coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विप्लवले बन्दुक बोक्नुपर्दैन, मुलुक समृद्धितिर लम्किसक्यो :  मुख्यमन्त्री राई

सोलुखुम्बु - विप्लव समूहले बन्दुक बोकिरहनुपर्ने अवस्था नरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। माप्य दूधकोसी गाउँपालिकाको समीक्षालय हल र प्रहरी चौकी भवन उद्घाटनमा पुगेका उनले मुलुक समृद्धिको दिशामा अघि बढिसकेको भन्दै संघीय संरचनाबाट मात्र विकास सम्भव भएको बताए। 

उनले भने, ‘सडक, पिउनेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, बेरोजगारी र गरिबी अन्त्यका लागि तीनै तहको सरकार लागिपरेका छन्।’ जनता ढाँट्ने सुविधा जनप्रतिनिधिलाई नभएकाले भन्दै उनले समृद्धि नआउला कि भन्ने शंका नगर्न सबैलाई आग्रह गरे। 

पर्यटन र कृषिको विकास, जलस्रोतको उपयोगिता, रोजगारी सृजनालगायत विषयमा गम्भीर ढंगले प्रदेश सरकारल लागिपरेको उनको भनाइ थियो। हिमाल र तराई जोड्न लागि केचनापुरदेखि सगरमाथासम्म केवलकारको अवधारणा अघि बढाएको मुख्यमन्त्रीले बताए। प्रदेश र संघीय सरकारसँग समन्वय गरेर दिगो विकासमा लाग्न स्थानीय तहलाई आग्रहसमेत गरे।

प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘शुरवीर’ले भौतिक पूर्वाधारका हिसाबले जिल्लाले फड्को मारेको दाबी गरे। संघीय संरचनामा स्थानीय तहका जनप्रतिनिधिहरुले घरदैलोमै पुगेर जनमुखी काम गरेको आफूले पाएको राईले बताए। उनले भने, ‘केन्द्र विवादका कारण माप्य दूधकोसीले अन्य संरचना निर्माण गर्न नसकेको हो। मैले ग्रामीण विकास राम्रो भएको पाएको छु।’

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जनताको आवश्यकताको आधारमा बजेट व्यवस्था र कार्यान्वयनमा जनप्रतिनिधिको ध्यान जान आवश्यक रहेको बताए। उनले भने, ‘एकैसाथ सम्पूर्ण क्षेत्रको विकास र सुधार हुँदैन। स्रोत साधनको समुचित प्रयोगबाट विकास क्रमशः हुँदै जानेछ।’ 

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले हिमाली र पहाडी जिल्लाको विकासको लागि समानुपातिक विकासको अवधारणाअनुसार विकास बजेट विनियोजन गर्नुपर्ने बताए। उनले तराई र हिमाली जिल्लालाई हेर्ने दृष्टिकोण फरक हुन सके मात्र हिमाली जनताको मुहारमा हाँसो छर्न सक्ने बताए।

माप्य दूधकोसी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खुम्बु पासाङल्हामु गाउँपालिका र गाउँपालिकाको सहकार्यमा नौ करोड लगानी र्ओलाङघाटस्थित दूधकोसी नदीमा बन्न लागेको मोटरेबल पुललाई आवश्यक बजेट माग गरे। अध्यक्ष राईले खालिङ समुदायको संस्कृति झल्कने चिण्डो निर्माण, वाकुस्थित तामाखानी उत्खनन् र ठूला जलविद्युत आयोजना संचालनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए। 

गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरले निर्वाचनका बेला जनाइएको प्रतिबद्धताअनुसार विकासका क्रियाकलाप सञ्चालन गरिरहेको दाबी गरिन्। समिक्षालय हल गाउँपालिकाको ३२ लाख र ६४ लाखको लागतमा बासा प्रहरी चौकी भवन निर्माण गरिएको हो। कार्यक्रमका अवसरमा जग्गादाता वडा नं ३ का नवराज राईलाई सम्मानपत्रसहित सम्मान गरिएको छ।

 

प्रकाशित: १९ चैत्र २०७५ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App