८ वैशाख २०८१ शनिबार
अर्थ

कारबाहीमा परेको व्यक्तिलाई जिम्मेवारी

काठमाडौं - राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेवानि) को कारबाहीमा परेका आरके शेरचनलाई महत्वपूर्ण मानिने जहाज सञ्चालन (अपरेसन) विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। जहाज उडाउँदा तोकिएको क्षमताभन्दा बढी तौल बोकेर आर्थिक अनियमितता गरेको आरोपमा पटकपटक कारबाहीमा परेका शेरचनलाई निगमका कार्यकारी अध्यक्ष मदन खरेलले महत्वपूर्ण जिम्मेवारी दिएका हुन्। निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले शेरचनलाई पटकपटक कारबाही गरेका थिए। सञ्चालन विभागले जहाज सञ्चालनको सबै काम गर्छ।

जहाज उडान र त्यसको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने विभागमा कार्यकारी अध्यक्ष खरेलले कारबाहीमा परिसकेका व्यक्तिलाई जिम्मेवारी सुम्पिएपछि थप अनियमितता हुने शंका उब्जिएको छ। पाइलटहरुले आफूले रकम लिन जहाजलाई तोकिएको क्षमताभन्दा बढी सामान राखेर उडाउने गरेका छन्। यसले एकातिर आर्थिक अपचलन हुने र अर्कोतिर दुघर्टना हुने जोखिम हुन्छ। ‘अपरेसन म्यानुअल’मा नेवानि तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कारबाही नभएको व्यक्ति मात्रै निगमको अपरेसन डाइरेक्टर बन्न पाउने उल्लेख छ। अपरेसन म्यानुअल निगमले मान्नै पर्छ। निगमका एक अधिकारीका अनुसार निगमको लागि अपरेसन म्यानुअल देशको लागि संविधान जस्तै हो। म्यानुअलको प्रावधानलाई बेवास्ता गरेर जहाजको क्षमताभन्दा बढी वजन बोकेर उक्त वजनको भाडा खाएबापत कारबाहीमा परेका पाइलट आरके शेरचनलाई अपरेसन डाइरेक्टरको जिम्मेवारी दिएको हो।

हुम्लाको सिमिकोट उडान गर्दा जहाजमा गैरकानुनी रुपमा सामान हालेको भन्दै उजुरी परेर शेरचनमाथि कारबाही भएको थियो। त्यसैगरी, २०६८ सालमा फाप्लु विमानस्थलमा जहाजमा बढी वजन राखेको पाएपछि प्राधिकरणले उनलाई कारबाही गरेको कागजपत्र नागरिकले फेला पारेको छ। उक्त कागजमा उल्लेख भएअनुसार पाइलट शेरचनलाई अब आइन्दा यस्तो कार्यमा संलग्न नरहन चेतवानीसहित एक हजार रुपैयाँ जरिवाना गरिएको थियो। पाइलट शेरचनले निगमलाई थाहा नदिई जहाजको क्षमताभन्दा बढी वजन बोकेर त्यसबापत आउने भाडा आफ्नै खल्तीमा हालेका थिए। पटकपटक उजुरी परेपछि प्राधिकरणले जाँचबुझ गर्दा बढी वजन बोकेको प्रमाणित भई कारबाही गरिएको थियो। हाल कार्यकारी अध्यक्ष रहेका मदन खरेल निगममा एमडी रहँदै शेरचन कारबाहीमा परेका थिए।

उनै खरेल निगमको कार्यकारी अध्यक्ष बनेर आएसँगै शेरचनलाई  म्यानुअल मिचेर विभागीय प्रमुखको जिम्मेवारी दिएका हुन्। शेरचन हाल एअरबस ३२० का पाइलट छन्। शेरचन एयरबस ३२० को क्याप्टेन तालिममा फ्रान्समा असफल भएर फर्किएका थिए। शेरचनले जिम्मेवारी पाएको सञ्चालन विभाग लथालिंग भएको निगमका एक अधिकारी बताउँछन्। पाइलटको तालिम तथा बढुवाको वार्षिक क्यालेन्डर समेत शेरचनले हटाएका छन्। जसले गर्दा पाइलटहरुबीच विवाद भएर उडानमै असर परिरहेको छ। हाल आन्तरिक उडानमा नौ जहाजमध्ये एउटा एमए६० र दुइटा टिवनअटरबाहेक ६ वटा जहाज ग्राउन्डेड छन्। त्यसैगरी, अन्तर्राष्ट्रिय उडानमा रहेका पाँच जहाजलाई पनि क्षमताभन्दा आधा मात्रै उडाइएको छ। बजार पनि रहेको, उडान सम्झौता पनि भएको अवस्थामा जहाजलाई गन्तव्य नभएको भन्दै क्षमताअनुसार उडाइएको छैन। अपरेसन विभागले योजना बनाएर पूर्ण रुपमा जहाज नउडाउँदा निगम मासिक ३१ करोड घाटामा छ।

प्रकाशित: २० चैत्र २०७५ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App