८ वैशाख २०८१ शनिबार
राजनीति

हावाहुरी प्रभावित क्षेत्रमा नेकपा, काँग्रेस नेतादेखि सीके राउतसम्म

आमा र श्रीमती गुमाएका भीम दास आफ्नो १० महिने बच्चासँग। तस्विरः रितेश/नागरिक

वीरगन्ज– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हावाहुरी पीडितको अवस्था देखेर आफू दुःखी भएको बताएका छन्। विनाशकारी हुरी हुण्डरीबाट प्रभावित रहेका गाउँमध्येका बाराको भरवलियामा पुगेका नेता नेपालले पीडितलाई सुरुमा हँसाए। ‘मेरो घर पनि यही रौतहटको गौरमा हो, म यहाँको भाषा भोजपुरीमै बोल्ने प्रयास गर्छु। अलिकति समस्या के छ भने यताको भोजपुरी र उताको मैथली दुबै मिसिएको पाउनु हुनेछ, मेरो बोलीमा’, नेता नेपालले भने, ‘चिउरामा दही मिसिएजस्तै।’ माहोल खुकुलो भएपछि उनले अगाडिका कुरा राखे। 

सरकारले पीडितलाई हरेक किसिमले मद्दत गर्ने उनले बताए। ‘केन्द्र सरकारले पीडित परिवारलाई ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ, उपचार खर्च सरकारले बेहोर्दैछ। प्रधानमन्त्री केपीशर्मा ओलीले पीडितहरुको अवस्था बुझेर जानु भएको छ, पार्टीका अध्यक्ष कमरेड प्रचण्ड आएर हेर्नु भएको छ’, नेता नेपालले भने, ‘पार्टीको विद्यार्थी संगठन, युवा संगठन परिचालित छ राहत तथा उद्धार कार्यमा। हामी हरेक किसिमले पीडितको साथमा छौं।’

प्रदेश सरकारको मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका मन्त्रीहरु समेत आएको र पीडितलाई सहयोग गर्नमा सबै लागिपरेको उनले बताए। नेता नेपालले नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बललाई रात तथा उद्धारमा देखाएको भूमिका सह्रानीय रहेको भन्दै धन्यवाद दिए। उनीसंगै पार्टीका नेता नागेन्द्र चौधरी, चिरिन्जिवी आचार्य, बसरुद्दीन अन्सारी लगायत आइपुगेका थिए। 

प्रभावित क्षेत्रमा प्रधानमन्त्रीदेखि सीके राउतसम्म

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंगै वीरगन्जको नारायणी अस्पतालमा घट्नाका घाइतेलाई भेंटेका थिए। मन्त्री यादव संघीय समाजवादी फोरमका अध्यक्ष समेत हुन। प्रधानमन्त्री शेरबहादुर देउवा घाइतेलाई भेंटेर प्रभावित क्षेत्रमा पनि पुगे। पुष्पकमल दाहालले पनि प्रभावित क्षेत्र भ्रमण गरे। मुख्यमन्त्री राउत, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललगायत आए। मन्त्री सोनलको दल राष्ट्रिय जनता पार्टीका एक अध्यक्ष राजेन्द्र महतोले पनि प्रभावित क्षेत्रमा भ्रमण गरिसकेका छन्।  

बिखण्डनकारी गतिविधि छोडेर मूलधार राजनीतिमा आउँदै जनमत पार्टी घोषणा गरेका सीके राउतसम्म आइपुगे हुरीहुण्डरी प्रभावित क्षेत्रमा। गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल त्यहाँ पुगे। साँसद, प्रदेश साँसद र भिभिन्न पार्टीका नेताहरुको ओइरो नै छ। विशिष्ट नेताहरु आउँदा प्रहरी र स्थानीय प्रशासन उनीहरुको आवागमन ब्यवस्थापनमैं अल्झिँदा राहत तथा उद्दार प्रभावित भइरहेको सेवामा खटेका स्वयम् सेवकहरुले बताए। ठूलो नेतालाई दैलोमा देखेर आफूहरुले साथ र सहयोग पाइरहेको पीडितले अनुभूति गरेको राजनीतिक दलका कार्यकर्ता बताउँछन्। 

प्रकाशित: २० चैत्र २०७५ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App