७ वैशाख २०८१ शुक्रबार
खेल

दाउफिन्स फाइनलमा

बलका लागि संघर्ष गर्दै मेची नेत्रालय (सेतो) र दाउफिन्सका खेलाडी । तस्बिरः नागरिक

इटहरी– क्यामरुनी टोली दाउफिन्स क्लब सुनसरी दुहवीमा जारी तेस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

दुहवी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई ३–० ले हराउँदै दाउफिन्स पाँचौं उपाधिनजिक पुगेको हो।  क्यामरुनले खेल अवधिभर मेची नेत्रालयलाई दबाबमा राखेर एकपक्षीय खेल खेल्यो। सोही आधारमा दाउफिन्सले सहजै जित निकाल्यो। मेची नेत्रालयका खेलाडीले भने क्यामरुनका खेलाडीसामु अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। 

खेलको १०औं मिनेटमा क्यामरुनले अग्रता बनाउँदा ओनगुविन जे आरले गोल गरेका थिए। ३२औं मिनेटमा पेटनगाले अर्को गोल थपे। ३८औं मिनेटमा टिना टिनाले गोल गर्दै आफ्नो टोलीलाई ३–० ले अगाडि बढाए। क्यामरुनले अब फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीसँग शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

क्यामरुनका ओनगुविन जे आर म्यान अफ दी म्याच घोषित भए। उनलाई मोरङ बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी र दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले संयुक्त रूपमा नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरे। क्यामरुनका टोलीका प्रबन्धक आशिक थापामगरले आफ्नो टोलीको काउन्टर अट्याक खेल्ने रणनीति सफल हुँदा सहजै जित प्राप्त भएको बताए।

‘हाम्रा महत्वपूर्ण खेलाडी घाइते हुँदा पनि सोचेभन्दा राम्रो खेल खेल्न सफल भयौं,’ उनले भने, ‘सेमिफाइनलमा मिल्डफिल्ड कमजोरी भए पनि फाइनल प्रतिस्पर्धामा सुधारेर खेल्नेछौं।’ मेची नेत्रालय काँकडभिट्टाका प्रशिक्षक मीनबहादुर बस्नेतले गोलकिपरको कमजोरी र दुई विदेशी फरवार्डले फिनिसिङ गर्न नसक्दा हार बेहोर्नुपरेको बताए।

उनले लगातार प्रतियोगितामा भाग लिँदा आफ्नो टोलीका खेलाडीले आराम नपाउँदा पनि समस्या भएको बताए। एलेभन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेतालाई ६ लाख नगद र उपविजेतालाई तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: २२ चैत्र २०७५ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App