coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

किन कष्टकर छ जीवन ?

एक चर्चमा पादरीले साना नानीहरूलाई प्रकृति र प्रेमबारे बुझाइरहेका थिए। प्रसंगवश प्रश्न आयो– भगवान्ले के–के बनाए ? जवाफ दिँदै जाने क्रममा पादरीले भने– ‘अरू त अरू घिस्रिने जीवसमेत भगवान्ले नै बनाएका हुन्।’ त्यसपछि नानीहरूले सोधे– ‘घिस्रिने जीव भनेको कस्तो ?’ पादरीले उदाहरण दिए– जस्तैः सर्प। तर नानीहरूले सर्प देखेका रहेनछन्। त्यसकारण पादरीले अर्काे उदाहण दिनुपर्ने भयो– जस्तैः रेलगाडी। नानीहरू अचम्मित हुँदै आपसमा खासखुस गर्न थाले– हँ....रेलगाडी पनि भगवान्ले नै बनाएका रहेछन् ! जीवन बुझाउन पनि यस्तै कठिन छ।

आजका मानिस प्राकृतिक होइन, कृत्रिम र यान्त्रिक जीवन जिइरहेका छन्। जति आधुनिकता र विकास बढ्दै गएको छ त्यति मानिस यान्त्रिक बनिरहेका छन्। त्यसैले त मान्छे बाहिर सुखी र सम्पन्न देखिन्छन् तर भित्रभित्रै दुःख र अभाव अनुभूति गरिरहेका हुन्छन्। यो कुरा उसको अनुहार पढ्दा थाहा पाइन्छ। आखिर मानिसको बाहिरी आवरण र भित्री वास्तविकता किन बेग्लै छ ? मनुष्य जीवन कष्टकर नै छ त ? जन्मँदै जीवन कष्टकर थियो या हामीले बनायौं ?  ओशो भन्छन्– मानिसलाई दिइने शिक्षा र संस्कारले स्वतन्त्र होइन दमित हुन सिकाएको छ, त्यसैले मानिस बाहिर जति खुसी देखिन्छ, भित्र त्यति नै कुण्ठित छ।  समाजले मानिसलाई आफ्नो इच्छाअनुसार होइन, अरूलाई कस्तो देखाउनुपर्ने हो त्यस्तो बन्न सिकाएको छ। यहाँ आफ्नो स्वभावमा जिउन प्रतिबन्ध छ भन्दा पनि फरक पर्दैन।

बाहिरी सफलता र सम्पन्नताको लालसाले थिचेको छ त्यसैले मानिसले आफैंलाई भुलेको छ, मस्तिष्कमा काम र दाम मात्र बसेको छ।

घर, परिवार, समाज र राष्ट्रले उसको सार्वभौम स्वतन्त्रता खोसेको छ। आफ्नो सक्कली रूप र स्वभाव एकातिर छ तर व्यक्ति समाजको आडम्बरअनुसार बाँच्न विवश छ। अर्कातिर, व्यक्ति आफैं पनि स्व–पहिचानका लागि विद्रोही बन्न सकेको छैन। ऊ आफ्ना तथाकथित इज्जत, सम्मानका लागि अरूका सामु नक्कली व्यवहार देखाउन बाध्य छ। मानिसको जीवनमा हिजो  जुन समस्या थिए, आज पनि त्यही छन्। किनकि समाधानका सही उपाय दिन सकिएन। उपायहरू सतही र बाहिर–बाहिर लिपपोतजस्ता भए। दमित भावनाहरू एक्कासि विस्फोट हुन थाले। भित्र जति दबाएर राख्न खोज्यो यो उति शक्तिशाली हुन्छ। तिनै दमित र कुण्ठित भावना जम्मा हुँदै जाँदा मानिसमा सकारात्मक रूपान्तरण आउन सकेन। मानिस भित्रभित्रै विक्षिप्त र विकृत हुन पुगे। परिणाम, मानिस पाखण्डी भएर बाँच्न बाध्य छन्।  प्राकृतिक स्वभाव बिर्सेर कृत्रिम जीवन जिउन विवश छन्।

स्वभाव, रङरूप, सुगन्ध, कमाइ, सेवा तथा सम्बन्धसमेत सबै नक्कली अर्थात् देखावटी,  प्लास्टिकका फूलजस्ता–  हेर्दा राम्रो, छाम्दा नक्कली। यस्तो भएपछि जीवनमा कसरी सक्कली सुख प्राप्त हुन्छ र !  यान्त्रिकता र कृत्रिमताले मान्छे मुर्छा परेझैं छन्। किन दौडिरहेछन्, किन अस्तव्यस्त छन्, इच्छा–आकांक्षा के हुन् ? ती आवश्यक हुन् वा होइनन् ? ती इच्छा आफ्नै लागि हुन् वा अरूलाई देखाउन ? ओशो आफ्नो प्रवचनमा भन्छन्–  एक साँझ मिर साहब नामका मुसलमान सन्त सफा कपडा पहिरिएर, सुन्दर लठ्ठी टेक्दै गाउँमा टहल्दै थिए। यत्तिकैमा उनका सहयोगीले दौडँदै आएर भने, ‘मिर साहब, छिटो हिँड्नुस्, घर आगलागी भयो। तर मिर साहब आफ्नै गतिमा आनन्दले सुस्तसुस्त हिँडिरहे।

