coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थुलुङ भाषाको पाठ्यसामग्रीका लागि अनुदान

सोलुखुम्बु - थुलुङ दुधकोशी गाउँपालिकाले थुलुङ राई भाषाको कक्षा–२ को पाठ्यसामग्री प्रकाशनका लागि १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बसेको कार्यपालिका बैठकले थुलुङ राई संस्कृति प्रतिष्ठानले प्रकाशन गर्न लागेको पाठ्यसामग्रीका लागि सो अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। प्रतिष्ठानले कक्षा–१ सम्मको पाठ्यक्रम तयार पारी सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका थुलुङ राई जातिको बसोबास क्षेत्रका विद्यालयमा चालू आर्थिक वर्षदेखि नै पठनपाठन सुरु गराइसकेको छ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले मुक्लिमा लिभिल सव–इन्जिनियर विषय पढाउन सम्बन्धन लिने निर्णय समेत गरेको छ। आगामी शैक्षिक सत्रदेखि वीरेन्द्रदोय माध्यमिक विद्यालयमा पढाइ सुरु गर्ने गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मार्फत सम्बन्धन लिने र पढाइ सुरु गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।

बैठकले गाउँपालिकामा खेलकुद ग्राम निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको छ। स्थानीय तहले ३० प्रतिशत लगानी गरेमा तीनदेखि पाँच करोड लगानीको खेलकुद ग्राम निर्माण गर्न अनुमति दिने मन्त्रालयको नीतिअनुसार गाउँपालिकाले पहल गर्ने निर्णय लिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए।

गाउँपालिकाले मुटुरोगी, स्तन क्यान्सर र अग्निपीडितलाई राहत रकम प्रदान गरेको छ। बुधबार गाउँपालिकाको कार्यालयमा अध्यक्ष असिम राईले वडा नं ८ देउसाका अग्निपीडित हर्कबहादुर विश्वकर्मा, वडा नं ३ पञ्चनका मुटुरोगी तेजबहादुर राई र पञ्चनकै स्तनक्यान्सर पीडित जानुका भुजेललाई १०÷१० हजार रुपैयाँ प्रदान गरिएको सूचना अधिकारी विशालबाबु राईले जानकारी दिए। गाउँपालिकाले राई र भुजेलको थप उपचारका लागि सम्बन्धित अस्पतालमा सहुलियत उपचारका लागि सिफारिससमेत गरेको छ।

प्रकाशित: २२ चैत्र २०७५ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App