७ वैशाख २०८१ शुक्रबार
कला

रंगशाला बनाउन क्रिकेट खेल्दै कलाकार

काठमाडौं– कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णका लागि सहयोगार्थ आयोजना हुन लागेको ‘मातृभूमि कप’च्यारिटी क्रिकेट खेलका लागि नेपाली फिल्मका कलाकारहरू यतिबेला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्रशिक्षणस्थलमा क्रिकेट प्रशिक्षणमा व्यस्त छन्।

चितवनमा प्रस्तावित रंगशाला निमार्णका लागि नेपाल ‘ए’ र ‘बी’ का बीच च्यारिटी क्रिकेट खेल हुन लागेको हो। नेपाली फिल्मका कलाकार सुनिल थापा, वीरेन्द्र हमाल, निर्मल शर्मा, सन्तोष लामा र राजु ढकाललगायत नियमित प्रशिक्षणमा छन्। हास्य कलाकार कमल मैनाली र राष्ट्रिय क्रिकेटका प्रशिक्षक जगत टमाटाले उनीहरूलाई प्रशिक्षण दिइरहेका छन्। सिताराम र कुन्जनाको धुर्मुस सुन्तली फाउन्डेसनले च्यारिटी क्रिकेट खेलको आयोजना गर्दैछ।

‘चितवनमा बनाउन लागिएको प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको सहयोगार्थ आगामी शनिबार नेपाल ‘ए’ र ‘बी’ का बीच ‘मातृभूमि कप’ च्यारिटी क्रिकेट खेलको आयोजना गर्दैछौं। त्यसको लागि कलाकारहरू नियमित प्रशिक्षण लिइरहेका छन्। च्यारिटी क्रिकेट खेल हेर्न करिब २० हजार दर्शकहरू सहभागी हुनेछन् भन्नेमा आशावादी छौं’, फाउन्डेसनका अध्यक्ष सितारामले भने, ‘तीन अर्बको लगानीमा बन्न लागेको प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा कलाकार र खेलाडीहरू सहभागी भएर आठ ओभरको खेल खेल्नेछन्। च्यारिटी क्रिकेट खेलको टिकट दर ३ सय र १ हजार राखिएको छ।’

खेलअन्तर्गत पहिलो चरणमा कलाकारहरूले खेल्नेछन्। नेपाल ‘ए’ को नेतृत्व राष्ट्रिय टोलीका कप्तान पारस खड्काले र नेपाल ‘बी’ को नेतृत्व उपकप्तान ज्ञानेन्द्र मल्लले गर्दैछन्। दुबै टोलीको समर्थनमा कलाकारहरूले पनि छुट्टाछुट्टै टोली बनाएका छन्। हास्यकलाकार मदनकृष्ण श्रेष्ठको नेतृत्वमा आर्टिस्ट ‘ए’ र हास्यकलाकार हरिवंश आचार्यको नेतृत्वमा आर्टिस्ट ‘बी’ रहनेछ।

मदनकृष्णको नेतृत्वमा रहेको आर्टिस्ट ‘ए’ मा राजेश हमाल, सुनिल थापा, अनमोल केसी, निर्मल शर्मा, राजेशपायल राई, मणिराम पोखरेल, प्रदीप खड्का, माओत्से गुरुङ, बद्री पंगेनी, कर्मा शाक्य, सत्यराज आचार्य, शंकर बिसी, सन्दीप क्षेत्री, राजु ढकाल, कुमार कट्टेल र शिवहरी पौडेललगायत छन्। हरिवंशको नेतृत्वमा रहेको आर्टिस्ट ‘बी’ मा नीर शाह, दयाहाङ राई, हेमन्त शर्मा, भुवन केसी, आर्यन सिग्देल, पशुपति शर्मा, सरोज खनाल, स्वरुपराज आचार्य, पल शाह, रामजी खाँड, हेमन्त राना, निश्चल बस्नेत र किरण केसीलगायत छन्।

फाउन्डेसनले यसअघि भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउने कार्य सुरु गरिसकेको छ। खेलमा नेपाल ‘ए’ मा राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा, आरिफ शेख, अनिलकुमार शाह, रोहितकुमार पौडेल, सुनिल धमला, कमलसिंह ऐरी, भुवन कार्की र अविनाश बोहरा लगायत छन्। नेपाल ‘बी’ मा ज्ञानेन्द्रसहित दीपेन्द्रसिंह ऐरी, करण केसी, पवन सर्राफ, विक्रम सोब, ललितसिंह भण्डारी, बसन्त रेग्मी, विनोद भण्डारी र दिलीप नाथ लगायत छन्।

‘नेपाली क्रिकेटको विकासको लागि खेलाडीहरूले नियमित अभ्यास गनुपर्छ। अहिले नेपालमा नियमित क्रिकेट प्रतियोगिताको आयोजना गर्नुपरेको खण्डमा रंगशाला अभाव छ। यो रंगशाला बनेपछि खेलाडीहरूलाई समेत नियतिम रूपमा यसमा विभिन्न खेलहरू खेल्न सजिलो हुनेछ’, सितारामले भने।

सितारामले आगामी शनिबार हुने ‘मातृभूमि कप’ले दर्शकलाई मनोरन्जन दिने दाबी गरेका छन्। ‘यस प्रतियोगितामा सहभागी भएर विभिन्न संस्थाहरूले रंगशाला निर्माणमा सहयोग गर्न सक्नेछन्। त्यस्तै कलाकारहरूले रंगशाला निर्माण अवधिभर साथ दिनेछन्’, उनले भने। 

प्रकाशित: २० चैत्र २०७५ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App