५ वैशाख २०८१ बुधबार
समाज

सगरमाथाको गाउँपालिका ‘खुम्बु’मा सडक

सोलुखुम्बु - सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङल्हामु गाउँपालिकामा सडक पुगेको छ। माप्य दुधकोसी गाउँपालिका हुँदै खुम्बु पासाङल्हामु गाउँपालिकाको खरिखोलासम्म पु-याइएको ‘सगरमाथा सडक’को हालै एक कार्यक्रमबिच प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

आगामी दुई वर्षमा चौंरीखर्कसम्म विस्तार गरिने सो सडकका लागि प्रदेश सरकारले बजेटको व्यवस्था मिलाउने मुख्यमन्त्री राईले प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण खुम्बुमा पर्यटकको आवागमन वृद्धि गर्न पनि चौरींखर्कसम्म सडक आवश्यक छ। त्यसमा प्रदेश सरकारले प्राथमिकताका साथ सहयोग गर्छ।’ सडकको पहुँच पुगेपछि आन्तरिक पर्यटक पनि ह्वात्तै बढ्नेमा आफू आशावादी रहेको उने बताए।

मुख्यमन्त्री राईले मौसम प्रतिकूल भएको बेलामा पनि पर्यटकलाई सडक यात्राका लागि सहज हुने गरी सडक निर्माण आवश्यक रहेको बताए। लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकूलताको समयमा अवरुद्ध हुने गरेकाले सडक सञ्जाल वैकल्पिक सुविधा भएकाले सडक निर्माणमा प्राथमिकता दिइएको उनले सुनाए। उनले कार्यक्रममा वार्षिक ५०औं हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने स्थानीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोषसमेत गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले सगरमाथा सडक सबैको साझा एजेन्डा बन्नुपर्ने बताए। सडक सञ्चालनमा आएपछि पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि आउने सांसद राईको भनाइ छ। गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले चीनतर्फको नाङपाला नाका खोल्न सके खुम्बुको विकासमा थप टेवा पुग्ने भएकाले नाका खोल्न प्रदेश सरकारलाई आग्रह गरे। कार्यक्रमको अवसरमा दलित भवनको उद्घाटन गरिएको छ भने एक सामुदायिक भवनको शिलान्यास गरिएको छ।

प्रकाशित: २२ चैत्र २०७५ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App