८ वैशाख २०८१ शनिबार
समाज

बाजुरा सदरमुकाममा सडक कालोपत्रे धमाधम

बाजुरा - अस्तव्यस्त बाजुरा सदरमुकाम मार्तडीको धुलाम्य र हिलाम्य सडक कालोपत्रे हुने भएको हो। वैशाखभित्र मार्तडी बजार क्षेत्रको बाटो कालोपत्रे भइसक्ने निर्माण भइरहको कम्पनीले बताएको छ। लामो समयदेखि सडक फराकिलो बनाउने बहसमै अल्झिएको सडक निर्माण कार्यले चैत्र पहिलो साताबाट गति लिएको हो।

सडक क्षेत्रमा परेका घरको मुआब्जा लिन तयार नहुने र काम गर्ने वातावरणसमेत नदिने गरेकै कारण सडक निर्माणमा ढिलाइ भएको थियो।

पुस मसान्तभित्र निर्माण सक्ने गरी नगरपालिकाले सम्झौता गरे पनि ठेकेदार कम्पनीले अवरोधका कारण काम हुन नसकेको बताउँदै आएको थियो। पछि ठेकेदारलाई सम्झौता थपेर काम सञ्चालन गरिएको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले बताएका छन्।

सदरमुकामभित्र पर्ने गौडा ढिलदेखि जिल्ला प्रशासन कार्यालय र वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म दुईतर्फी बाटो कालोपत्रे हुने भएको छ। काम तीव्र गतिका साथ भइरहेको छ। सडकमा परेका केही बाहेक सबैजसो जग्गा धनीले मुआब्जा बुझेर काममा सघाएका छन्। 

यतिबेला सडक बिस्तारको काम सँगै बिजुलीका पोल सार्ने काम र घर हटाउने काम पनि सँगसँगै भइरहेको छ। पोल सार्न गरिएको सम्झौताअनुसार काम नभएको र रकम हिनामिनाको आरोपपछि नगरपालिकाले त्यसका पनि कडा निगरानी बढाएको छ।

बजारभित्र ३ सय ५४ मिटर लामो कालोपत्रे बन्नेछ। सडकको चौडाइ ६ मिटर छ। सडक निर्माणपछि मार्तडी बजारको स्वरुप फेरिने उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले बताएका छन्। गाउँ जस्तै देखिन्थ्यो, पिच भएको सडक देख्दा नयाँ स्वरुप देखिने रोकायाको विश्वास छ।

असारसम्म काम गर्ने गरी सम्झौता थप गरिए पनि वैशाखभित्र सक्ने गरी काम भइरहेको डिबी कन्ट्रक्सनका प्रबन्धक विजयराज पण्डितले बताएका छन्। निर्माणका लागि दुई वटा कम्पनीले जिम्मा लिएका छन्। 

प्रकाशित: २१ चैत्र २०७५ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App