै क्षेत्रमा लगानीको अधिक सम्भाव्यता रहेको मुलुकका रूपमा चिनिएको लगायतका अनुभव सम्मेलनका क्रममा नेपालमा लगानी गरिरहेकाहरू स्वयम्ले बताएका छन्। यसले नेपालमा लगानीको वातावरण कस्तो छ, स्पष्ट पारेको छ।  

अत्यन्त गर्मी हावापानी भएको युएई र सबै प्रकारका हावापानी पाइने नेपालबीच आर्थिक सम्बन्ध जोड्न सकियो भने दुवै देशका जनता लाभान्वित हुनेछन्।

सम्मेलनमा खाडी मुलुकमै दोस्रो ठूलो अर्थतन्त्र भएको युएईले नेपालमा लगानी गर्ने बलियो चाहना व्यक्त गरेको छ। सम्मेलनमा भाग लिन आएका त्यहाँका वैदेशिक व्यापार मन्त्रालयका अधिकारीले युएई सरकार र निजी क्षेत्र नेपालमा लगानी गर्न अति इच्छुक रहेको जानकारी दिए। उनले उठाएका महत्वपूर्ण केही मुद्दा जस्तोः देशमा राजनीतिक र आर्थिक स्थायित्व छ कि छैन तथा कर प्रणाली कतिको उदार छ लगायतका  विषयमा प्रधानमन्त्रीसहित सबै अधिकारीले प्रष्ट पारेका छन्।

त्यसैगरी विकासप्रति त्यस देशको दृष्टिकोण र व्यवसाय गर्ने वातावरण तथा लगानी गर्दाको प्रक्रियागत झन्झटका विषयमा युएईका लगानीकर्ताले राखेको जिज्ञासमा पनि नेपालका अधिकारीले यसमा सुधार गर्ने बताएका छन्। २०३३ माघ ९ गते दौत्य सम्बन्ध स्थापना भएको युएई नेपालका लागि महत्वपूर्ण श्रमिक गन्तव्य पनि हो। त्यहाँ २ लाखभन्दा बढी नेपाली काम गरिरहेका छन्। वर्षमा सय अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) त्यहाँबाट नेपाल भित्रने गरेको छ। अब युएईलाई श्रमिक गन्तव्यका रूपमा मात्र नहेरी नेपालको प्रमुख व्यापारिक साझेदार राष्ट्रका रूपमा हेरिनु पर्छ। युएई नेपालको तेस्रो मुख्य व्यापार साझेदार पनि हो। दुई देशबीच वार्षिक करिब ३० अर्ब बराबरको व्यापार हुन्छ।

युएईका अर्धसरकारी र निजी क्षेत्रले अन्य देशमा हालसम्म १ दशमलव ५ ट्रिलियन डलर वैदेशिक लगानी गरेको पाइन्छ। युएईले साउथ अफ्रिका, क्यानडाबाट बर्सेनि ठूलो परिमाणमा तरकारी, मासु, पानी लगायतका अत्यावश्यक वस्तु आयात गर्छ। दूरीका हिसाबले ती देशभन्दा नेपाल निकै नजिक पर्छ। करिब ५ घन्टाकै उडानबाट पुग्न सकिन्छ। त्यहाँ हामीले त्यस्ता वस्तु निर्यात गर्न सकिने सम्भावना प्रशस्त छ। त्यसैगरी लगानीका दृष्टिबाट पनि युएई संसारमै स्वदेशबाहिर लगानी गर्ने तेस्रो राष्ट्र हो। पर्यटकीय सम्भावना पनि छ। मध्यपूर्वबाट सबैभन्दा बढी देशबाहिर पर्यटनका लागि जाने गर्छन्। खर्च गर्ने दृष्टिकोणबाट पनि संसारमा सबैभन्दा बढी खर्च गर्नेमा मध्यपूर्वकै मुलुकका नागरिक पर्छन्। यहाँबाट पर्यटन आकर्षण गर्ने सम्भावना पनि प्रशस्तै छ। नेपालमा होटल, केबुलकार, फिल्म सुटिङ लगायतका क्षेत्रमा पनि लगानी आउन सक्छन्।

