७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटक आगमन कमजोर

पोखरा विमानस्थलमा जहाजबाट ओर्लदै विदेशी पर्यटक । तस्बिर : उमेश पुन/नागरिक

पोखरा– मार्च–अप्रिललाई पर्यटन व्यवसायीले मुख्य सिजन ठान्छन्। त्यही अनुसार नेपाल आउने विदेशी पर्यटकको बुकिङ पनि बढ्दै जान्छ। अघिल्ला वर्ष यतिबेला पोखराका होटलको अकुपेन्सी बढेर करिब ८० प्रतिशत हाराहारी थियो। साना–ठूला सबै होटलले पोहोर यो बेला पर्याप्त पाहुना पाएका थिए। त्यसले व्यवसायीमा उत्साह थपेको थियो।

तर, यो पटक अकुपेन्सी खस्केर ४० प्रतिशत हाराहारीमा झरेको व्यवसायीले बताएका छन्। सिजनका बेला पनि आगमन बढ्न नसकेर होटलका कोठा रित्तै राख्नुपर्दा व्यवसायी चिन्तित छन्। मुख्य सिजनका बेला पनि पर्यटक आगमन बढ्न नसक्दा त्यसले होटल सञ्चालन व्यवस्थापन गर्न समेत मुस्किल हुने उनीहरुको भनाइ छ। व्यवसायीका अनुसार मझौला होटललाई त यतिबेला सञ्चालन खर्च जुटाउनै हम्मेहम्मे छ।

‘मार्च महिनामा होटलमा ‘ओभर बुकिङ’ भएर कोठा नपुग्दा साथीहरुको होटलमा पाहुनालाई पठाएको अनुभव हामीसँग छ, तर, यो पटक कोठा रित्तै राख्नुपरेको छ,’ पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली भन्छन्, ‘सोचेजसस्तो पर्यटक आगमनमा सुधार आएको छैन। यो वर्ष मासिक तथ्यांक हेर्दा आगमनमा वृद्धि देखिए पनि व्यवसायीले वृद्धिको अनुभव गर्न पाएका छैनन्।’ 

पोखराकै केही चल्तीका होटलले राम्रो पाहुना पाए पनि सबै व्यवसायीलाई उत्साह थप्ने गरी आगमन नभएको उनले बताए। ‘यतिबेला सिजन भए पनि हामीमा उत्साह पटक्कै छैन। किनकी सञ्चालन खर्च जुटाउन सक्ने अवस्था पनि छैन,’ होटल पिस प्लाजाका सञ्चालकसमेत रहेका पराजुलीले भने, ‘यो कमाउने बेला हो। तर, यो पटक कमाउने अवस्था नै छैन।’ नेपाल पर्यटन बोर्डले निकाल्ने मासिक विवरणले विदेशी पर्यटक आगमन बढेको देखिए पनि त्यसबाट पर्यटन व्यवसायीले सिजनको लाभ लिन नसकेको उनले बताए। 
पराजुलीका अनुसार २५–३० कोठाका होटल यतिबेला बढी संकटमा छन्। ‘परिचित होटलले सधैंजसो कमाइ गर्छन्। सेवा क्षेत्रमा आफूलाई ब्रान्ड कायम गर्ने होटललाई खासै समस्या छैन, तर, मध्यमस्तरको कमाइ गर्ने र त्यही अनुसारका लक्षित पाहुना राख्ने होटल भने समस्यामा छन्,’ उनले भने।

सिजनका बेला पनि आगमन बढ्न नसकेर होटलका कोठा रित्तै राख्नुपर्दा व्यवसायी चिन्तित, यो पटकको अकुपेन्सी खस्केर ४० प्रतिशत सीमित 

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार ५० प्रतिशत अकुपेन्सी भयो भने मात्र सञ्चालन खर्च थेग्छ। त्यसभन्दा बढी अकुपेन्सी भएमा मात्र व्यवसायीले मुनाफा लिने हुन। तर, यतिबेला बढीमा करिब ४० प्रतिशत होटलको सञ्चालन खर्च पु-याउन नसकेको उनी बताउँछन्। ‘यतिबेला हामी कमाइ होइन, कसरी खर्च धान्ने भन्ने अवस्थामा छौं,’ तुलाचन भन्छन्, ‘कमाउने भन्दा पनि ५० प्रतिशत अकुपेन्सी पु-याउन सकियो भने त्यसले सञ्चालन खर्च थेग्छ भन्नेमा ध्यान छ।’

चल्तीका केही होटलको अकुपेन्सी ५०–६० प्रतिशतसम्म उक्ले पनि सिजनको कमाइ यो आकारमा हुन नहुने उनले बताए। ‘सिजनमा त पाहुना नअटेर व्यवस्थापनमा चुनौती आएको अनुभव हामीसँगै छ। कुनै वर्ष त यो सिजनमा पाहुनासमेत बाँड्नु परेको थियो,’ उनले भने, ‘यो पटक पाहुना बाँड्नेभन्दा पनि कसरी तान्न सकिन्छ भन्ने अवस्था छ।’ 

