७ वैशाख २०८१ शुक्रबार
समाज

मैले यस्ताे विपत्ति कहिल्यै देखेकाे थिइनँ : मन्त्री साेनल

आइतबार बेलुका फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादको घरमा धेरैको झमघट थियो। स्वर्गारोहण भएकी आफ्नी आमाको नाममा अमिरीलालले भोजको आयोजना गरेका थिए। 

उक्त भोजमा गाउँका नेतादेखि प्रदेशका मन्त्रीसम्मको उपस्थिति थियो। साँझ पानी पर्ला जस्तो मौसम। त्यहीँ थिए, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनल। साँझ सवा आठ बजेको थियो। हल्का पानी पर्न थाल्यो। सोमबार बिहान प्रदेश २ मन्त्रिपरिषद् बैठक थियो। त्यसैले मन्त्री सोनल निकै हतारमा थिए। त्यसैले उनी त्यहाँबाट निक्लिए। 

उनी बाटोमा गाडीमा थिए। आँधी आएको उनले पत्तै पाएनन्। उनको मोबाइलमा पनि नेटवर्क थिएन। त्यत्तिकैमा मन्त्री सोनलको घर नजिकैका साथी परवानीपुरका उद्देश पट्टेलले मन्त्रीका स्वकीय सचिव सन्तोष यादवको मोबाइलमा फोन गरे। ‘मन्त्रीज्यूलाई फोनमा पट्टेलजीले आफ्ना बुबाआमा पर्खालले च्यापिएर उपचार गर्न लगेको छ, भन्दिनुपर्‍यो भन्नुभयो’, मन्त्री सोनलका स्वकीय सचिव यादवले भने, ‘मन्त्रीज्यूले हामीलाई घटनास्थलमा जान भन्नुभयो र उहाँ जनकपुर जानुभयो।’

बारा निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ हावाहुरीबाट धेरै प्रभवित क्षेत्र हो। जुन मन्त्री सोनलको निर्वाचन क्षेत्र पनि हो। यादवसहित केही परवानीपुर गए। त्यहाँ पुग्दा उनीहरु अचम्ममा परे। सोच्दै नसोचेको घटना देखे। ‘घरहरु सबै लडेका थिए। याताबाट पनि खबर आउँछ। उताबाट पनि उस्तै खबर आउँछ’, यादवले भने, ‘हामीले सबै जानकारी मन्त्रीज्यूलाई गरायौं। उहाँले बिहान राहतका लागि पहल गर्ने बताउनुभयो।’

घटनापछि घाइतेलाई अस्पताल लाने बाटोसम्म थिएन। यो अवस्थामा सबै आत्तिएका यादव बताउँछन्। ‘राति बाटोमा बिजुलीका पोल लडेका थिए। रूख बाटोमै ढलेका थिए’, उनले भने, ‘सडकमा रहेका गाडी पनि हावाले लडाएको थियो। हामी स्थानीय तहका डोजर लिएर उद्धारमा खटियौं। राति १/२ बजेसम्म ढाडमै बोकेर घाइतेलाई स्थानीय अस्पतालसम्म पुर्‍यायौं।’ आँधीले भौतिक संरचना भत्काउँदा तथा रूखले किचेर ३० जना बढीको मृत्यु भइसकेको छ। ६ सय बढी घाइते छन्।

मन्त्री सोनाल बिहानैदेखि प्रभावित क्षेत्रमा गए। बिरामीको अवस्था बुझ्न पर्सास्थित नारायणी अस्पताल पुगेका उनलाई चिकित्सकले घाइतेको उपचारमा रगत अभाव भएको बताएपछि आफैंले रक्तदान गरे। 

बारा र पर्साको प्रभावित क्षेत्र पुग्दा आफूले कहिल्यै नदेखेको वितण्डा देख्नु परेको मन्त्री सोनल बताउँछन्। ‘शब्दमा व्यख्या कसरी गरूँ!’, मन्त्री सोनलले नागरिकसँग भने, ‘एक शब्दमै भन्छु घटना हृदयविदारक छ। यो कहिल्यै सोचेको थिइनँ। र देखेको पनि थिइनँ। कल्पनै गरेको थिइनँ।’ अहिले गाउँमा कसैको घर छैन। घर भत्किएको चिन्ता त छँदै छ। तर घरले सबै अन्नपात पुरेको चिन्ता पनि उस्तै छ। कहाँ बस्ने के खाने पीडितलाई चिन्ता छ। 

‘खाना केही छैन। ओढ्ने ब्ल्यांकेट र ओछ्याउने तन्नासम्म छैन। हामी स्थानीय तह र उद्योग वाणिज्य संघसँग सहकार्य गरेर तत्काललाई खाना व्यवस्था गर्दै छौं। घाइतेको पूर्ण निःशुल्क उपचार गर्दै छौं’, उनले नागरिकसँग भने, ‘हामी जिरो ग्राउन्डमा छौं। केन्द्र सरकारका प्रधानमन्त्री हेलिकप्टरबाट निरीक्षण गर्नुहुन्छ। माथिबाट हेरेर राहत हुँदैन। पीडितलाई राहत पठाउनुपर्‍यो।’ 

प्रकाशित: १८ चैत्र २०७५ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App