अत्यन्त गर्मी हावापानी भएको युएई र सबै प्रकारका हावापानी पाइने नेपालबीच आर्थिक सम्बन्ध जोड्न सकियो भने दुवै देशका जनता लाभान्वित हुनेछन्। भारत र चीनजस्ता ठूला अर्थतन्त्रका बीचमा भएकाले पनि नेपाल लगानीका लागि उर्वरभूमि रहेको कुरामा युएईले जोड दिएको छ। अर्को महत्वपूर्ण कुरा– आफूले लगानी गरेको मुलुकको अर्थतन्त्रमा योगदान र रोजगारी सिर्जनामा पनि युएईले ध्यान दिने सम्मेलनमा व्यक्त भएको छ। यो नेपालजस्तो मुलुकका लागि अत्यन्त खुसीको कुरा हो।

युएईबाट उठाइएका जिज्ञासाका सम्बन्धमा विश्लेषण गर्दा नेपालमा यतिखेर तीनै तहका सरकार बहुमतका साथ ५ वर्षका लागि बनेका छन्। कर प्रणाली उदार छ। यहाँ कमाएको नाफा सहज रूपमा लगानीकर्ताले आफ्ना मुलुकमा लानसक्ने सुविधा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन २०७५ को दफा २० ले स्पष्ट व्यवस्था गरेको छ।
निजी क्षेत्रसँग हालै भएको भेटवार्तामा युएईका लागि नवनियुक्त नेपाली राजदूतले देशभित्र लगानीको वातावरण बनाउन सक्यौं र यसबारे बुझाउन सक्यौं भने युएईबाट प्रशस्तै लगानी भिœयाउन सकिने सम्भावना रहेको विश्वास व्यक्त गरेका छन्। लगानीको वातावरण, नीतिगत सुधार लगायतका विषय बुझाउन सम्मेलनले सहयोग गरेको छ। युएई संसारकै महŒवपूर्ण व्यावसायिक केन्द्रका रूपमा विकास भइरहेको छ। हामीले त्यहाँको सरकारबाट मात्र होइन त्यहाँ रहेका अन्य बहुराष्ट्रिय कम्पनीहरूको लगानी पनि नेपालतर्फ आकर्षित गर्न सकिने सम्भावना छ।

यसरी हेर्दा नेपाल–युएईबीच आर्थिक सहकार्यका सम्भाव्यता व्यवहारमा रूपान्तरण गर्न सकिने प्रशस्त सम्भावना छ। सम्मेलनमा युएई सरकारका तर्फबाट यस विषयमा गहिरो अभिरूचि देखाइएको छ। यसका लागि सरकारले लगानी बोर्डको अगुवाइमा कूटनीतिक माध्यमबाट नेपाली दूतावासलाई परिचालन गरी तत्काल केही महत्वपूर्ण कदम चालिहाल्नुपर्ने देखिन्छ। यसका लागि सर्वप्रथम, त्यहाँस्थित राजदूतावासको सहयोगमा संयुक्त लगानीका लागि सम्भावित नेपाली तथा युएईका लगानीकर्ताहरूको सहभागितामा युएईलाई मात्र केन्द्रित गरी त्यहाँ एक दिनको विशेष लगानी सम्मेलन आयोजना गरियोस्। जसले हामीलाई छिटो परिणाम दिन सहयोग पुग्छ र हाम्रो चतुर कूटनीति पनि देखिनेछ। त्यसअघि दुई देशबीच द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षणसम्बन्धी सम्झौता (बिप्पा) र दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता (डिटिए) गरिनुपर्छ।

अर्को कुरा, नेपालबाट युएईमा कुन्–कुन् वस्तु के–कति निर्यात गर्न सकिन्छ र संयुक्त लगानीका सम्भावित क्षेत्रहरू के–के हुन सक्छन्, युएईसँग व्यापार व्यवसाय गरिरहेका समुदाय, दुवै देशका कूटनीतिक नियोग, गैर आवासीय नेपाली संघ, एफएनसिसिआई, कूटनीतिज्ञहरू समेतको सहयोगमा ठोस रणनीति तयार पार्नुपर्छ र सोही दस्तावजेका आधारमा संयुक्त लगानीेको पहल थाल्नुपर्छ। समग्रमा, लगानी सम्मेलनबाट सम्भावनाका धेरै ढोका खुलेका छन्। यसबाट नेपाल बाह्य लगानी भिœयाउन तयार छ भन्ने सन्देश विश्वमा गएको छ। युएईलगायतका केही देश र प्रमुख दातृ निकायहरूले लगानीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएर गएका छन्। अब बल हाम्रो ‘कोर्ट’मा आएको छ, गोल गर्न सक्यांै भने हामी सफल हुनेछौं। अन्यथा पछुताउनुबाहेक हामीसँग अरू विकल्प हुनेछैन।

प्रकाशित: २२ चैत्र २०७५ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App