७ वैशाख २०८१ शुक्रबार
विचार

कौटिल्यको अर्थशास्त्रमा सदाचार

पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो। मानिस असल जीवन यापनका लागि व्यक्तिगतरूपमा सदाचारी हुनुपर्छ। व्यक्तिगत जीवन सफल बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित विषय, आहार, बिहार तथा गर्न हुनेनहुने काम, कुरा र व्यवहारबारे शास्त्रमा चर्चा छ। यस्तै परिवारसँगको सम्बन्ध र कर्तव्य, समाजसँगको सम्बन्ध र कर्तव्य, राष्ट्रसँगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसँगको सम्बन्ध र कर्तव्यबारे पनि विभिन्न शास्त्रमा वर्णन छ। मानिसको दिनचर्या, आश्रम प्रबन्ध, कानुनको पालना मात्र होइन, राजादेखि जनपदका सेवकसम्मले गर्न हुने, नहुने र गर्नुपर्ने कुरा पनि उल्लेख छ। पश्चाताप र प्रायश्चितको वर्णन छ। राजादेखि राज्यका अन्य अधिकारी र कर्मचारीको योग्यता र अयोग्यताबारे पनि चर्चा छ। समयमा सेवा प्रदान गर्नुपर्नेदेखि भ्रष्टाचार गरेमा के कस्तो सजाय हुने भन्नेसम्मका कुरा शास्त्रमा उल्लेख छ।

शास्त्रहरू राज्यले बनाएका कानुन थिएनन्। ऋषिहरूले आफ्नो अध्ययन, अनुभव र समाजमा रहेका व्यवहार तथा तत्कालिक जनमतसमेतलाई ध्यानमा राखी तयार गरेका वैयक्तिक, पारिवारिक र सामाजिक  थिए। ती शास्त्रमध्ये कुन शास्त्रका कुन कुरालाई आधार बनाइ राज्य प्रणाली सञ्चालन गर्ने भन्ने कुरा सम्बन्धित राज्य प्रणालीको रोजाइको विषय थियो। शास्त्रमा उपायसहितका विकल्प छन्। स्थान र सामाजिक स्वीकार्यताको आधारमा कुन शास्त्रका कुन कुरालाई मानव न्यायशास्त्र (राज्यको कानुन) बनाउने÷नबनाउने कुरा जनमत र राज्य प्रणालीको पोल्टामा हुन्थ्यो। उदाहरणार्थ अंशबारे कतै दायभाग चल्थ्यो त कतै मिताक्षारा चल्थ्यो। जयस्थिति मल्लको पालामा नारद्स्मृतिबाट बढी प्रभावित भई न्यायविकाशिनी बनेको थियो। पृथ्वीनारायण शाहलाई याज्ञवल्क्यस्मृतिबारे जानकारी गराइएको प्रसंग भेटिन्छ।

करिब ५ सय पृष्ठको कौटिल्यको अर्थशास्त्र पुस्तकबाट सार खिच्नु कठिन काम हो।

कतिपय मानिस मनुस्मृतिमा उल्लेख केही प्रसंगलाई लिएर प्रश्न उठाउँछन्। यथार्थमा महिला र जातीयतासम्बन्धी केही प्रसंग अस्वाभाविक छन्। कतिपय अध्येताले मनुस्मृतिका ती विषय क्षेपकका रूपमा पछि थपिएको कुरा बताएका छन्। सोही स्मृतिको सुरुमा र सम्बन्धित अध्यायको सुरुमा उल्लिखित कुराको विपरित त्यस्ता क्षेपक थपे÷थपाएको कुरा सार्वजनिक छ। कलकत्तामा ११ जना पण्डित प्रयोग गरी मनुस्मृतिलाई हिन्दु कानुन बनाउने प्रयास गरियो। विलियम जोन्सले मनुस्मृति अनुवाद गर्दा थप÷घट गरी मौलिकता बिगारेको भनिएको छ। अचेल विशुद्ध अर्थात् क्षेपकबिनाको वा क्षेपक पहिचान गरेर मनुस्मृति प्रकाशन गर्न थालिएको पनि सार्वजनिक छ।

