८ वैशाख २०८१ शनिबार
समाज

बारा र पर्सा हुन्डरीको बबन्डर

बारा - आइतबार साँझ आएको भीषण हुन्डरीले बारा र पर्सामा घर भत्काउँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ। बारामा २६ र पर्सामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ। ६ सय ४ घाइतेमध्ये ३ सय ४४ जनाको पर्साका विभिन्न अस्पताल, ४२ जनाको बाराको कलैया अस्पताल, १० जनाको काठमाडौंस्थित शिक्षण अस्पताल र अन्यको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकमा १३ पुरुष, १२ महिला र लिंग नखुलेका दुई छन्। मृतकमा २३ नेपाली र चार भारतीय छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार सुवर्ण गाउँपालिका–८ का तरिखा खातुन, प्रसौनीस्थित सत्यम इँटाभट्टामा काम गर्ने रामजित माझीका चार वर्षीय छोरा सुरज माझी, फेटा–१ की मतीसरी देवी, फेटा–६ पुरैनियाकी दुई वर्षीया अलिसा खातुन, फेटा गाउँपालिका–९ की रुकसार खातुन, फेटा गाउँपालिका–६ की शवनम खातुन, फेटा–६ का मीना खातुन, बिबिया खातुन, मुस्तकीमा खातुन, समसिदा खातुन, सकिना खातुन, सुवर्ण गाउँपालिका–४ हर्दियाका श्रीप्रसाद यादव, कलैया उपमहानगरपालिका–१२ धर्मनगरस्थित काजल चिम्नीभट्टामा काम गर्ने भारत मनकोवाका राजेश मुखिया, अवधेश पासवान, राधेश्याम धोबी, फेटा गाउँपालिका–१ का हरिनारायण दास, फेटा–१ का मनोरमा देवी, रुवीदेवी, प्रसौनी गाउँपालिका–४ का अच्छेलाल माझी, फेटा–१ का नन्द पटेल, फेटा–६ का रुबी खातुन र भारत विहार लालबेगियाका हितलाल सहनीको मृत्यु भएको छ।

–२७ मृतकको सनाखत
–मृतकमा २३ नेपाली, चार भारतीय
–बाराको पुरनिया र भरबलिया गाउँ सर्वाधिक प्रभावित
–हुन्डरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री
–मुख्यमन्त्री राहत कोष स्थापना

स्थानीय इजहार मियाँका पत्नी, बुहारी, नाति र नातिनीको मृत्यु भएको फेटा–३ का वडाध्यक्ष उपेन्द्र साहले जानकारी दिए। फेटा–३ मा दुई सयभन्दा बढी घरमा आंशिक क्षति तथा ४० घर पूर्ण नष्ट भएको साहले दाबी गरे। त्यसैगरी भलुही भरबलिया गाउँ नै ध्वस्त भएको छ। भलुही भरबलिया गाउँका ९० प्रतिशत घर पूर्णरूपमा नष्ट भएको कलैया उपमहानगरपालिका–१८ का वडाध्यक्ष अम्बिका यादवले बताए। कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेशराय यादवले प्रहरी र स्थानीयको सहयोगमा घाइतेलाई राति नै अस्पताल पु¥याएको जानकारी दिए।

हुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री
आइतबार सा“झ आएको हावाहुरीले पु¥याएको धनजनको क्षति बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले बारा–पर्सा आएका छन्। प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठ, गृह सचिव प्रेमबहादुर राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतको टोलीले हुरीप्रभावित क्षेत्र अवलोकन गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसहितको टोलीले पनि हुरीप्रभावित गाउँ अवलोकन गरेको छ।

प्रधानमन्त्रीले पुरैनिया, मनहरवा, भुलुहीलगायतका गाउँको हेलिकोप्टरबाट निरीक्षण गर्नुका साथै कलैया अस्पताल पुगी घाइतेलाई भेटे। मुख्यमन्त्री राउतले पनि बारा परैनियालगायत स्थानमा हुन्डरीपीडित परिवारलाई भेटे। उनले कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेलाई पनि भेटे।

हुन्डरीपीडित परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने आश्वासन मुख्यमन्त्रीले दिएका छन्। प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, राधेचन्द्र यादवलगायतको टोलीले हावाहुरीले क्षति पुगेको गाउँमा पुगी पीडित परिवारसँग भेटघाट ग¥यो। घाइते भेट्न कलैया अस्पताल पुगेका निधिले नेपाली कांग्रेसले राहत तथा पुनस्र्थापनाका लागि सक्रिय भएर काम गर्ने बताए।

मुख्यमन्त्री राहत कोष स्थापना
आइतबार बेलुका एक्कासि आएको भीषण हावाहुरीबाट बारा र पर्सामा भएको धनजनको क्षति अध्ययन गरी राहत तथा उद्धारलाई तदारुकतासाथ अगाडि बढाउन प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीको संयोजकत्वमा पाँच सदस्यीय राहत तथा उद्धार समिति गठन गरेको छ।

आर्थिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिको सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्य न्यायाधिवक्ता दीपेन्द्रकुमार झा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अरुणकुमार झा छन्। सोमबार बसेको प्रदेश–२ मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापनका लागि तत्काल औषधि, खाद्यान्न, त्रिपाललगायत राहत तथा उपचार सामग्री उपलब्ध गराउन जिल्ला दैवीप्रकोप उद्धार समितिलाई परिचालन गर्ने निर्णय गरेको छ।

भीषण हुरीबाट पीडित परिवारलाई सहयोग उपलब्ध गराउन प्रदेश २ सरकारले मुख्यमन्त्री राहत कोष स्थापना गरेको छ। राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखामा १२२०५०३०००००० खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सरकारले सबैलाई आग्रह गरेको छ। हुरीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही तीन लाखको दरले राहत रकम उपलब्ध गराउने र घाइतेको उपचार खर्चसमेत बेहोर्ने निर्णय प्रदेश २ मन्त्रिपरिषद् बैठकले गरेको छ। फोटोः घाइतेलाई भेट्न कलैया अस्पतालमा पुगेका प्रधानमन्त्री केपी ओली र कांग्रेस नेता विमलेन्द्र निधिसहितको टोली।

प्रकाशित: १९ चैत्र २०७५ ००:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App