५ वैशाख २०८१ बुधबार
समाज

हुरीपीडितलाई सहयोग

काठमाडौं – बारा–पर्साका हावाहुरीपीडितलाई सहयोग गर्ने क्रम बढेको छ। विभिन्न जिल्लाका संघसंस्थाले फरकफरक माध्यमबाट पीडितका नाममा सहयोग प्रदान गरिरहेका छन्। नुवाकोट सहकर्मीका अनुसार जिल्लाको जेसिज र महिला मानवअधिकार रक्षक सञ्जालले बुधबार सहयोग संकलन अभियान सञ्चालन गरेका छन्। अभियानबाट ५५ हजार रुपैयाँ संकलन भएको नुवाकोट जेसिज अध्यक्ष दुर्गाराज पाठकले बताए। उनका अनुसार जिल्ला प्रकाशन कार्यालय नुवाकोटमार्फत प्रदेश २ को आपतकालीन कोषमा जम्मा भएको रकमको ड्राफ्ट प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको हो।

हावाहुरीपीडितको सहयोगार्थ विदुर नगरपालिकाभित्रका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत कर्मचारीले एक दिनको तलब जिल्ला प्रशासन कार्यालयमार्फत सहयोग प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले बताए। यस्तै, नुवाकोटमा आउँदो शनिबार उद्योग वाणिज्य संघको १०औं अधिवेशन हुँदै छ। नयाँ नेतृत्वका लागि चुनावी प्रचारप्रसारमा उत्रिएको लोकतान्त्रिक पक्षधरले हावाहुरी प्रभावितलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ।

भक्तपुर सहकर्मीका अनुसार इँटाको विकल्पका रूपमा रहेको निर्माण सामग्री उत्पादन कम्पनी गोर्खा इको प्यानलले तराईका दुई जिल्लाका हावाहुरीपीडितका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ। गत आइतबार साँंझ बारा र पर्सामा आएको भीषण हावाहुरीबाट पीडित परिवारको सहयोगका लागि नेपाल इन्जिनियर्स एसोसियसनको खातामा उक्त सहयोग रकम सहयोग गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए।

कम्पनीले गोर्खा इको प्यानलको प्रयोग गरी घर बनाउन तथा पुनर्निर्माण गर्न चाहने पीडितहरूका लागि थप १० प्रतिशत छुटमा इको प्यानल बिक्री गर्ने सिइओ दुवालले जनाए। सामाजिक उतरदायित्व वहन गर्ने क्रमअन्तर्गत सहयोग गरेको दुवालले जनाए। तराईमा मच्चाएको हावाहुरीको वितण्डाले विशेष गरी बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा बढी प्रभावित पारेको थियो।

प्रकाशित: २१ चैत्र २०७५ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App