coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुदूरपश्चिम र प्रदेश ३ सरकारको एक/एक करोड सहयोग

काठमाडाैँ । प्रदेश २ का बारा र पर्सामा गत आइतबार आएको हावाहुरीका कारण भएको धनजनको क्षतिप्रति प्रदेश सरकारहरूले दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेका छन्। सोही क्रममा सुदूरपश्चिम तथा प्रदेश ३ सरकारले आ–आफ्नो तर्फबाट एक÷एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरीपिडीतलाई १ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशसभाका सांसदले पनि एक दिन बराबरको तलब सहयोग गर्ने घोषणा गरेका छन्। प्रदेशमा ५३ जना सांसद छन्। मन्त्रिपरिषद्को मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले हावाहुरीबाट ज्यान गुमाएका परिवार, घाइते, विस्थापित भएकालाई एक करोड सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए। ‘प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा एक करोड रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘प्रदेश २ मा विपद् आउदाँ भाइचाराको नाताले सरकारले सहयोग गर्ने निर्णय गरेको हो।’

मन्त्रिपरिषद् बैठकले हावाहुरीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। बैठकले प्रदेश विपद् जोखिम तथा व्यवस्थापन सम्बन्धी बिधेयक र प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्विकृति प्रदान गरेको उनले बताए। त्यसैगरी, सुदूरपश्चिम प्रदेशसभाका सांसदहरूले एक दिनको पारिश्रमिक दिने भएका छन्। मंगलबार बसेको तेस्रो अधिवेशनको १९ औं बैठकमा अध्यक्षता गरेकी उप–सभामुख निर्मला बडाल जोशीले सासंदहरूले पीडितको सहयोगको लागि एक दिनको पारिश्रमिक दिने जानकारी गराइन्। यसअघि मंगलबार २ बजे सुरु भएको प्रदेशसभा बैठकमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिँदै एक मिनेट मौन धारण गरिएको थियो। बैठकले घटनाप्रति शोक प्रस्ताव पारित गरेको थियो। शोक प्र्रस्ताव पारितपछि १५ मिनेट बैठक स्थगित भएर पुनः बसेको थियो।

यसैगरी, प्रदेश ३ सरकारले बारा र पर्साका हुरीपीडितका लागि तत्काल एक करोड रूपैयाँ सहयोग गर्ने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले हुरीका कारण घरबारविहीन बनेका जनताको आवास निर्माणका लागि राहतस्वरूप एक करोड रूपैयाँ सहयोग दिने निर्णय गरेको हो। बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश तीन सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए। प्रारम्भिक चरणमा एक करोड रूपैयाँ सहयोग गर्ने र अन्य विभिन्न खाले सहयोग जारी राहने मुख्यमन्त्री पौडेलले बताए। विपद्का बेला यो वा त्यो प्रदेश नभनी सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ। मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्रीसहितको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो। बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको प्रदेश बीउविजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ स्वीकृत गरेको छ।

प्रकाशित: २० चैत्र २०७५ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App