८ वैशाख २०८१ शनिबार
विचार

कुलमानलाई खुलापत्र

कुलमान घिसिङ सर, म सामान्य नागरिक, यहाँलाई भेट्न सक्ने त कुरै भएन। तर प्रयास भने नगरेको होइन। तर अहिलेसम्म सफल हुन सकिनँ। यसैले यो खुलापत्र लेखेको हुँ। कुरा विद्युत्सँग सम्बन्धित मेरो व्यक्तिगत घटना हो। तर यो मेरोमात्र नभई मजस्तै सर्वसाधारण सबै जनताको समस्या हो।  त्यसकारण घटना व्यक्तिगत भए पनि समस्या सामूहिक भएका कारण यहाँ लेख्न आवश्यक ठानेको हुँ।

घरमा विद्युत् क्षमता वृद्धि गर्नु थियो। त्यसैले मैले भक्तपुरको दूधपाटीस्थित विद्युत् वितरण केन्द्रमा निवेदन दिएँ– यही चैत १५ गते। मेरो निवेदनअनुसार चैत १७ गते दिउँंसो १ बजेतिर विद्युत्का कर्मचारी मेरो घर आए, मिटरमा क्षमता बढाउन। त्यस क्रममा मिटरको बाहिरको सिल तोड्नुअघि ठीक थियो भन्ने कुरा भयो। त्यसपछि खोलेर मिटर हेरे पाँंच मिनेटजति। अनि अक्मकिँदै ती कर्मचारीलिे टोलीका अरू साथीसँग सोधे, ‘यहाँ हेर्नुहोस् त यो ठीक छ कि छैन ?’ त्यसपछि महिला कर्मचारीले अनभिज्ञता प्रकट गर्दे भनिन्, ‘म पनि क्लियर भइनँ, के गर्ने होला ?’ यति कुरा भएपछि कर्मचारीले मलाई भने, ‘सर यो मिटर ठीक छ कि छैन, हामी क्लियर भएनौं, त्यसकारण एकपटक अफिसमा देखाउन लानुहोला, ठीक रहेछ भने यही राखिदिउँला नभए तपाईंले नयाँ मिटर राख्नुपर्ला। बरु आजै राख्नुपर्छ छिटो दौडिनुहोला।’ त्यसपछि मिटर लिएर म विद्युत् कार्यालय दौडिएँ।

विद्युत् कार्यालय पुगेपछि मलाई भनियो, ‘तपाईं आधा घण्टापछि आउनुहोला। यो अहिले प्रोसेसमा छ।’ आधा घण्टापछि फेरि भनियो, ‘तपाईं चुहावटमा पर्नुभयो, त्यसकारण अपराध कबोल लेखिएको तयार फारममा अपराध स्वीकार गरी सहि गर्नुहोस्, ३० हजार रुपैयाँ तिर्नुहोस् र नयाँं मिटर जडान गर्नुहोस्।’

विद्युत् चुहावट गर्नु हुँदैन, यो अपराध हो भन्ने विचार र व्यवहारमा अडिग म विद्युत् कर्मचारीका कुरा सुनेर अच्चममा परें। त्यसपछि मैले भनें, ‘हामीले न कहिले चुहावट गरेका छौं न गर्ने नै छौं। कसरी यो आरोप लाग्यो मलाई ?’ यति भनेपछि कार्यालय प्रमुख प्रज्वलमान श्रेष्ठले ‘तपार्इं पीडित हुनुहुन्छ भने म जरिवानामा थप १५ प्रतिशत छुट गरिदिन्छु, यत्ति पैसा तिरेर अपराध कबोल गरी मिटर लानुस्’ पो भने। त्यसपछि पनि मैले मानिनँ। बिनाअपराध म कसरी कबोल गर्न सक्छु ? कुरा नमिल्ने देखेपछि म त्यसदिन त्यत्तिकै बाहिरिएँ।

