coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आन्दोलनले हुर्किंदै फस्ट फ्लस

इलामको कन्याम चिया कारखानाअघि मंगलबार कोणसभा गर्दै चिया श्रमिक। तस्बिर : नागरिक

इलाम - वर्षभरकै उत्कृष्ट गुणस्तरको चिया उत्पादन हुने समयमा श्रमिकले आन्दोलन चर्काएपछि करोडौं रुपैयाँको हरियो चियापत्ती नष्ट हुँदैछ। फस्ट फ्लस (पहिलो टिपाइ)कै बेला श्रमिकले बगान र कारखाना ठप्प पारेपछि चियाको मुना हुर्किएर जाने भएको हो। पूर्वका चिया श्रमिक चैत १७ यता आफू कार्यरत चिया प्रतिष्ठान बन्द गरेर आन्दोलनमा छन्। उनीहरूले बगानको हरियो पत्ती टिप्न छाडेका छन् भने कारखानाहरू बन्द गराएका छन्। उच्च गुणस्तर हुने भएकाले सबैभन्दा बढी मूल्यमा बिक्ने चिया थोरै नष्ट भएपनि बढी मूल्यको घाटा हुनसक्ने उद्योगी बताउँछन्। चिया उद्योग–प्रतिष्ठानले न्यूनतम् ज्याला र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेको भन्दै श्रमिकले आन्दोलन चर्काएका हुन्। आन्दोलनका कारण विशेषगरी ठूलो परिमाणको चिया उत्पादन हुने झापा र इलामका उद्योग–बगान बन्द छन्।

श्रमिकले काम छाडेपछि हरियो चिया नष्ट भएर जाने सम्भावना रहेको कन्याम चिया प्रशोधन कारखानाले जनाएको छ। कारखाना प्रबन्धक रजनीश मुदालियारले आन्दोलनका कारण उद्योग र बगान ठप्प बनेको बताए। उद्योगमा आफ्नै बगान र स्थानीय किसानले ल्याएको हरियो चिया प्रशोधन हुँदैथियो। ‘टिपाइको सुरु भएकाले आफ्नो बगानको चार सय र किसानको पनि करिब त्यति नै परिमाणको चिया प्रशोधन हुँदैथियो,’ उनले भने, ‘तर, अहिले आन्दोलनका कारण प्रशोधन ठप्प छ।’ उनले फस्ट फ्लस हुर्किएर गएपछि चियाको गुणस्तर र उत्पादन दुवै घटेर जाने बताए।

श्रमिकले आन्दोलन घोषणा गरेपछि उद्योगहरूले किसानलाई हरियो चिया नल्याउन सूचना गरेका छन्। ‘श्रमिकको आन्दोलनका कारण उद्योग बन्द भएपछि किसानलाई अहिले चिया नल्याउन खबर गरेका छौं,’ उनले भने, ‘उद्योगै नचलेपछि किसानको बगानको हरियो चिया पनि नष्ट भइरहेको छ।’ सिजन सुरु भएपछि हरियो चियापत्ती चिसो ठाउँमा बढीमा सात दिन र अलि सुख्खा ठाउँमा पनि ९ दिनसम्ममा पत्ती टिप्नुपर्ने हुन्छ। तर, श्रमिकले फस्ट फ्लसकै बेला चिया नटिपेपछि वर्षभरलाई हरियो पत्ती पलाउनै ढिलो हुने किसान बताउँछन्। ‘अहिले फस्ट फ्लसको पत्ती महँगो मूल्यमा बिक्ने मात्र होइन, फस्ट फ्लस टिप्न ढिलो भए वर्षभर नै चियामा मुना पलाउन ढिलो हुन्छ,’ किसान केदार ढकालले भने, ‘श्रमिकले यहीबेला आन्दोलन गर्दा उद्योग र बगानमात्र होइन, हामी किसानलाई पनि लाखौंको घाटा हुन्छ।’