पूर्वीय दर्शनले सदाचारलाई मूलतः व्यक्तित्वसँग जोडेर हेर्ने गरेको छ। गुरुकूल र परिवारले बालबालिकालाई शिक्षा दिँदा र हुर्काउँदा नैतिक शिक्षा दिने चलन हो। नीति कथा, पञ्चतन्त्रका कथामार्फत पनि जीवन मूल्य सिकाउने गरिन्थ्यो। मानिसलाई अधिकारका निम्ति लड्न भिड्न नभई कर्तव्य निर्वाह गर्नुपर्ने शिक्षा दिइन्थ्यो। व्यक्तिले व्यक्ति परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृतिअनुरूप र समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपथ्र्यो। सबैले व्यक्तिगतरूपमा कर्तव्य निर्वाह गर्दा अरुका अधिकार सुरक्षित हुने मानिन्थ्यो। सनातन दर्शनमा सदाचार नीतिका विविध पक्षमा व्यापक चर्चा छ। यस आलेखमा कौटिल्यको अर्थशास्त्रमा आधारित भई राज्य प्रणाली सम्बद्ध सदाचारबारे छोटो चर्चा गरिनेछ। व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव राज्य प्रणालीमा पर्छ। त्यसैले व्यक्ति, परिवार र समाजको व्यक्तित्व निर्माण गर्न सकेमात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ।

एउटा व्यक्तिको व्यक्तित्व निर्माण गर्न भिन्नभिन्न कालखण्डका भिन्नभिन्न शास्त्र (ज्ञान विधा) को अध्ययन हुनुपर्छ। भिन्न स्मृतिमा कतिपय विषयमा भिन्नाभिन्नै मत छन्। त्यसैले ती विषयलाई समय र समाजको आवश्यकता र मान्यताका आधारमा प्रश्न गर्ने, असहमत हुने, भिन्न राय राख्न सक्ने र उपयुक्त विकल्प चयन गर्ने कुरालाई कौटिल्यले सम्मान दिएका छन्। उनले कति स्मृतिका कुरामा भिन्न मत राखेकामात्र होइन, विगतमा व्यक्त भिन्न मत उल्लेखसमेत गरेका छन्। आजकल चर्चा गरिने आलोचनात्मक सोचको सन्दर्भ यस कृतिमा पर्याप्त उल्लेख छ। यस्तै दिनचर्याका नियमको पालनादेखि  इन्द्रिय विजय (कामुकता, क्रोध, लोभ अभिमान, मद्, कपट आदि) बाट मुक्त हुनुपर्ने उनको राय छ। नियुक्तिमा योग्यता प्रणाली लागु गर्नुपर्ने कुरा कौटिल्यको अर्को प्राथमिकता हो। व्यक्तिका व्यक्तिगत गुण÷अवगुणको चर्चा गर्दै पदले गर्नुपर्ने कामअनुसारको योग्यता र अयोग्यताको विवरण पनि उनले दिएका छन्। राजा, अमात्य, मन्त्री, गुप्तचर, विभागीय प्रमुख, दूत आदिको योग्यताबारे व्यापक चर्चा छ।

कौटिल्यको अर्थशास्त्र जमिनको उपयोग, किल्ला निर्माण, कोष र कोषाध्यक्ष, भौतिक निर्माण, लेखा र कोषको सदुपयोग, कर्मचारी छनोट, भ्रष्टाचार नियन्त्रण, खानी प्रबन्ध, जिन्सी र भण्डार व्यवस्था, व्यापार, किनबेच, लेनदेन, व्यवस्था, इन्धन, सुरक्षा, नापतौल, राजश्व, कृषि, वधशाला, मदिरा, गणिका, डुंगा, गोठ र पशुपालन, युद्ध, नागरिकका कर्तव्य, विवाह, अंशबन्डा, वास्तु र बासस्थान, ऋण व्यवहार, नासो, फौजदारी कसुर, अनुसन्धान र दण्ड व्यवस्था, राष्ट्र रक्षा, कर्मचारी, तलव, प्रशासन र नीति नियमको पालना, राज्य व्यवस्था र राजा, शान्ति कार्य, युद्ध, सेना, ब्यूह रचना, सन्धि सम्झौता, कूटनीति, करार, व्यसन र व्यसन त्याग, विपद् व्यवस्थापन आदि जस्ता व्यवस्थाबारे व्यापक उल्लेख छ अर्थात् राज्यका संरचना, तिनका काम र व्यवस्थाबारे प्रशस्त उल्लेख छ।

कौटिल्यको अर्थशास्त्र कुनै कथा वा मिथक होइन्। यसमा राज्य प्रणाली सम्बद्ध विषयमा चर्चा छ र यो पनि कानुन नीति र सदाचारक नियम बनाउँदा एउटा मौलिक स्रोत हुनसक्छ।

