coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कंग्रेससम्बद्ध कैयौं फेसबुक पेज बन्द

नयाँ दिल्ली– भारतको प्रमुख विपक्षी दल कंग्रेससम्बद्ध ७१२ वटा फेसबुक खाता र ३९० वटा पेज बन्द गरिदिएको छ। अनधिकृत गतिविधि गरेको पाइएकाले ती खाता र पेज बन्द गरिएको फेसबुकले सोमबार जनाएको छ।

त्यसरी हटाइएका मध्ये भारतीय कंग्रेससम्बद्ध ५४९ फेसबुक खाता र १३८ पेज ‘साझेदारी रूपमा अनधिकृत गतिविधि सञ्चालन गर्ने’ पाइएको फेसबुकले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले प्रोमोट गरेको केही भारतीय कम्पनीसम्बद्ध मोबाइल एपसँग सम्बन्धित केही खाता पनि बन्द गरेको फेसबुकले जनाएको छ।

‘यो गतिविधि पछाडिका मानिसले आफ्नो परिचय लुकाउने प्रयास गरेपनि हामीले गरेको समीक्षाले तिनीहरू भारतीय राष्ट्रिय कंग्रेसको आइटी एकाईका व्यक्तिहरू भएको थाहा भयो,’ फेसबुकको साइबर सेक्युरिटी पोलिसीका प्रमुख नथेनिएल ग्लेचरले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्। ‘हामीले आज हटाएका अभियानबीच कुनै सम्बन्ध भेटेका छैनौं तर उनीहरुले अरुलाई गलत बाटो देखाउनका लागि उस्तै उपाय अपनाएको भने भेटेका छौं,’ ग्लेचरले जारी गरेको विज्ञप्तिमा भनिएको छ। भारतमा हुन लागेको आसन्न निर्वाचन अघि मतदान हुने क्षेत्रमा आन्तरिक अनुसन्धान गरेर फेसबुकले विषयवस्तु नभई गतिविधिसँग सम्बन्धित खाताहरु हटाएको उनले बताए। 

फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले ‘फेकन्युज’ भनिने मिथ्या समाचार फैलिनबाट रोक्न सम्बन्धित देशकै सरकारले थप कदम चाल्नु पर्ने भन्दै आह्वान गरेको एकदिनपछि फेसबुकले यस्तो कदम चालेको छ।

विशेषगरी निर्वाचनअघि कुनै पनि राजनीतिक फाइदाका लागि वा गलत सूचना फैलिन नदिनका लागि फेसबुकले विश्वस्त बनाउनु पर्ने माग विश्वभरबाट बढ्दो रूपमा आइरहेको समयमा विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निर्वाचन अघि उसले चालेको कदमलाई अति नै अर्थपूर्ण रूपमा हेरिएको समाचार एजेन्सी रोयसर्टले जनाएको छ। विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले फेकन्युजको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्ने देखाउन पनि यस्तो कदम चालेको हुनसक्ने कतिपय विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

यसैबीच फेसबुकले छिमेकी पाकिस्तानमा पनि ५७ वटा फेसबुक खाता, २४ वटा पेज, सात वटा गु्रप (समूह) र १५ वटा इन्स्टाग्राम खातालाई पनि अनधिकृत गतिविधि गरेको भन्दै बन्द गरिदिएको छ। ती खाताहरु पाकिस्तानी सेनाको एकाईका सदस्यहरुसँग सम्बन्धित रहेको बताइएको छ। 

भारतमा अप्रिल ११ देखि लोकसभाको निर्वाचनका लागि मतदान सुरु हुँदैछ। विभिन्न सात चरणमा सम्पन्न हुने निर्वाचन मे १९ का दिन समापन हुनेछ। निर्वाचन आउनुभन्दा केही समयअघि गत महिना भारत प्रशासित कास्मिरको पलुवामा भएको आत्मघाती आक्रमणमा परी ४० अर्धसैनिक सदस्यको मृत्यु भएको थियो। सो आक्रमणको जिम्मेवारी पाकिस्तान आधारित लडाकु समूह जैस–ए–मोहम्मदले लिएको थियो। पलुवामा आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतको आरोप छ। सो आक्रमणपछि दुई देशबीचको सम्बन्ध तनाबग्रस्त रहेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरोधीहरुले चुनावी प्रयोजनका लागि उनले कास्मिर विषयलाई बढी नै उचालेको आरोप पनि लगाउने गरेका छन्। तर उनले भने आफूविरुद्ध सामाजिक सञ्जाल प्रयोग हुने गरेको बताउँदै आएका थिए। यही समयमा फेसबुकले कंग्रेसका खातामा अकुंश लगाइदिएपछि मोदीको आरोपमा थप बल पुगेको छ।

पार्टीसम्बद्ध फेसबुक खाता बन्द गरिएको विवरण बाहिरिएपछि कंग्रेस आईले ट्विट गरेको छ। उसले आफ्ना कुनै पनि आधिकारिक पेज र प्रमाणित स्वयंसेवकले प्रयोग गर्ने खाता बन्द नभएको जनाएको छ। 

उसले कुनकुन खाता बन्द गरिएका हुन् त्यसबारे फेसबुकसँग विवरण माग गरिएको र सो विवरण पाउनेमा आफू आशावादी रहेको बताएको छ। 

 

प्रकाशित: १९ चैत्र २०७५ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App