coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘अख्तियारले साना माछा मात्रै समात्यो’

खोटाङ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला भ्रष्टाचारीलाई समात्न नसकेको’ खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले गुनासो गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मंगलबार दिक्तेलमा आयोजना गरेको भ्रष्टाचारको नियन्त्रणमा आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले स–साना भ्रष्टाचारीलाई अख्तियारले समाते पनि ठूला भ्रष्टाचारीलाई समातेर कारबाही गर्न नसकेको गुनासो गरेका हुन्। 

कार्यक्रममा सहभागी बलराम आचार्यले ‘साना माछा मात्र समातिँदा’ संवैधानिक आयोगका रुपमा रहेको अख्तियारप्रतिको बिश्वास गुम्ने खतरा बढेको औल्याए। ‘ठूला माछा जहाँ पनि उम्किरहेको छ, साना माछा मात्र जालमा परिरहेको छ,’ आचार्यले भने, ‘ठूला माछा उम्किरहने हो भने आयोगप्रतिको बिश्वास घट्ने खतरा छ, आयोगप्रतिको बिश्वासलाई जोगाउनुपर्ने अवस्था छ।’ 

सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश सदस्य सूर्य राईले देशका विशिष्ट नेताको नाम भ्रष्टाचारमा मुछिँदा समेत आयोगबाट जवाफ आउन नसकेको बताए। ‘अख्तियार आफैभित्र पनि समस्या देखिन्छ। ठूला मान्छेमाथि उठेका प्रश्नको जवाफ पनि जनताले पाउँदैन,’ प्रदेश सदस्य राईले भने, ‘भ्रष्टाचारको धेरैभन्दा धेरै उजुरी अख्तियारमा पर्नुपर्छ, उजुरी परेन भने बिश्वास घटेको ठहरिन्छ।’ सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश सदस्य रामकुमारी राईले अख्तियारको पहुँचलाई गाउँ–गाउँमा पु¥याउन आग्रह गरिन्। 

सहभागी मोहन गुरुङले नियतवस र अन्जानमा भएका अनियमिततालाई छुट्याएर दोषी पत्ता लगाएर कारबाही गर्न अख्तियारको ध्यानाकर्षण गराए। कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख सह–सचिव महेश आचार्यले कारबाही गर्नेक्रममा ‘ठूला माछा र साना माछा’ भनेर फरक व्यवहार नगरेको बताए। 

खोटाङबाट १३ वटा मुद्धा दर्ता 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७४/०७५ मा खोटाङबाट एक दर्जन बढि मुद्धा दर्ता भएको छ। आर्थिक वर्ष २०७४÷०७५ को सुरुदेखि हालसम्म शिक्षा, संघीय मामिला, उर्जा, सिँचाई र स्वास्थ्य सम्वन्धी १३ वटा उजुरी परेको हो। जिल्लाबाट सबैभन्दा बढि उजुरी शिक्षा सम्वन्धी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका उप–सचिव नरेन्द्रप्रसाद भट्टराईले जानकारी दिए। 

अख्तियारका अनुशार यस आर्थिक वर्ष शिक्षामा ९ वटा, स्थानीय तह सम्वन्धी १ वटा, उर्जा सम्वन्धी १ वटा, सिँचाई सम्वन्धी १ वटा र स्वास्थ्य सम्वन्धी १ वटा उजुरी परेको छ। अघिल्लो वर्षबाट सरेको ६ वटा सहित ८ वटा मुद्धा फस्र्योट भएको उप–सचिव भट्टराईले बताए। परेका कुल उजुरीमध्ये शिक्षाको ४ वटा, स्थानीय सरकार सम्वन्धी १ वटा, भूमिसुधारका १ वटा, सिँचाईका १ वटा र स्वास्थ्यका १ वटा मुद्धा फस्र्योट भएको अख्तियारले जनाएको छ। 

भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले जिल्लाका सामुदायीक वन उपभोक्ता महासंघका पदाधिकारीसँग अन्तरक्रीया गरेको छ। भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त बनाउनका लागि आयोगले सामुदायीक वनकर्मीलाई भ्रष्टाचारका बारेमा जानकारी दिनुका साथै शुसासन कायम गर्न आग्रह गरेको छ।

प्रकाशित: १९ चैत्र २०७५ १५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App