कौटिल्यको अर्थशास्त्र मानिसलाई जन्मजात पापी भन्दै स्वर्ग र नर्कको भय देखाइजीवनभर शोषण गर्न प्रेरित गर्दैन। मानिसलाई पापको भय देखाएर मानसिक नियन्त्रण गरी दास बनाउने माध्यम पनि होइन। ईश्वरको व्यापार र दयाको कारोबार गर्न प्रेरित गर्दैन। यो मूलतः असल व्यक्ति, असल समाज र असल पद्धतिका माध्यमबाट राज्य प्रणाली सञ्चालन गर्ने सामग्री संग्रह हो। कौटिल्यको अर्थशास्त्र त्यो बेलामा र राज्य निर्माणको प्रसंगमा लेखिएकाले त्यसका कतिपय कुरामा आज केही विमति हुनसक्छ। त्यो त आज लागु गरिएका कति कुरा अर्को पुस्तालाई मन नपर्न सक्छ। समय र सोचले ल्याउने परिवर्तन त आइरहन्छन्।

कौटिल्यको अर्थशास्त्रमा उल्लिखित सदाचार सम्बद्ध विषयलाई सारमा यसप्रकार उल्लेख गर्न सकिन्छ– क)    सरकारी सेवामा आउने व्यक्तिको शिक्षाका माध्यमबाट व्यक्तित्व निर्माण हुनुपर्छ। विविध विधाको ज्ञानले व्यक्तित्वमा निखार ल्याउँछ। ज्ञान दिँदा तुलनात्मक अध्ययन गर्ने, आलोचनात्मक चेत विकसित हुने, नैतिकता कायम राख्ने, राज्य, समाज र परिवारप्रति समर्पित हुने, कर्तव्य निर्वहमा जीवन खपाउने, सत्य न्याय र आत्मसंयममा जोड दिने ज्ञान प्रणालीलाई आत्मसात गर्नुपर्छ। ख)    सरकारका तर्फबाट काम गर्न कामको प्रकृतिअनुसारका विभिन्न संरचना (कार्यालय) हुनुपर्छ र त्यसको जिम्मेवारी सो कार्यालयको प्रमुखलाई दिनुपर्छ। सबैले आआफ्नो कार्यक्षेत्रभित्रका काम गर्न पाउँछन् तर सीमा नाघ्न पाइँदैन। ग)    सबै पदका काम कर्तव्य पहिले नै निश्चित गर्नुपर्छ र कर्मचारीलाई आफूले गर्न हुने, नहुने र गर्नुपर्ने काम कुरा र कर्तव्यबारे अग्रिम जानकारी दिनुपर्छ। घ)    राजा, अमात्यलगायत सरकारी अधिकारीको योग्यता र अयोग्यता अग्रिमरूपमा तय हुनुपर्छ र ती योग्यता र अयोग्यता काम, कर्तव्य र पदसापेक्ष हुनुपर्छ। मानिस अयोग्य हँुदैन। कुन काम गर्न योग्य छ भनी छुट्याउन र सोहीअनुसार पदमा राख्न समस्या हुन सक्छ भन्ने पूर्वीय मान्यता हो। ङ)    योग्य व्यक्ति चयन गर्ने योग्यता प्रणाली लागु गरी परीक्षणमा श्रेष्ठता हासिल गरेकालाई मौका प्रदान गर्नुपर्छ। योग्यताबाहेकका उपाय निस्तेज गर्नुपर्छ। अयोग्य र अशिक्षितलाई मौका प्रदान गर्न हुँदैन। यस्तो परीक्षणका उपाय र तरिका पदसापेक्ष हुन्छन्। च)    शपथपूर्वक काम गर्ने व्यवस्था गर्नुपर्छ।

छ)    राज्यका तर्फबाट काम गर्ने पदाधिकारी र अठार किसिमका कर्मचारीमाथि विभिन्न प्रकृतिका र विश्वासिला चर वा गुप्तचरमार्फत निगरानी राख्नुपर्छ। तिनका क्रियाकलापबारे आमजनताको राय सुन्दै रहनुपर्छ। ज)    कुनै विषय वा क्षेत्रको काम गर्दा प्राथमिकता तय गर्नुपर्छ। झ)    काम गर्दा समयमा, योजनाअनुसार र मितव्ययी ढंगले भइरहेको छ÷छैन निरीक्षण गर्ने व्यवस्था गर्नुपर्छ। ञ)    जसले अपराध गरेको हो उसैलाई र जस्तो अपराध गरेको हो त्यसैअनुसार दण्ड दिनुपर्छ। ट)    हरेक वर्ष समाप्तिसँगै (आषाड) महिनामा प्रधान कार्यालयमा गएर हिसाब मिलान गर्ने व्यवस्था गर्नुपर्छ। ठ)    आम्दानी र खर्चको हिसाब सर्वसाधारणलाई बुझाउनु (सार्वजनिक गर्नु) पर्छ। ड)    विभागको अध्यक्षले प्रत्येक पाँच र पन्ध्र दिन, महिना, चार महिना र वर्ष दिनमा राजकीय लेखा सफा बनाएर राख्नुपर्छ। ढ)    गलत तरिकाले लेखा राखे, कोषको क्षय गरे र करको दुरुपयोग गरे दण्ड गर्नुपर्छ। ण)    ससानो त्रुटि भए क्षमा दिनुपर्छ। त)    विभागको अध्यक्षले विभिन्न चालीस किसिमले राज्यकोषको दुरुपयोग वा भ्रष्टाचार गर्न सक्छन्। त्यसको रोकथामका निम्ति सूचना दिने, उजुर गर्ने, छानविन गर्ने र प्रमाणित भए सजाय गर्ने व्यवस्था गर्नुपर्छ।

