coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चिया उद्योगमा श्रमिकको नाराबाजी

इलाम– आन्दोलनरत पूर्वका चिया श्रमिकले सोमबार पनि आन्दोलन जारी राखेका छन्। उनीहरूले आफू कार्यरत चिया प्रतिष्ठानहरू बन्द गराएर -याली र कोणसभा गरेका हुन्। 

सरकारी स्वामित्वमा रहेको इलामकै ठूलो कन्याम चिया बगानका श्रमिकले सोमबार -याली र कोणसभा गरे। बगानदेखि पाल्टाँगे हुँदै श्रमिकको -याली कन्याम चिया कारखानाअगाडि पुगेको थियो। कारखानाको प्रांगणमा भेला भएका डेढ सयभन्दा बढी श्रमिकले न्यूनतम् ज्याला र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। उनीहरूले ‘अरूभन्दा धेरै आशा गरेको’ वर्तमान सरकारले समेत आफूहरूका माग पूरा नगरेको भन्दै चिया प्रतिष्ठानको काम ठप्प राखिरहने बताए। 

कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल ट्रेड युनियनका उपाध्यक्ष उमेश रेग्मीले दुई तिहाई बहुमतको सरकारले समेत श्रमिकको माग पूरा नगर्नु विडम्बना भएको बताए। ‘हामी यसअघि पनि पटक–पटक आफ्नो रोजीरोटीका लागि धेरै समय लड्यौं तर कसैले हाम्रो माग सुनेन,’ उनले भने, ‘यो हाम्रो अन्तिम र निर्णायक लडाइँ हो।’ उनले सरकारले तोकेको ज्याला र सामाजिक सुरक्षा ऐनमा कुनै निजी कम्पनीले चुनौती दिनु हास्यास्पद भएको पनि बताए। 

श्रमिकले न्यूनतम् ज्यालाले आफ्नो परिवार धान्न नसक्ने अवस्थामा त्यही ज्यालासमेत नपाउनु आफूहरूमाथि अन्याय भएको बताए। अर्का श्रमिक नेता रमेश खड्काले परिवार भोकभोकै राखेर चिया बगानमा काम गर्नुपर्ने अवस्थामा श्रमिकहरू रहेको बताए। ‘अरू कामको ज्याला कहाँ माथि पुगिसक्यो, हामी चिया श्रमिक सधैं अत्यन्त कम ज्यालामा काम गर्नुपरिरहेको छ,’ उनले भने, ‘चिया बगानमै धुरामा बसेका श्रमिकले त्यही काम नगरे घर–बसोबास छाडेर हिँड्नुपर्ने हुन्छ । न यही काम गर्नु, न छाडेर हिँड्नु, श्रमिक अन्योलमा छन्।’ 

सरकारले गत साउनयता चिया श्रमिकको दैनिक ज्याला तीन सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ तोकेको छ। तर, अहिले सरकारी स्वामित्वकै चिया बगानका श्रमिकले दैनिक ज्याला दुई सय ७८ रुपैयाँ मात्र पाइरहेका छन्। कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपैयाँ थपिएको छ। तर, नयाँ ज्यालाको ठाउँमा अहिलेसम्म श्रमिकले ज्याला २०७३ मा तोकेको ज्यालासमेत पाएका छैनन्। श्रमिकको ज्याला हरेक दुई वर्षमा परिर्वतन हुने गरेपनि चिया श्रमिकहरू २०७१ मा तोकिएको ज्यालामै काम गर्न बाध्य भइरहेका छन्।

श्रमिकले आइतबारदेनि नै पूर्वका चिया उद्योग–प्रतिष्ठान अनिश्चितकालका लागि बन्द गराएका थिए। उनीहरूले झापाको बिर्तामोड र चन्द्रगढीमा समेत विरोध प्रदर्शन गरिरहेका छन्। नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले गत १२ गते संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। श्रमिकले आफू काम गर्ने सबै इकाईमा औजारसहित विरोध प्रदर्शन गरेपछि चिया टिपाइ र प्रशोधन ठप्प छ।

श्रमिकहरू आन्दोलनमा उत्रिएपछि हरियो चिया टिपाइ रोकिएको उद्योगहरूले जनाएका छन्। कन्याम चिया कारखानाका प्रबन्धक रजनीश मुदालियारले श्रमिक आन्दोलनले हरियो चिया टिपाइमा असर पुगेको बताए। ‘सुरुको टिपाइ भएकाले दैनिक सात सय किलो हाराहारी हरियो चिया भेला हुँदै गरेको उद्योग अहिले ठप्प छ,’ उनले भने, ‘आन्दोलन लम्बिए करोडौंको हरियोपत्ती बिग्रिएर जान्छ।’ उनले किसानलाई उद्योगमा हरियो चिया नल्याउन सूचना गरेको बताए।

चिया श्रमिकले गत भदौमा आन्दोलन चर्काएपछि संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा चिया क्षेत्र अध्ययन उच्चस्तरीय कार्यदल गठन भएको थियो। कार्यदलले कार्यदल गठन भएपछि श्रमिकले असोज ९ मा आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए। कार्यदलले गत फागुन ३० मै आफ्नो अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाइसके पनि ज्याला कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित: १९ चैत्र २०७५ ०५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App