पर्सिपल्ट बिहानै १० बजे म फेरि विद्युत् वितरण केन्द्र पुगें श्रीमतीसहित।  हामीले हाकिमलाई कुरिहरयौं। तर उनी त दिउँसो १ बजेमात्रै कार्यालय आइपुगे। त्यसपछि हामीले आफ्नो कुराहरू राख्यौं। हाम्रो पहिलो प्रश्न थियो, ‘बाहिरको सिल ठीक हुने तर भित्रको बिग्रने कसरी भयो ? अर्काे कुरा, हामीले एक वर्षअगाडि भूकम्पका कारण क्षति भएको  पुरानो घरबाट नयाँं घरमा यही मिटर ल्याएका थियौं। त्यस बेला पनि मिटरका सबै कुरा जाँच गरिएको थियो। सबै ठीकठाक छ भनरे राखिदिएका थिए। अहिले आएर यो कसरी बिग्रियो ?’

त्यसपछि पनि विद्युत् हाकिमको उही कुरा दोहोरियो, ‘तपाईं चुहावटमा पर्नुभयो। अपराध कबुल गर्नुस्, पैसा तिर्नुस् नभए अरू जे गर्न सक्नुहन्छ गर्नुस्।’ सबै काम विधिमा चल्नुपर्छ भन्ने मान्यता राख्ने मैले पहिलोपटक आउँदा आफू सञ्चारकर्मी भएको कुरा बताएको थिइनँ। तर ज्यादै दुःख दिन थालेपछि मैले यसपटक आफ्नो वास्तविक परिचय दिएँ। तर हाकिमले झन् रिसाउँदै फेरि भने, ‘तपाईं जे गर्नसक्नुहुन्छ, गर्नुस्, जानुस्, मसँग धेरै कुरा नगर्नुस्।’ त्यसपछि मैले पनि चर्केर भनें, ‘ठीक भए यही मिटर राख्ने नभए पैसा तिरेर नयाँ मिटर राख्नुपर्छ भनेर पहिला भन्ने अनि अहिले आएर चुहावटको आरोप लगाउने ? साथै मुचुल्का नउठाई मिटर उठाउने अनि यहाँ आएपछि अनेक बहाना बनाएर फसाउन खोज्ने ? गर्दै नगरेको अपराध कसरी स्वीकार गर्ने ?’ अगाडि भन्दै गएँ, ‘अनि अर्काे कुरा, मेरो नयाँ घरमा एक तलामा मात्रै विद्युत् जडान भएकाले ३० हजार जरिवाना कसरी निस्कियो ? नियमअनुसार के–केमा विद्युत् खपत भएर के–कति चुहावट भयो लिस्ट पाउँ।’ तर उनले मानेनन्।

कुलमान सर,
यस घटनामा मेरो एउटै प्रश्न के हो भने गर्दै नगरेको अपराध म कसरी कबोल गरौं ?’ जीवनमा आजसम्म मैले कसैको एकपैसा खाएको छैन। अहिले आएर विद्युत् कर्मचारीले आरोप लगाउँदैमा म कसरी कबोलपत्रमा हस्ताक्षर गरेर हुँदै नभएको गल्ती स्वीकार गर्न सक्छु ? पदमा छु, पावरमा छु, पहुँमा छु भन्दैमा आफूले जे भन्यो त्यही नै ठीक, त्यही नै हुनुपर्छ भन्ने मानसिकता कहिलेसम्म बोकिरहने हाम्रा हाकिमसा’बहरूले ? मसँग यतिबेला दुई विल्कप छन्– पहिलो, चुहावट नगरे पनि जरिवाना तिरेर मिटर जडान गर्ने। दोस्रो, घरमा बिजुली नबाली अन्धकारमै बस्ने।

मलाई अहिले जुन समस्या परेको छ त्यो धेरै उपभोक्ताले भोगिरहेको व्यथा हो– मिटरसँग सम्बन्धित जुनै काम पर्दा पनि विद्युत चुहावट गरेको हुँ भनेर कबोल गरी सहीछाप गर्नुपर्ने। मिटर हराए पनि, बिग्रे पनि। यसरी अनाहकमा अपराधी हुन बाध्य छन् उपभोक्ता। बिना अपराध जरिवाना तिराउन बाध्य पार्ने यस्ता विद्युत् कर्मचारीलाई कारबाही हुन्छ कि हुँदैन कुलमान सर ?

प्रकाशित: २० चैत्र २०७५ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App