८ वैशाख २०८१ शनिबार
राजनीति

‘डोजर–एक्साभेटर आतंक बढ्दो’

पोखरा - पूर्वराष्ट्रपति रामवरण यादवले प्रकृतिको अधिक दोहनप्रति चिन्ता व्यक्त गरेका छन्। पोखरामा मंगलबार आयोजित पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पूर्व–राष्ट्रपति यादवले पहाड तथा तराई भेगमा बढिरहेको डोजर र एक्साभेटर आतंकले प्रकृतिलाई मार पार्नुका साथै भविष्यमा आन्तरिक द्वन्द्व चर्किने खतरा रहेको बताए। यादवले डोजर एक्साभेटर चलाउँदा चुरे नोक्सान हुनुका साथै केही वर्षमा मुलुक नै ‘ध्वस्त’ हुने खतरा रहेको औंल्याए।

‘देशमा सबैभन्दा बढी चिन्ता प्रकृतिको दोहनले दिलाएको छ,’ उनले भने, ‘प्रकृतिले दिएको सुन्दर उपहार विनासतर्फ अघि बढिरहेको छ।’ यादवले तापक्रम वृद्धिका कारण मध्य–पहाडमा पानीको ५० प्रतिशत मुहान सुकिसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘पानीका मुहान सुकिसकेका छन्, चुरे दिनहुँ समाप्त भइरहेको छ, तराईको जंगल सखाप हुन थालेको छ,’ उनले भने, वातावरणमैत्री पूर्वाधार बन्नुपर्छ भन्नेमा खासै ध्यान गएको पाइँदैन।’

चुरेको मध्य भागबाट राजमार्ग बनाउन थालिनुले पनि नोक्सान हुने क्रम बढेको उनले बताए। ‘महेन्द्र राजमार्गमा थप ६ लेन बनाउन थालिएको छ। चुरे हुँदै विद्युतीय रेलमार्ग पनि बनिरहेको छ,’ यादवले भने, ‘एसियन हाइवेसँग जोड्नेगरी चुरे हुँदै सडक विस्तार गर्न थालिएको छ, यसले भविष्यमा संकट ल्याउनेछ।’ पूर्वराष्ट्रपति यादवका अनुसार यतिबेला देशमा जर्बजस्ती धर्म परिवर्तन र जथाभावी प्रकृति दोहन गरी दुईवटा ‘फल्ट लाइन’ छन्। ती भूकम्पजस्तै जोखिमपूर्ण छन्। ‘राजमार्गको तल्लो भेगमा पानी अभाव भइसकेको छ। अहिलेकै गतिमा चुरे विनाश हुने हो भने आगामी दिनमा तराई मरुभूमि हुनेछ,’ यादवले भने, ‘चुरेको दोहन यस्तै गतिमा भइरहने हो भने विज्ञले भनेझैं २५ वर्षमा ध्वस्त हुनेछ।’ विज्ञहरूले भनेझैं हिमालको हिउँ पग्लिनु, पानीको मुहान सुक्नु र चुरेको जंगल समाप्त भएर तराई मरुभूमि हुने अवस्था आउँदा यसले प्राकृतिक स्रोतमाथि विवाद बढेर द्वन्द्व निम्तिने खतरा रहेको उनले औंल्याए। ‘यसलाई गम्भीर रूपमा नलिने हो भने यसले पार्ने असर ठूलो हुनेछ,’ उनले भने।

संविधानमा सनातन धर्म रक्षा गर्ने कुरा उल्लेख भए पनि धर्म परिवर्तन गराउने चलन बढेकोप्रति पूर्वराष्ट्रपति यादवले चिन्ता व्यक्त गरे। ‘अनेक लोभ मोहले धर्म परिवर्तन भइरहेको छ,’ उनले भने, ‘धर्म परिवर्तन गराउनेलाई दण्डनीय बनाउने विषय सदनमा उठाउनुपर्छ।’

प्रकाशित: २१ चैत्र २०७५ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App