सहयोगी चिच्याउँदै थिए,‘तपाईं कस्तो मान्छे हो, मैले भनेको सुन्नु भएन ? घरमा आगो लागिरहेछ, तपाईंको यो मस्तीको चाला ? यो टहल्ने समय होइन, छिटो घर हिँड्नुस्। मिर साहबले जवाफ दिए, ‘घर जलिरहेछ त म दौडँदैमा आगो निभ्ने होइन। घर मात्र कहाँ हो र ! यहाँ त प्रत्येक मान्छे भित्रभित्रै जलिरहेका छन्। घर नजल्नेको पनि मन त जलिरहेको छ। यसकारण म मेरो मस्ती र चाल त्यति सजिलै छाड्नेवाला छैन।’ यसलाई भित्रैदेखि मनन गर्ने हो भने जीवनमा क्रान्ति नै आउँछ। आफ्नो स्वभावमा जिउने शैलीको एउटा गहन उदाहरण हो यो। आजका मानिसमा यस्तो धैर्यता र गहिरो बुझाइ नभएकै कारण जीवन कष्टकर बनिरहेको छ।

अहिलेका मान्छेलाई आफ्नो गति रेलगाडी जस्तै हुनुपरेको छ। मेसिनझैं छिटो काम भ्याउनुपरेको छ। घडीको सेकेन्ड सुईको रफ्तारमा जीवन चलाउनुपरेको छ। बाहिरी सफलता र सम्पन्नताको लालसाले थिचेको छ, त्यसैले मानिसले आफैंलाई भुलेको छ, मस्तिष्कमा काम र दाम मात्र बसेको छ। प्रकृतिसँगको सम्बन्ध टुट्दै गएको छ। मनमा भावना, प्रेम होइन, विज्ञानको छाप परेको छ। हृदयको वीणा बज्न छाडेको छ। गणित, तर्क र नाफाघाटामा जीवनको मूल्यांकन हुन थालेको छ। सम्बन्ध उजाड र निरस बनेको छ। गर्नुपर्ने, गर्नु नपर्ने सबै काम गर्न व्यस्त छ मान्छे तर स्वयंको पहिचान गराउने ध्यान गर्न भुलेको छ।

आफ्नो मालिक आफैं बन्न र आफ्नो स्व–पहिचान स्थापित गर्न ध्यानबाहेक विकल्प नै छैन भन्ने ज्ञानको अभाव छ। हरक्षण भयभीत छन्, मानिस। जुन भय अरूजस्तो बन्न सक्छु कि सक्दिनँ भन्ने आकांक्षाबाट उब्जेको छ। यहाँ कसैलाई पनि आफू आफैंजस्तो बनुँ भन्ने चाहना छैन अरू नै जस्तो बन्नुछ। बाहिरी  धारणाले आत्मसम्मान छोपेको छ। एउटी आमालाई मातृत्व कसैले सिकाउनु पर्दैन स्वतःस्फूर्त भित्रैबाट प्रस्फुटन भएर आउँछ। यसैगरी हरेक व्यक्तिभित्र रहेको स्वसत्ता र चैतन्य बोध हुन पायो भने आत्मसम्मान के हो कसैले सिकाउनु पर्दैन। खुसी, शान्ति र आनन्द त भित्रको स्वभाव हो यसलाई आर्जन गरिरहनु पर्दैन। यसलाई त जीवनशैली बनाउनुपर्छ। स्वयंमा स्थिर रहनु ध्यान हो भने संसारसँग सम्यक र होसपूर्ण तादात्म्य राख्नु प्रेम हो। यही कला नजान्दासम्म जीवन कष्टकर नै रहन्छ।  

एक सन्त प्रवचन दिइरहेका थिए– ‘हामीले जे रोप्छौं त्यही फल पाउँछौं।’ प्रवचन सुनेर सबै खुसी भइरहेका थिए। तर एक किसान भने बेखुसी देखिन्थे। प्रवचन सकिपछि उनी घर गएर र मनमनै सोच्न थाले– मैले त उल्टो काम गरेको रहेछु। गाईभैंसीलाई खुवाउने भुस्सा उत्पादन गर्न त मैले भुस्सा नै रोप्नु पर्‍यो नि ! त्यसपछि उनले भुस्सा जमिनमा रोपे, मलजल गरे तर वर्षाैं बित्यो, भुस्सा किन उम्रिन्थ्यो र ! कतै हाम्रो बुझाइ पनि यस्तै त छैन ? जसले जीवनलाई कष्टकर बनाइरहेको छ।

प्रकाशित: २१ चैत्र २०७५ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App