coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालको अर्थतन्त्र स्थिर रहने एडीबीको प्रक्षेपण

काठमाडौं– चालु आर्थिक वर्षमा नेपाली अर्थतन्त्र ६.२ प्रतिशतले वृद्धि हुने एसियली विकास बैंकले प्रक्षेपण गरेको छ। आगामी आर्थिक वर्षमा यस्तो वृद्धिदर ६.३ प्रतिशतले हुनेछ। 

एसियाली विकास बैंकको नेपालका लागि आवासीय निर्देशक मुख्तोर खामुद् खानोभले भने, ‘सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख छ। जसलाई भूकम्पपछिको तीव्र पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पु-याएको छ।’  

कृषि क्षेत्रको वृद्धि आर्थिक वर्ष ०७४/७५ को २.८ प्रतिशतबाट आर्थिक वर्ष ०७५/७६ मा ४.५ प्रतिशत पुग्न सक्ने छ। यो आकलन मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ। सुदृढ विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण आर्थिक वर्ष ०७५/७६ मा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। यसका साथै थोक तथा खुद्रा व्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवा साथमा सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्ने सम्भावना छ। 

प्रतिवेदनले भनेको छ - बढ्दो व्यापार तथा चालु खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नुपरेको छ। आर्थिक वर्ष ०७५/७६ को माघसम्मको तथ्यांकले चालु खाता घाटा १.५ बिलियन अमेरिकी डलर पुगेको देखाउँछ। अघिल्लो वर्षको सोही अवधिको चालु खाता घाटा १.४ बिलियन अमेरिकी डलर थियो।

विप्रेषण आम्दानीको राम्रो वृद्धि र पेट्रोलियम पदार्थको मूल्य स्थिर रहे पनि पुँजीगत र उपभोग्य वस्तु तथा सेवाको आयात बढ्नाले अघिल्लो वर्षको कुल गार्हस्थ्य उत्पादनको ८.२ प्रतिशतबाट बढेर चालु खाता घाटा ९.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।  

नेपालका लागि एडिबीका अर्थशास्त्री मानवरसिंह खड्काले भने, ‘नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको बढ्दो महत्वलाई दृष्टिगत गर्दै सेवा क्षेत्रमा निर्यात विविधीकरणमार्फत व्यापार घाटा कम गर्न स्पष्ट कार्ययोजनाहरु ल्याउन आवश्यक देखिन्छ। सेवा क्षेत्र प्रवद्र्धनका निम्ति पूर्वाधारगत, संस्थागत् र प्रक्रियागत व्यवधानहरु समाधान गर्न जरुरी देखिन्छ।’

प्रकाशित: २० चैत्र २०७५ १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App