थ)    कुट वचन (झुटो बोले) सजाय गर्ने व्यवस्था गर्नुपर्छ। द)    समयमा काम नगर्नेलाई दण्ड दिनुपर्छ। ध)    कर्मचारीलाई लामो समय एकै कार्यालयमा राख्न हुँदैन, बेलाबेलामा सरुवा गर्नुपर्छ। न)    पानीमा रहेको माछाले पानी खाएझैँ धनको अधिकारमा रहेको कर्मचारीले गरेको भ्रष्टाचार थाहा हुँदैन। भ्रष्टाचार पत्ता लगाउनु उड्ने चराको गति पत्ता लगाउनु जस्तो हो। भ्रष्टाचारको गहन छानविन गरी प्रमाणित भए कठोर सजाय गर्नुपर्छ। नÞ)    न्यायिक उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ। न्यायाधीशले कर्तव्यपालना नगरे तथा गलत व्यवहार वा भ्रष्टाचार गरे कठोर सजाय गर्नुपर्छ। प)    अपराध गर्नेलाई पटक अनुसार सजाय थप्ने व्यवस्था गर्नुपर्छ। फ)    राजाले सबभन्दा पहिले कर्मचारीकै दण्ड निश्चित गर्नुपर्छ। दण्ड व्यवस्थाले समाजलाई निश्चल रहन मद्दत गर्छ। कर्मचारीलाई इमान्दार राख्न सके समाजमा रहने मानिस पनि उचित मार्गमा हिँड्छन्। ब)    राज्यको आम्दानीको एक चौथाइ अंश राज्य प्रणालीमा कार्यरत व्यक्तिहरूको पालनपोषण (तलब) आदिमा खर्च गर्नुपर्छ। तलव सुविधा पद र कामअनुसार तर परिवारसमेतलाई खान÷लाउन पुग्नेगरी दिनुपर्छ।

यसबाहेक पनि कौटिल्यको अर्थशास्त्रमा असल शासनसम्बन्धी अनेक कुरा उल्लेख छन्। करिब ५ सय पृष्ठको पुस्तकबाट सार खिच्नु कठिन काम हो। यसमा रुचि हुनेले सो पुस्तकको अध्ययन गरी विस्तृत जानकारी लिन सकिन्छ। यो पुस्तकमा उल्लेख भएका कैयौँ कुरा आज पनि उत्तिकै महŒवपूर्ण र शाश्वत छन्। मुलुकमा कानुन वा नीति बनाउँदा यस शास्त्रको अध्ययन गर्न सकिन्छ। यस कृतिमा स्वयं कौटिल्यले मनु, पराशर वृहस्पति, शुक्राचार्य, भारद्वाज, पिशुन, कौणपदन्त आदि अनेक ऋषिभन्दा भिन्न मत राखेका छन्। ऋषिहरूबीचकाभिन्न भिन्न मत पनि उल्लेख गरेका छन्। तसर्थ विभिन्न स्मृतिले समय र समाज सापेक्षतालाई आत्मसात गरेका छन्।

कतिपय व्यक्ति बिनाअध्ययन शास्त्रहरूलाई पाप, धर्म र कर्मकाण्डसंग मात्र जोडेर हेर्छन्। कतिपय पराइप्रेरितहरूलाई संस्कृतमा लेखिएका कारण चिढ हुन सक्छ। कतिलाई विदेशका कुरा अनुवाद गर्नमा आनन्द आउन सक्छ। जे होस्, कौटिल्यको अर्थशास्त्र कुनै कथा वा मिथक होइन्। यसमा राज्य प्रणाली सम्बद्ध विषयमा चर्चा छ र यो पनि कानुन नीति र सदाचारक नियम बनाउँदा एउटा मौलिक स्रोत हुनसक्छ। यसको अध्ययनले ज्ञानमाथिको क्षेत्रीय एकाधिकार अन्त्य गर्न र वैकल्पिक उपाय सुझाउन मद्दत गर्न सक्छ। यसका लागि मौलिकताप्रतिको उदारता भने आवश्यक छ।

प्रकाशित: १९ चैत्र २०७५ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App