७ वैशाख २०८१ शुक्रबार
समाज

हावाहुरी पीडितलाई प्रदेश ३ सरकारले एक कराेड सहयाेग गर्ने

हेटाैंडा - प्रदेश ३ सरकारले बारा र पर्सा हावाहुरीले क्षति पुर्याएका पीडितहरूलाइ तत्काल एक कराेड रुपैयाँ सहयाेग गर्ने भएकाे छ। 

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले चैत्र १७ गते राति आएको हावाहुरीका कारण घरबारबिहीन जनताको आवास निर्माणका लागि राहतस्वरुप उक्त रकमकाे सहयोग गर्ने निर्णय गरेको हो। बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाइ राहत रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए।

प्रारम्भिक चरणमा एक करोड सहयोग गरे पनि अन्य विभिन्न खाले सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए । विपदको घडीमा यो वा त्यो प्रदेश नभनी सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली तथा आफन्तजनप्रति समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन्। 

सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री सहितको टोली प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्केको थियो। निरीक्षणकै क्रममा मुख्यमन्त्री पौडेलले सहयोगकाे घोषणा गरेका थिए। प्रभावित क्षेत्रको निरीक्षणपश्चात बाराको कलैया अस्पताल र वीरगन्जकाे नेसनल मेडिकलमा गएर घाइतेहरुको अवस्थाको जानकारीसमेत उनले लिएका थिए।

यसैगरी मंगलबार नै बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ स्वीकृत गर्ने निर्णय गरेको  ढुंगेलले जानकारी दिए।

प्रकाशित: १९ चैत्र २०७५ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App