coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रित्तो हात आए, धुलोमात्रै उडाए

कलैया (बारा) - बारा र पर्साका हुरीपीडित यति बेला उद्धार र राहतको पर्खाइमा छन्। तर आहतलाई राहत दिनुको साटो प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता बारा र पर्साको स्गलगत भ्रमणमै व्यस्त छन्। प्रधानमन्त्री देखि शीर्ष नेताहरूको प्रभावित क्षेत्रको निरीक्षण प्रतिस्पर्धाले राहत र उद्धार असहज बनाएको छ। पहिलो चरणको उद्धार र राहतको काम सकिन नपाउँदै प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूको लगातारको आउजाउले सुरक्षाकर्मीको प्राथमिकता पनि बाँडिन पुगेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जनशक्ति आइतबार रातभरि उद्धारमा खटिएको थियो। तर सोमबार प्रधानमन्त्रीलगायत शीर्ष नेताहरू यस क्षेत्रमा आउन थालेपछि उनीहरूको प्राथमिकता उद्धार र राहतमा मात्र केन्द्रित हुन पाएन। कारण थियो प्रधानमन्त्रीसहितका शीर्ष नेताको सुरक्षामा परिचालन हुनुपरेको अवस्था। ‘भिभिआइपी र भिआइपी आएपछि उहाँहरूलाई सुरक्षा दिनु हाम्रो जिम्मेवारी हो,’ एक सुरक्षा अधिकारीले भने, ‘उहाँहरूलाई ल्याउनुपर्‍यो, निश्चित ठाउँसम्म पुर्‍याउनुपर्‍यो। त्यसको साटो जनशक्ति उद्धार र राहतमा खटिएको भए आज (मंगलबार) सम्म प्रभावितले केही न केही पाउनुहुन्थ्यो।’

बारा प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले भिआइपीहरूको आवतजावत बढी नै भए पनि उद्धारमा खटिएको जनशक्ति नचलाइएको दाबी गरे। प्रभावित सबै क्षेत्रमा नेपाल प्रहरीसहितका टोली राहत र उद्धारमा खटिरहेको जिकिर गर्दै भने, ‘मोटरसाइकलमा बाटो देखाइदिनेबाहेक हामी उहाँहरू (भिआइपी) को पछि लागेका छैनौं। सुरक्षा निकायका सबै युनिटले आआफ्नो ठाउँमा काम गरिरहेका छन्।’ नेताहरू आउनेजाने क्रमले प्रभावितलाई आशा र भरोसा नभई निरासमात्र बनाएको, राहत वितरणमा पनि समस्या आएको एक अधिकारकर्मीले बताए। उनले भने, ‘अब नेताहरू नआए राहत वितरणको काम सहज हुने थियो।’

‘हेर्न र सोध्नलाई धेरै मान्छे आए तर कसैले केही दिएनन्। सबैले उल्टै धुलो उडाएर गए।’

प्रभावितहरूको उपचारका लागि काठमाडौंबाट सोमबार नै कलैया आइपुगेका चिकित्सक गोविन्द केसीले उचित राहतको प्रबन्ध नगरी नेताहरु प्रभावित क्षेत्रमा आउनुको कुनै अर्थ नरहेको बताए। ‘प्रधानमन्त्री, नेताहरूको भ्रमणले भावनात्मक रूपमा नजिक ल्याउला तर राहत र उद्धार प्रभावित हुन्छ,’ केसीले भने, ‘पहिलो काम आवश्यक राहत र उद्धारको प्रबन्ध गर्नु हो। अहिले देखाउन आउने बेला होइन।’ राज्यको स्रोतसाधन मात्र नभएर सुरक्षा निकायको ध्यान पनि अन्यत्र केन्द्रित गर्नुपरेको बताउँदै उनले भने, ‘सबै एउटै हेलिकप्टरमा आएको भए पैसा र सुरक्षा जनशक्ति पनि बचत हुन्थ्यो, जनतामा राम्रो सन्देश पनि जान्थ्यो।’

उद्धार र राहत चुस्त बनाउन निर्देशन दिए पुग्ने प्रधानमन्त्री केपी शर्मा ओली सोमबार प्रभावित क्षेत्रको निरीक्षणमा आइपुगे। उनीसँग गृहमन्त्री रामबहादुर थापासहित सुरक्षा निकायका प्रमुख पनि आए। केही ठाउँको हवाई अवलोकन गरेका प्रधानमन्त्री केही अस्पतालमा पुगेर घाइतेको आवस्थाको जानकारी लिएर फर्के। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसहितका नेताहरूको टोलीले पनि सोमबार नै प्रभावित क्षेत्र निरीक्षण गर्नुका साथै घाइतेको उपचार भइरहेको अस्पताल पुगेको थियो।

मंगलबार पनि बिहानैदेखि नेताहरूको निरीक्षण क्रम सुरु भयो। निरीक्षणका लागि प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा प्रभावित क्षेत्र आइपुगे। यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरू पनि निरीक्षणका लागि आइपुगे। दुई रात खुला आकाशमुनि बिताएका पीडितलाई नेताहरूले पनि प्रधानमन्त्रीले जस्तै आश्वासनमात्रै दिए। त्यसले पीडितलाई राहत होइन, निराश बनाउने काम गर्‍यो। ‘आश्वासनले पेट भरिँदैन,’ बारा भरबलियाका टंकेश महतोले भने, ‘ओहो दुःख परेको छ भनेर सबै फर्कनुभयो।’

प्रभावित क्षेत्र हेर्न आएका व्यक्तिहरूले सयपचास रुपैयाँमात्र राहत रकम दिएको भए पनि सामूहिक आवासको व्यवस्था हुन सक्ने महतोले सुनाए। आएकामध्ये केहीले मात्रै बिस्कुटसहितका सामान्य राहत सामग्री ल्याएको सुनाउँदै उनले भने, ‘केन्द्र सरकारले प्रभावितलाई राहतको ठोस कार्यक्रम त घोषणा गरेको छैन, कहिले घर बनाएर बस्ने ?’ भरबलियाकै शिवशंकर यादवले बिहानैदेखि नेताहरूको लाइन लागे पनि राहत नपाएको गुनासो गरे। ‘हेर्न र सोध्नलाई धेरै मान्छे आए तर कसैले केही दिएनन्’, यादवले भने, ‘सबैले उल्टै धुलो उडाएर गए।’ पार्टीका नेताहरू आएर आश्वासन दिए पनि केन्द्र र प्रदेश सरकारले अहिलेसम्म केही नदिएको सुनाउँदै उनले भने, ‘जेजति दिएका छन्, गाउँका धनीमानी र हुनेखानेले दिएका छन्।’

प्रकाशित: २० चैत्र २०७५ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App