७ वैशाख २०८१ शुक्रबार
समाज

कीर्तिपुरमा लिच्छवीकालीन मूर्ति भेटियो

काठमाडौं - कीर्तिपुर नपा–६ चारघरेस्थित जालपादेवी मन्दिर पुनर्निर्माणका क्रममा लिच्छविकालीन मूर्ति फेला परेको छ। शनिबार मन्दिरको पूर्व उत्तर दिशामा पर्ने स्थानीयवासी रामेश्वर महर्जनको घर पछाडेको माटोको ढिस्को खन्ने क्रममा मूर्ति फेला परेको हो। २०७२ वैशाखको भूकम्पका कारण यस क्षेत्रका जालन्धर पीठ, पिशाचेश्वर महादेव, जालपादेवी मन्दिर क्षति पुगेको थियो। स्थानीयवासीको सक्रियतामा चारघरे धार्मिक समिति गठन गरी गत फागुन ९ गतेदेखि मन्दिर पुनर्निर्माणको काम थालिएको थियो। सरकारी निकायले सम्पदा पुनर्निर्माणमा तदारुकता नदेखाएपछि स्थानीयले पुरातŒव विभागसँग स्वीकृति लिएर स्थानीयस्तरबाटै मन्दिर पुनर्निर्माणको काम सुरू गरेका थिए।

बृहत् चारघरे धार्मिक समितिकासचिव विनोद बस्नेतले उक्त मूर्ति स्थानीयले नै संरक्षण गर्ने गरी सोमबार पुरात्व विभागले स्वीकृति दिएको जनाए। पहिलो चरणमा मन्दिरलाई नचलाई मन्दिर बाहिरको भाग मात्र बनाउने काम भइरहेको उनले बताए। ‘मन्दिर बाहिरको भागमा पुरुवा माटो भएको हुँदा समितिको वैठकले आरसिसि ढलान गरी माथिबाट ढुंगा वा तेल इँटा छाप्ने कार्य योजना बनाएको छ,’ उनले भने, ‘यसमा हामीले मौलिकता ध्यान दिएर पुनर्निर्माण थालेका छौं।’

उनका अनुसार मन्दिरको पुनर्निर्माण गर्ने क्रममा मूर्ति फेला परेपछि कामदारले प्रहरी प्रशासनमा खबर गरेका थिए। ऐतिहासिक मूर्त फेला परेलगत्तै समितिका पदाधिकारीले पुरातत्व विभागलाई खबर गरेका थिए। ऐतिहासिक मूर्ति फेला परेको थाहा पाएपछि विभागका प्रवक्ता रामबहादुर कुवँरले उक्त मर्तिको नमुना पठाउन आग्रह गरेका थिए। शनिबार विभागमा उक्त ढुंगाको मूर्ति जाच्ने क्रममा लिच्छविकालीन ताकोको भएको पुष्टि विभागको टोलीले गरेको छ। ‘मूर्ति हेर्दा जाँच गर्दा लिच्छविकालीन समयकै रहेछ भन्ने पुष्टि भयो,’ उनले भने, ‘उक्त मुर्तिको संरक्षण गर्न स्थानीयवासी जिम्मा दिएका छौं।’ उनले मूर्तिबारे अन्य जानकारी विभागलाई नभएको बताए। मूर्तिमा नागकन्या समेत रहेको त्यस प्रकारको मूर्ति अहिलेसम्म नभएको स्थानीय श्यामराज महर्जनले बताए। उनका अनुसार लक्ष्मीको स्वरुप पूर्ण रुपमा भएपनि विष्णुको स्वरुप कम्मरभन्दा मुनिमात्र रहेको र गरुणको खुट्टामात्र देखिने अवस्थामा रहेको छ।

प्रकाशित: १९ चैत्र २०७५ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App