६ वैशाख २०८१ बिहीबार
राजनीति

देउवाको प्रश्नः पार्टीका २०/२५ जनाले महाधिवेशन बोलाउँछु भनेर हुन्छ?

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा गरेको हस्तक्षेपविरुद्ध हुने आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। 

बिहीबार विराटनगरमा नेपाल टेलिकम वर्कर्स एशोसिएशनको १० औं महाअघिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारको अधिनायकवादी कार्यशैली र सबै क्षेत्रलाई हस्तक्षेप गर्ने नीतिविरुद्ध हुने आन्दोलनका लागि तयार रहन आग्रह गरेका हुन्। 

देउवाले पार्टीले विशेष महाअधिवेशन नबोलाउने तर, सभापतिहरूले बोलाए फेस गर्न तयार रहेको बताए। ‘पार्टीका असन्तुष्ट २०/२५ जनाले महाअधिवेशन बोलाउँछु भनेर हुन्छ?’ उनले प्रश्न गरे, ‘उनीहरूले विशेष महाअधिवेशन बोलाउन सके फेस गर्न तयार छुँ।’ 

कर्मचारी, न्यायालय, प्रेसलगायतका क्षेत्रमाथि हस्तक्षेप गर्ने ओली सरकारका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेकाले आन्दोलनका लागि सबैलाई तयारी अवस्थामा  रहन  उनले आग्रह गरे। ‘सरकारविरुद्ध आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनसक्छ’, देउवाले भने, ‘सबै तयार रहनुहोस्।’ देउवाले ओली सरकारले मिडियालाई समेत नियन्त्रणको प्रयास गर्दै असहिष्णु रुपमा प्रस्तुत भइरहेको बताए। लुट्न सके लुट भनेजस्तो सबै क्षेत्रलाई आफ्नो अधिनमा राखेर लुट मच्चाउन सरकार उद्धत रहेको देउवाको भनाई छ। 

नेपाली कांग्रेसले नै नेपालमा निजी क्षेत्रलाई सञ्चार माध्ययम, टेलिकमलगायतका क्षेत्रममा प्रवेश गराएको भन्दै देउवाले निजी क्षेत्रको सहयोग विना देशको विकास असम्भव रहेको स्पष्ट पारे। ‘निजी क्षेत्रको सहयोग विना देशमा विकास र समृद्धि सम्भव हुँदैन’, उनले भने। देउवाले राज्य नियन्त्रित मिडिया र टेलिकममा समेत प्रतिस्पर्धाका लागि कांग्रेसकै सरकारले निजी क्षेत्रलाई प्रवेश दिएको उल्लेख गरे। सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा विस्तार गर्न अझै बढी प्रतिस्पर्धा आवश्यक रहेको पनि उनले बताए।

यसअघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले पार्टी सभापतिहरूले विशेष महाअधिवेशन आह्वान गरे फेस गर्न आफू तयार रहेको बताएका थिए। काठमाडौंमा कांग्रेसका असन्तुष्ट ५१ जना जिल्ला सभापतिले गरेको भेलाका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले पार्टीले विशेष महाअधिवेशन नबोलाउने तर, सभापतिहरूले बोलाए फेस गर्न तयार रहेको बताए। ‘पार्टीका असन्तुष्ट २०/२५ जनाले महाअधिवेशन बोलाउँछु भनेर हुन्छ?’ देउवाले प्रश्न गरे, ‘उनीहरूले विशेष महाअधिवेशन बोलाउन सके फेस गर्न तयार छुँ।’ 

प्रकाशित: २१ चैत्र २०७५ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App