व्यवसायीका अनुसार भूकम्पपछि खस्किएको पर्यटन आगमन सिजनमा निकै उकासिएको पनि थियो। आगमन बढ्दा भूकम्पको मारलाई व्यवसायीले बिर्सेका थिए। तर, यो पटक आगमन खस्किदै भूकम्प लगत्तैको जस्तै अवस्थामा झरेको उनीहरु बताउँछन्। ‘यो पटक अंग्रेजी नयाँ वर्षमा समेत पोखराका होटलका कोठा खाली रहे। बाहिर सतप्रतिशत बुकिङ देखाएर मात्र हो, व्यवसायीको भित्री पीडा अर्कै थियो,’ पिसप्लाजाका सञ्चालक पराजुली भन्छन्, ‘अंग्रेजी न्यू इयरमा त आन्तरिक पाहुनाले पनि राहत दिन्थे। त्यसमा विदेशीको आगमन बढ्दा त्यो बेला अकुपेन्सी सतप्रतिशत पुग्थ्यो। तर, यो पटक केहीले बाहेक सतप्रतिशत पाहुना पाएनन्।’

सिजनको आगमनले अफसिजनको खर्च धान्दै आएका व्यवसायी यो पटक आगमन खस्किँदा अफसिजनको खर्च व्यवस्थापन कसरी गर्ने भन्ने तनावमा छन्। ‘सिजनमा राम्रो कमाइ हुन्थ्यो र त्यो कमाइले अफसिजनको खर्च धान्थ्यो,’ पराजुलीले भने, ‘योपटक त सिजनमै कमाइ भएन। अब अफसिजनको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ।’ आन्तरिक पर्यटक आगमनले अफसिजनलाई केही राहत दिए पनि त्यो पर्याप्त नरहेको उनले बताए। 

पोखरामा मात्र नभइ अर्काे पर्यटकीय सहर चितवनको सौराहाका होटलको अवस्था पनि सुखद नरहेको होटल संचालले बताएका छन्। सौराहामा ल्यान्डमार्क फरेस्ट पार्क होटल सञ्चालन गरेका ओमप्रकाश पाण्डेले यो सिजनमा चितवनले पनि राम्रो कमाइ गर्न नसकेको बताए। ‘पोहोर यो बेला त्यहाँका होटलको अकुपेन्सी अनुपात ६० प्रतिशत हाराहारीमा रहे पनि यो पटक खस्केर ३५–४० प्रतिशत मात्र रहेको छ,’ पाण्डेले भने, ‘चितवनको पर्यटनमा पनि विदेशी आगमन आधा खस्केको छ। उनका अनुसार जनवरी–फेब्रुअरीको आगमन सन्तोषजनक रहेकामा मार्च लागेपछि झनै बढ्नुपर्नेमा घट्न थालेको थियो। 

भारतमा हुन थालेको निर्वाचन, हिमपातले नेपालका साहसिक पर्यटकीय पदमार्ग अवरुद्ध हुनु, होटलको संख्या बढ्दा पाहुना बाँडिनु, लगायतले नेपाल आउने पर्यटक कमी भएको व्यवसायीले बताएका छन्। ‘भारत–पाकिस्तानको तनावले पनि सिजनको मुखमा पर्यटक नेपाल आउन डराए,’ पराजुली भन्छन्, ‘त्यस्तै नेपालमा भएका विष्फोटले पनि असर पारेको छ।’ लामो समयसम्म पदयात्रामा जान नपाउने अवस्था रहेपछि पदयात्रा पर्यटक नेपाल आउनै नखोजेको उनले बताए। ‘पदयात्राको सिजनमा नेपालका चल्तीका पदमार्ग महिनौ अवरुद्ध रहे, त्यसले गर्दा पनि नेपाल आउन चाहेका पर्यटक पनि रोकिए,’ उनले भने, ‘सबैतिर अवरोध नै अवरोधले गर्दा पर्यटक आगमन खस्किएको हो।’ नेपाल आउने मध्ये करिब ६० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको व्यवासायीको अनुमान छ।

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा पनि योपटक पर्यटन व्यवसाय अप्ठेरोमा रहेको बताउँछन्। ‘सिजनको व्यापार अपेक्षाकृत राम्रो छैन,’ सापकोटाले भने, ‘सिजनमै निकै कम पाहुना आएपछि व्यवसाय अप्ठेरोमा छ।’ एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको उडान समय घटाउने सन्देश फैलिएसँगै आउजाउमा असहज ठानेर विदेशी नेपाल आउन नचाहेको उनले बताए। ‘विमानस्थलकै कारण अप्रिलको आगमन झनै कमजोर हुने देखिन्छ,’ उनले भने।

उनका अनुसार यो पटक धेरै चिनियाँ पर्यटक श्रीलंका र थाइल्याण्डतिर गएका छन्। चिनियाँ पर्यटकलाई अरु मुलुकले सस्तो प्याकेज दिएर आकर्षण गरेकोले पनि डाइभर्ट भएको उनले बताए। ‘अरु मुलुकले पर्यटनका लागि विभिन्न योजना बनाएका छन् । पाहुना तान्न नयाँ र आकर्षक प्याकेज ल्याएका छन्। तर, हामीकहाँ कुनै योजना नै छैन,’ सापकोटाले भने, ‘त्यसले गर्दा सिजनको आगमन कमजोर बन्दै गएको हो।’

प्रकाशित: १९ चैत्र २०७५ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App