coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साझाले थप २० वटा शहरी बस ल्याउँदै

काठमाडौं– साझा यातायातले काठमाडौं उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ। केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौता बमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो।

साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद गरेकाे बताए। उनले भने, ‘अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ। भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाडौँ आइपुग्नेछ।’

बस काठमाडौं आइपुगे पछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए। काठमाडौँ महानगरपालिकाले पाँच करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ शेयर खरीद गरेका छन्।

वि.सं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो। विभिन्न समस्याका कारण दुई दशकसम्म साझाका सेवा ठप्प भयो। विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुनः सेवा सञ्चालन गरेको थियो। पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ।

साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा फैलाइरहेको जनाएको छ। साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा छ। साझाले काठमाडौँदेखि बागलुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुईदुई बस समेत सञ्चालन गरिरहेको छ। रासस

प्रकाशित: २१ चैत्र २०७५ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App