८ वैशाख २०८१ शनिबार
समाज

'सूचना पहिल्यै चुहिएपछि सीधासाधा मात्र फस्छन्'

खोटाङबजारमा बरामद गरिएको म्याद नाघेका सामान जलाउँदै अनुगमन टोली

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सञ्चालित औषधि पसलबाट म्याद नाघेका औषधि फेला परेको छ। घरेलु तथा साना उद्योग विकास समितिको अगुवाइमा बिहीबार गरिएको संयुक्त अनुगमनका क्रममा एउटै औषधि पसलबाट म्याद नाघेका १ हजार ४ सय ७६ रुपैयाँ बराबरको औषधि फेला परेको हो। 

अनुगमनकाक्रममा फेला परेका म्याद गुज्रेका औषधि जफत गरेर नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख रामशरण महतोले बताए। म्याद गुज्रेका औषधि बिक्री गर्ने पसलको नाम र औषधिको प्रकार खुलाइएको छैन। औषधि नै म्याद नाघेको फेला परेपछि जनस्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको खुलेको छ । 

घरेलु तथा साना उद्योग विकास समितिले औषधिजन्य, कस्मेटिक र चिसो पेयपदार्थको समूह बनाएर बिहीबार उपभोग्य सामानको अनुगमन गरेको हो। अनुगमनका क्रममा म्याद नाघेका कस्मेटिकका १ हजार २ सय ६० र चिसो पेयपदार्थ अन्तरगतका ४ हजार ८५५ रुपैयाँ बराबरको सामान नष्ट गरिएको छ। ईलाका प्रशासन कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय खोटाङबजार, उद्योग वाणिज्य संघ खोटाङ बजारका प्रतिनिधिलगायतको सहकार्यमा बजार अनुगमन गरिएको हो।  

अनुगमन अगावै अनुगमनको सूचना ‘लिक’  

बजार अनुगमनको सूचना पहिल्यै चुहिँदा खोटाङबजारबाट अपेक्षित मात्रामा म्याद नाघेको उपभोग्यवस्तु फेला पर्न नसकेको अनुगमन टोलीले जनाएको छ। घरेलु तथा साना उद्योग विकास समितिको टोली अनुगमनका लागि आउँदै गरेको थाहा पाएलगत्तै कतिपय व्यवसायी पहिल्यै सचेत भएर बसेको पाइएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख महतोले बताए।

केही पसलबाट मात्र म्याद नाघेको सामान जफत भएको अनुगमन टोलीले जनाएको छ। ‘अनुगमनको सूचना लिक भएछ,’ प्रमुख महतोले भने, ‘जति सामान भेटिए त्यी सबै सोझासीधा व्यवसायीको पसलमा मात्र फेला परेको हो। सूचना लिक नभएको भए धेरै सामान फेला पर्ने थियो।’ 

प्रकाशित: २१ चैत्र २०७५ १५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App