८ वैशाख २०८१ शनिबार
समाज

खुम्बुमा पहिलो पटक गाडी पुग्यो

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ। सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे। माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयक्त लगानीमा खरिखोलासम्म सडक पु-याइएको गाउँपालिकाले जनाएको छ। उक्त सडकको उद्घाटन गर्दै मुख्यमन्त्री राईले गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक विस्तार गर्न प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

सडक पुगेसँगै हवाईमार्ग हुँदै लुक्ला विमानस्थल तथा सल्लेरीदेखि माप्यदूधकोशी हुँदै करीब तीन दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा आन्तरिक पर्यटनमा समेत वृद्धि हुने मन्त्री राईको विश्वास छ। तेञ्जिङ हिलारी विमानस्थलको मौसम प्रतिकूल हुँदा हप्तौसम्म स्वदेशी तथा विदेशी पर्यटक लुक्लामै अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ। कतिपयले महङ्गोमा हेलिकप्टर चार्टर गरेर काठमाडाैँ जाने भए पनि कतिपय पर्यटक भने हप्तौसम्म कुरेर फर्कने गरेका छन्। मुख्यमन्त्री राईले वर्षेनी पचासाैं हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने स्थानीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोष समेत गरे।

सांसद हेमकुमार राईले सगरमाथा क्षेत्रको सडक निर्माण सबैको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिए। गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले नेपाल प्रवेश गर्ने चीनको नाङ्पाला नाका खोल्न आवश्यक सहयोग गरिदिन प्रदेश सरकारलाई आग्रह गरे। उक्त नाका खोल्न सके खुम्बूको विकासमा थप मद्दत पुग्ने भन्दै उनले बन्द रहेको नाका खोल्न पहल गरिदिन आग्रह गरे। माप्यदूधकोशीको बासामा रहेको प्रहरीचौकी, माप्यदूधकोशी गाउँपालिकाको सभा हल उद्घाटन गरेपछि खरिखोला पुग्नुभएका मुख्यमन्त्री राईले १५ श्ययाको खरिखोला अस्पताल र दलित भवनको समेत उद्घाटन गरे।  (रासस)

प्रकाशित: २० चैत्र २०७५ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App