श्रमिकले मंगलबार इलाम र झापाका विभिन्न बगान तथा उद्योगमा प्रदर्शन गरे। उनीहरूले न्यूनतम् ज्याला कार्यान्वयन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गरिएको ब्यानर बोकेर कन्याम चिया बगानमा प्रदर्शन गरेका थिए। उनीहरूले कन्याम चिया कारखानाअघि कोणसभा गरेर आफ्ना माग पूरा गर्न दबाब दिए। आन्दोलनकै कारण सबैजसो उद्योग बन्द भइसकेपनि छिटफुट रूपमा खुलेका उद्योगसमेत श्रमिकले मंगलबार उद्योगमै पुगेर बन्द गराए। श्रमिकको समूहले इलामको आइतबारेस्थित स्मल टी, इलाम टी प्रोड्युसर्स प्रालिलगायतका कारखाना पुगेर काम बन्द गराउन आग्रह गरेका थिए।

केही निजी उद्योगले श्रमिकलाई न्यूनतम् ज्याला दिएपनि सरकारी चिया कारखाना र बगानमै श्रमिक न्यूनतम् ज्यालामा ठगिएका छन्। ‘उद्योगहरूमै पुगेर निरीक्षण गर्दा केहीले न्यूनतम् ज्याला दिएका रहेछन् तर सामाजिक सुरक्षा ऐन कार्यान्वयन भएको छैन,’ श्रमिक नेता रमेश खड्काले मंगलबार भने, ‘छिटफुट चलेका उद्योगलाई भोलिदेखि कि न्यूनतम् ज्याला र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर, कि उद्योग बन्द गरिहाल भनेर आएका छौं।’

इलाम टी प्रोड्युसर्स प्रालिका प्रबन्धक ओम काफ्लेले आफ्नो उद्योगमा न्यूनतम् ज्याला कार्यान्वयन गरेको बताए। ‘हामीले त न्यूनतम् ज्याला दिएकै छौं,’ उनले भने, ‘कतिपय अवस्थामा एउटा मात्रै उद्योगले न्यूनतम् ज्याला र ऐन कार्यान्वयन गरेर पनि नहुने बाध्यता छ।’ फस्ट फ्लसमा वर्षभरको झन्डै एकतिहाई चिया उत्पादन हुन्छ। तर, त्यसको मूल्य चाहिँ वर्षभरको अन्य चियाको सँग बराबर नै हुने गरेको उद्योगी बताउँछन्। सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ तोकेको छ। तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपैयाँ मात्र पाइरहेका छन्। कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपैयाँ तोकिएको छ। तर, त्यो पनि कार्यान्वयन भएको छैन। ज्याला कार्यान्वयनको दबाब दिँदै नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले आन्दोलन चर्काएका हुन्।

सरकारले उद्योगहरूलाई सुविधा नदिएकाले न्यूनतम् ज्याला कार्यान्वयनमा समस्या रहेको उद्योगीहरू दाबी गर्छन्। जिल्लाकै सबैभन्दा बढी चिया उत्पादन हुने सूर्योदय नगरपालिकास्थित चिया उद्योगीको संस्था सूर्योदय टी एसोसिएसनका सचिव गोपाल कट्टेलले सरकारबाट सहुलियत नपाई सरकारले तोकेको ज्याला लागू गर्न नसक्ने बताए। उनले भारतमा बिक्री हुने चियालाई पनि सरकारले सहुलियत दिएमात्र ज्याला कार्यान्वयन सहज हुने जनाए।

सूर्योदय नगरपालिकाले पनि चिया व्यवसायीसँग श्रमिकको समस्याबारे छलफल थालेको छ। नगरपालिकाका मेयर रणबहादुर राईले मंगलबार कन्याम पुगेर व्यवसायीसँग न्यूनतम ज्याला कार्यान्वयनबारे छलफल गरेको बताए। ‘स्थानीय सरकारले पनि श्रमिकको ज्याला कार्यान्वयन गराउन पहल गरिरहेको छ,’ उनले भने, ‘उद्योगीसँग थप छलफल गर्नेछौं।’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापा र इलामका प्रमुख जिल्ला अधिकारीसँग चिया उद्योगी र श्रमिकका प्रतिनिधिको छलफल हुने बताए। उनले श्रम मन्त्रालयका सचिवसँग पनि श्रमिक आन्दोलनबारे छलफलको पहल गरिरहेको बताए।

प्रकाशित: २० चैत्र २०७५ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App