६ वैशाख २०८१ बिहीबार
समाज

लत्ताकपडा पठायौं: गृह मन्त्रालय, पीडित भन्छन्– पाएनौं

बारा– बारा र पर्साका हावाहुरी प्रभावितले सरकारी राहत नपाएको गुनासो गरेका छन्। पीडितहरूले अत्यावश्यक सामग्री नपाएको गुनासो गरेका हुन्। सरकारले पठाएको त्रिपाल भने प्रभावित क्षेत्रमा पुगेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीले अस्थायी टहरा पनि बनाइरहेका छन्। 

हुरीले घर भत्काउँदा सबै लत्ताकपडा पुरिएको छ। अहिले उनीहरूलाई लत्ताकपडासँगै खाद्यन्न पनि आवश्यक छ। स्थानीय तहले समाजसेवीसँग सहकार्य गरेर खानको व्यवस्था त गरिरहेको छ। तर केन्द्र सरकारले खाद्यन्नका लागि पहल नगरेको स्थानीय तहले गुनासो गरेको छ। 

‘स्थानीय सरकारले संघसंस्थासँग सहकार्य गरेर खाना खुवाइरहेको छ’, फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील यादवले भने, ‘तर केन्द्र सरकारको तर्फबाट त्रिपालबाहेक केही आएको छैन।’

यता, गृहमन्त्रालयले भने ४६८ थान त्रिपाल, सर्ट, पाइन्ट तथा लत्ताकपडा ४१३८ थान तथा २ रोल कपडासहित तीन ट्रक सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको जनाएको छ। 

‘खाद्यन्नको व्यवस्था जिल्ला विपद् व्यवस्थापन समितिले गर्छ। शीतलहरका लागि हामीले पठाएको पैसा बाँकी छ। त्यहीबाट व्यवस्थापन गर्ने हो’, गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘सिडियो त्यसको अध्यक्ष हुन्छन्। सिडियो प्रभावित क्षेत्रमा खटिनुभएको छ। पीडितहरूले उहाँलाई भन्नसक्नुहुन्छ।’

तर पीडितहरूले भने सरकारी राहत नपाएको गुनासो गरेका छन्। उनीहरूले त्रिपालबाहेक केही नपाएको गुनासो गरे। ‘१० जनाको परिवार छ। एउटा त्रिपालको छाप्रो बनेको छ। निकै कष्टसँग रात बित्यो’, फेटाका पीडित जीतु नेसा भन्छिन्, ‘त्यहाँ पनि लामखुट्टे किरा–फट्याङ्ग्राले उस्तै दुःख दिन्छ।’

भित्री गाउँका पीडितले राहत नपाएको गुनासो गरेका छन्। ‘बाटो छेउकाले पाउँछन्। राहत बाँड्ने पनि यता आउँदैनन्’, फेटाका पीडित नुर्जान मियाले भने, ‘भित्रि गाउँ भएकाले राहत पाइएनँ।’ 

प्रकाशित: २० चैत्र २०७५ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App