coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जित घोषणा गर्न विपक्षीको माग

इस्तानुबलको मेयरका लागि विपक्षी रिपब्लिकन पिपल्स् पार्टीका उम्मेदवार एक्रेम इमामोग्लु आफ्ना समर्थकसहित राजधानी अंकारास्थित एउटा संग्रहालयको भ्रमण गर्दै। तस्बिर: एजेन्सी

अंकारा– इस्तानबुलका लागि टर्कीका प्रमुख विपक्षी उम्मेदवारले देशको उच्च निर्वाचन बोर्डसमक्ष बुधबार आफ्नो जितको घोषणा गर्न माग गरेका छन्। 

इस्तानबुलमा रहेका ३९ जिल्लामध्ये आठवटा जिल्लामा केही दिन अघि सम्पन्न भएको स्थानीय निर्वाचनको पुनः मतगणना गर्न उच्च निर्वाचन बोर्डले आदेश दिएपछि इस्तानबुलका लागि विपक्षी उम्मेदवारले आफूलाई निर्वाचित मेयरका रूपमा पुष्टि गर्न आग्रह गरेका हुन्।

आइतबार सम्पन्न भएको स्थानीय निर्वाचनमा टर्कीको प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सिएचपी)ले देशका दुई ठूला सहर इस्तानबुल र अंकारामा झिनो मतले जित हासिल गरेका थिए। यसले देशका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सत्तारुढ एके पार्टीलाई ठूलो धक्का पुगेको थियो।

यद्यपि देशको निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन। यदि आउँदा दिनमा विपक्षी सिएचपीले यी दुई सहरमा जितेको पुष्टि भयो भने उसले सन् २०१९ का लागि देशको प्रमुख व्यापारिक केन्द्र इस्तानबुल र राजधानी अंकाराका करिब ६ अर्ब अमेरिकी डलरबराबरको नगर बजेटमाथि नियन्त्रण कायम गर्नेछ।

त्यसैगरी इस्तानबुल र अंकारामा विपक्षीले जिते निर्वाचन अघि आफ्नो दल एकेपीका लागि अति नै धेरै अभियान सञ्चालन गरेका राष्ट्रपति एर्दोगानका लागि पनि ठूलो धक्का हुनेछ किनभने यो नतिजाले उनको दुई ठूला सहरमा स्थानीय सम्बन्ध टुट्नेछ। यसले सम्भवतः धरासायी बनेको देशको अर्थतन्त्रलाई सुदृढ बनाउने उनको योजनामा पनि यो नतिजाले असर पार्न सक्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

यद्यपि एकेपीले इस्तानबुल र अंकाराका केही जिल्लामा आइतबार सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मंगलबार विरोधपत्र दर्ता गरेको थियो। उसले अवैध मतपत्र भेटिएको र मत गणनाका बखत धाँधली भएको आरोप लगाउँदै विरोधपत्र दर्ता गरेको थियो।

इस्तानबुलको मेयरमा प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स् पार्टीका उम्मेदवार एक्रेम इमामोग्लु र एके पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्री बिनाली यिलदिरिम चुनावी प्रतिस्पर्धामा रहेका थिए। दुवै उम्मेदवारले सोमबार दिएको जानकारीअनुसार रिपब्लिकन पिपल्स् पार्टीका उम्मेदवार इमामोग्लु करिब २५ हजार भोटसहित अगाडि रहेका छन्। इस्तानबुलमा करिब एक करोड ५० लाख मानिसको बसोबास रहेको छ। इमामोग्लुले भन्दा बिनालीले केही संख्यामा मात्र कम मत प्राप्त गरेको बताइएको छ।

यद्यपि सोमबारपछि भने इस्तानबुलको मत परिणाम सार्वजनिक भएको छैन। सत्तारुढ दल एकेपीले धाँधलीको आरोप लगाएपछि अहिले देशको निर्वाचन कार्यालय उच्च निर्वाचन बोर्डले आठ वटा जिल्लामा पुनः मत गणना गर्न आदेश दिएको छ। उता, विपक्षी सिएचपीले भने इस्तानबुलमा आफ्नो जित भइसकेको भन्दै आफ्ना उम्मेदवारलाई औपचारिक जितको घोषणा गर्न माग गरेका छन्।

आठ जिल्लामा अवैध मतपत्र भेटिएकाले पुनः मत गणना गर्न आदेश दिइएको टर्की उच्च निर्वाचन बोर्डका अध्यक्ष सादी गुभेनले बुधबार बताए। त्यसरी पुनः मत गणना गर्न आदेश दिइएका जिल्लामध्ये अधिकांश एकेपीको पकड क्षेत्र रहेको बताइएको छ। 

विपक्षी उम्मेदवार इमामोग्लुले उच्च निर्वाचन बोर्डलाई आफ्नो काम गर्न र आफूलाई मेयर घोषणा गर्न माग गरेका छन्। उनले एकेपीले इस्तानबुलका जनतालाई अनादर गरेको समेत आरोप लगाएका छन्।

‘हामी न्याय चाहँन्छौं। जनताले देशको मेयरका रूपमा जित गराएकाले हामी निर्वाचन बोर्डबाट जनताले दिएको म्यान्डेट माग गर्दछौं। विश्वले सहरको निर्वाचन हेरिरहेको छ,’ इमामोग्लुले पत्रकारहरुसँग बताए।

 

प्रकाशित: २१ चैत्र २०७५ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App